जनता कहिले सुध्रिने ?

✍️ शान्तिकृष्ण अधिकारी   POSTED ON : आश्विन २२, २०७८ (७:३५ AM)

जनता कहिले सुध्रिने ?

हामी नेपाली । वीर छौँ तर बुद्धु छौँ भन्ने इतिहास भइसक्यो । अहिले हामी नेपाली जनता न बुद्धु छौँ न त वीर नै छौँ । वीर भइदिएको भए अहिले पनि नयाँ इतिहासहरू निर्माण हुँदैजान्थे होलान् । नेपालीले साहस र बलका भरमा रेकर्ड राख्न छाडेको दशकौँ बितिसकेको छ । पूर्णरूपमा बुद्धु भइदिएको भए पनि हुन्थ्यो । जसले जे भन्यो त्यही ग¥यो, न शोक न चिन्ता । यो अवस्था पनि रहेन । एकदुई अक्षर चिनेका नेपाली केही सचेत बने । यसले झन् समस्या थप्न पुग्यो । अल्पविद्या भयंकरी ।

हामी प्रायशः सकारात्मक सोच राख्नै सक्दैनौँ । जुनसुकै क्षेत्रका पनि नकारात्मक पक्षहरूमात्रै केलाउँछौँ । यही आलेखको प्रारम्भ पनि नकारात्मक भावनाबाटै आरम्भ हुन पुगेको छ । राम्रा कुराहरू गर्दै गर्दैनौँ । आफ्नो सबै राम्रो र अरूको सबै नराम्रो भन्ने सोचले हामीलाई नराम्ररी गाँजेको छ । अरूका राम्रा पक्ष र आफ्नो सुधार्नुपर्ने पक्षहरू खोज्ने हो भने नेपाल र नेपाली कति सुन्दर देखिएलान् ? यस्तो दिन हामीले देख्न पाउने अवसर मिल्ला कि नमिल्ला ?

नेपालमा प्रायःजताततै सुनिने भनाइ भनेको नेपालको कुनै पनि राजनीतिक दल असल भएनन् । कुनै पार्टीमा एकजना पनि नेता गतिलो भन्न सुहाउने छैन । राजनीतिक दलहरू आफ्नै स्वार्थकेन्द्रित छन् । देश र जनताको आवश्यकता एकातिर छ, तर दलहरू अन्यत्रै दौडिरहेको छन् । देश र जनताप्रति पूर्णतः गैरजिम्मेदार छन् र उत्तरदायी छैनन् । अहिले भएका दलहरूबाट मुलुक र जनताको समृद्धि कुनै हालतमा सम्भव छैन । यस्तै यस्तै आवाजहरू गुञ्जिरहेका पाइन्छन् ।

नेताको कुरा गर्नु पर्दा त झन् कुरा गरी साध्य छैन । नेताहरू सबै भ्रष्टाचारी छन् । आफू, आफ्नो दलका कार्यकर्ता, परिवार र आफन्तबाहेक केही हेर्दैनन् । चप्पल लगाउन नपाएकाहरू पजेरोमा दौडने भए । तीन महिनामात्रै मन्त्री भएको नेताले राजधानीमा घर, घडेरी र सवारीसाधन जोड्न सक्षम हुन्छ । उनीहरूका छोराछोरीहरूको हैसियत नै सर्वसाधारण जनताको भन्दा बेग्लै हुन्छ । नेताहरूका बारेमा चल्ने टीकाटिप्पणी यस्तै यस्तै हुन् ।

हामीले विसं २०४७ देखि दुईवटा राजनीतिक दल मुख्यरूपमा देख्दै, भोग्दै र व्यहोर्दै आएका छौँ । गणतान्त्रिक आन्दोलन पश्चात् भने माओवादी अर्को दल थपियो । गणतन्त्र आएपछिको पन्ध्र वर्ष बिताइसकेका छौँ तैपनि मूलधारमा रहेका यिनै दलहरू छन् र नेताहरू जो २०४७ देखि सुन्दै आएका छौँ तिनै छन् । यिनमा परिवर्तन आउँन सकेको छैन । जडसूत्रवादी राजनीतिक दल र पुराना सोच भएका पुराना नेताहरूबाट देशको विकास सम्भव छैन । यस्ता चर्चाहरू सबै चियापसल, चौतारा र चोकहरूमा निरन्तर सुन्न पाइन्छ ।

यी कुराहरूमध्ये कतिपय कुरामा सत्यता होला । हो, दलका नेता फेरिएका छैनन् । नेकपा माओवादीको कुरा गर्ने हो भने जहिलेदेखि यो पार्टीका बारेमा सुन्यौँ यो पार्टीका नेता प्रचण्ड हुन् भन्ने अहिलेसम्म उनै छन् । यसमा त सामूहिक नेतृत्व भन्ने कुराको चर्चासमेत हुँदैन । उनैको एकल नेतृत्व छ र उनी जीवित हुँदासम्म फेरिने सम्भावना या लक्षण कतै पाइँदैन । पटाक्षेपमा उनको विरोध व्यापक हुनेगरेको भए तापनि उनका अगाडि कोही खुलेर बोल्न सके झैँ लाग्दैन । 

नेकपा एमालेमा पनि त्यही हालत हो । विसं २०४७ मा त्यो पार्टीका मुख्य नेता भनेर माधव नेपाल, झलनाथ खनाल, केपी ओली, मदन भण्डारीहरू नै हुन् । मदन बितेर गए । जीवित अन्यहरूमा टकराव भयो–स्वार्थको, हैसियतको, व्यक्तित्वको । पार्टी फुट्यो । पार्टी फुटेर दुई टुक्रा भए पनि दुवै समूहमा नेतृत्वमा उनै पुराना नेताहरू छन् । पार्टी नयाँ बन्दासमेत नयाँ नेताहरूले अवसर प्राप्त गर्न सकेनन् भनौँ या नेतृत्व लिन सक्षम भएनन् ।

पार्टी फुटपछिको नेकपा एमालेको त कुरै बेग्लै भयो । जसका कारण पार्टीमा विग्रह आयो, उनैलाई देवत्वकरण गर्ने काम भइरहेको छ । दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नै यो मुलुकका सच्चा नेता हुन् भनेर उनीबाहेक मुलुकमा कोही नेता छैन भन्ने मनोभावनाका साथ नेकपा एमाले अघि बढेको पाइन्छ । केपी ओलीका कदमहरू असंवैधानिक हुन् भनेर सर्वोच्च अदालतले फैसला गरिसक्दा सर्वोच्च अदालत गलत हो, हाम्रा नेता नै ठीक भनेर आगामी नेतृत्वसमेत उनैलाई सुम्पन सबै एकमत भएको देखिन्छ । 

नेपाली कांग्रेसको अवस्थासमेत त्यस्तै छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरूलाई गणेशमानजी, किसुनजी, गिरिजाबाबुहरूभन्दा पछिका वरिष्ठ नेता मानिन्थ्यो २०४७ सालताका । पार्टीका सदस्यहरू केही काम पर्दा उनीहरूकैमा जाने गर्दथे । त्यो क्रम आजसम्म यथावत् छ र कांग्रेसको सम्पूर्ण राजनीति यी दुई नेताकै वरिपरि घुमिरहेको छभन्दा अत्युक्ति नहोला । कांग्रेसका वरिष्ठ यी दुई नेताहरूमात्रै होइन, प्रायशः उनै पुरानै नेताहरू अद्यापि चर्चामै छन् ।

सबै पार्टीका यी नेताहरूलाई आजीवन चर्चामा कसले राखेको हो ? तिनै पुराना नेताहरूलाई सधैँ नेतृत्व सुम्पेर उनीहरूकै वरिपरि घुम्ने रहर गर्ने को हो ? असल नेता र खराब नेताका बीचमा फरक नछुट्याई सबैलाई देउता बराबर पुजेर वर्षौंसम्म शीर्षासनमा राख्ने को हो ? नेतृत्व परिवर्तनको अपेक्षा नगरी एउटै नेतालाई बारम्बार अध्यक्षता सुम्पने को हो ? यी प्रश्नहरूका उत्तर खोज्ने हो भने म त यसमा नेताहरूको दोष देख्दिन । राजनीतिक दलको नेतृत्व सुम्पने तिनै दलका कार्यकर्ता हुन् र संसदमा पुर्‍याउने आमजनता हुन् ।

नेताको छोरो दुःख नगरी नेता हुन पाउँदैन भनेर समाजमा चर्चा गर्दछन् । नेताकी पत्नीलाई सरक्कै नेतृ मान्न सकिँदैन भनेर निकै चर्का चियागफहरू सुनिन्छन् । नेताका नातागोता भए चाँडै नै केन्द्रमा पुग्ने खराब परिपाटी पार्टीमा भित्रियो भनेर चिन्ता गर्नेहरू यत्रतत्र पाइन्छन् । यो अवस्था जुराई दिने को हो त ? पार्टीका कार्यकर्ताले मत नदिने हो भने उनीहरू नेतृत्वमा पुग्न सक्दछन् र ? आजसम्म पार्टीको केन्द्रीय सभापतिले मतदान केन्द्रमा गएर आफ्नी श्रीमती या छोरा या छोरीलाई भोट हाल्न मतदाताको हात समातेको त देखिएको छैन नि । मत दिएर नेता बनाउने बेलामा बनाउने अनि पछि गनगन गर्ने हामी नै दोषी होइनौँ र ?

आफूले समर्थन गरेको दल सत्तामा पुग्यो भने मलाई मन्त्री बनाइदिनुस् भन्न केन्द्रीय नेताहरूसमेत सभापति पत्नीकहाँ पुग्ने गरेको देखिन्छ । राजनीतिक नियुक्तिका लागि लबिङ गर्न प्रधानमन्त्रीकहाँ भन्दा बढी प्रधानमन्त्री पत्नीको चाकडीमा पुग्ने नेपाली चरित्र नै बनिसकेको छ । यसरी राजनीतिमा स्वादै नभएकालाई माथि चढाउने अनि पछि गएर हामीमाथि प्रधानमन्त्रीभन्दा बढी उनकी पत्नी हावी भइन् या सभापतिभन्दा बढी उनकी श्रीमतीको चलखेल बढी भयो भनेर चर्चा गर्ने हामी कस्ता हौँ ? आफैँलाई प्रश्न गर्नुपर्दछ ।

सबै नेताहरूलाई एउटै डालोमा हाल्ने बानी हाम्रो खराब छ । एकमुष्टरूपमा सबैलाई हामी भ्रष्टाचारी भन्दछौँ । विसं २०४८ सालपछि मन्त्री र सांसद भएकाहरूको रेकर्ड हे¥यौँ भने भ्रष्टाचारीभन्दा सदाचारी नेताहरूकै संख्या अधिक पाइन्छ । खराब नेताभन्दा शायद असल नेताहरूकै संख्या बढी छ तर पनि सबै नेता भ्रष्टाचारी, सबै नेता जनताविरोधी, सबै नेता देशघाती आदिजस्ता आरोपहरू लगाउने गरिएको छ । यो पनि हामीबाट नेताहरूमाथि भएको अत्याचार हो । 

कतिपय ठाउँमा चिनिएका, भ्रष्टाचारमा ख्याति कमाएका नेतालाई हामी नै चुनावमा जिताउँछौँ । त्यस्तालाई चुनावमा हराउने जिम्मा कसको हो त ? निश्चय नै मतदाता जनताको हो तर हामी राजनीतिक दललाई दोष दिन्छौँ । यस्ता अनगिन्ती उदाहरण छन् जहाँ हामी सच्चिनुपर्नेछ तर सच्चिन्छौँ कहिले ?

सधैँ नकारात्मक कुरामात्रै नगरौँ । प्रजातन्त्रले हामीलाई धेरै उपलब्धि दिएको छ । लोकतन्त्रले हामीलाई निकै अगाडि बढाएको छ । गणतन्त्रले हामो मुलुकका धेरै समस्या हल गरेको छ । ती के–के हुन् भन्नेतर्फ हाम्रा दृष्टि कहिल्यै पुग्दैनन् । कहिलेकाहीँ त्यतातर्फका चर्चाहरू गर्ने कि !

Top