समयको कलमबाट

✍️ डा. नारायण चालिसे   POSTED ON : आश्विन २३, २०७८ (७:२२ AM)

समयको कलमबाट

मलाई लेखाइ किन पनि महत्वपूर्ण लाग्छ भने शब्दमा मैले सधैँ जीवन सल्बलाएझैँ पाउँछु । मन पोखिएको गहिरो तलाउको नाम वा नदीको नाम कुनै पनि प्रकृतिको लेखरचना हो । जीवन पोख्न र उकेर्न दुवै गाह्रो कुरा हो । जीवनलाई समेल्न र त्यसलाई लेख्न झन् गाह्रो छ । लेखकहरू साधक हुन्छन् र लेख्न सक्छन् । दैनिक दिनको भोगाइ र अनुभूति नै थेग्न गाह्रो परिरहेका बेला त्यसलाई समेटेर आकार ल्याउने धैर्य, आँट र साहस लेखकसँग मात्रै हुन्छ । 

जीवनलाई खुनपसिनामा परिणत गरेर लेखेको एउटा पुस्तक बजारमा लिएर जाँदा सस्तो दृष्टिले समाजले हेरेको कुरा मैले व्यहोरेको छु, धेरै लेखकले व्यहोरेका छन् । समाजमा लेखकलाई हेर्ने दृष्टि त्यति सहज छैन । त्यसैले जति सजिलो गरी लेख्नेहरूको मूल्यांकन गरिन्छ त्यति हल्का नलिइदिए हुन्थ्यो भन्ने जस्तो लाग्छ । मानिसको मन र चेतनाको पहाड फोरेर भित्र छिचोल्न आइपुग्ने मानिसको कमी छ यहाँ । 

यहाँ सापटी हाँसोमा जीवनलाई फुलाउने बाध्यतामात्र हात लाग्छ । कि लाग्छ म नितान्त एक्लो एकलव्य हुँ । यहाँ कतिखेरै गुरु द्रोणाचार्य आएर बुढी औँला माग्न सक्छन् र आफू औँला दिन तयार भएर उभिन सक्नुपर्छ । तर यो विचार वा अनुभूतिको चक्रव्युहमा उभिएर पनि जीवनको सौन्दर्य परख गर्न सक्ने आँखा र मन साँच्चै सुन्दर संसार हो । कतिले हाम्रो विचारको, भावनाको, हृदयको, मनको र बुद्धिको भाषा बुझ्लान् र ?

पारम्परित भौतिक कलम त केवल साधनमात्र हो । सिद्धान्त हाम्रा विचारका बीचमा उभिन आउने बारहरू हुन् । जीवन जगत् लेख्ने त मनकै कलमले हो र मनमाथि कुनै शासनको नियम लाग्नु हुँदैन । स्वच्छ अनि स्वच्छन्द आत्मानुशासनको लयमा जीवन लेख्न कसैलाई सोधिराख्नु पर्दैन । त्यो विशिष्ट सामथ्र्य हो जुन सहजै कसैले प्राप्त गर्न सक्दैन । अनि कलममै मन, बुद्धि वा हृदयहुँदो हो त सायद सबैको हातबाट जीवन लेखिन्थ्यो । त्यसैले कलम र मन मिल्नुपर्छ जीवन लेख्न । मनमात्रै वा जीवनमात्रै पनि पूर्ण होइन मनोयोग पनि चाहिन्छ । 

धेरैसँग इच्छा होला, मन पनि होला तर मनोयोग नहुनाले धेरैका जीवन लेखिएका छैनन् । सामान्य अवस्थामा लेखनको यति सारो महत्व यसै कारणले पनि हुँदैनथ्यो सायद । सबैले आफ्नो परिवेशको जगत् र जीवन लेख्ने हो । आफू जोडिएको जगत्कै विषय र कुराहरूमा सिर्जना गरेका ज्ञान र अनुभूति साहित्य बनेर आएका हुन् । उपनिषद्मा एउटा भनाइ छ आत्मनस्तु कामाय सर्वं प्रियं भवति । अर्थात् मैले संसारको मायाले संसारलाई प्रिय मानेको होइन आफ्नो मायाको स्वार्थले संसारको माया गरेको हुँ । कसैले अरू कसैको हितउपदेश वा ज्ञानको निम्ति पुस्तक लेख्दैन आफ्नै निम्ति लेखेको पुस्तकले अरू कसैलाई केही लाभ दियो भने त्यो संयोगमात्र हुनेछ । अर्थात् आत्म प्रकटीकरणको प्राज्ञिक प्रयत्न लेखन हो । 

विचारको सम्प्रेषण गर्न सबै विधाभन्दा निबन्ध बढी भरपर्दो र उपयुक्त विधा हो जस्तो मलाई पनि किन लाग्छ भने निबन्ध विचारै विचारको संयोजन हो । निबन्धमा विचारमात्रै भन्न पाइन्छ । त्यसो हुनाले अरूतिरबाट सन्तुष्टि नमिलेका लेखक निबन्ध लेखेर सन्तुष्ट हुन्छन् । अनि आत्मपरक भन्नु आफूतर्फ फर्र्किएको निबन्ध हो । अर्थात् आफूलाई मनभरि पोख्नको निम्ति निबन्ध ज्यादै सजिलो विधा हो । प्रत्येक वाक्यमा जीवनका अनुभव, तितापिरा, गुलियानुनिलासँग जोडेर आफूलाई व्यक्त गर्दै जानु र आफूलाई फैलाउनु र बाँड्नु जीवनको ठूलो त्याग पनि हो । 

सबै कुरा आफैँमा समेटेर अटी नअटी कोचाकोच आफूभित्र खाँदेर पनि कोही मानिस अघाएका छैनन् भने कसैले आफूलाई सबैका निम्ति रित्याएर पनि खुशी र सुखी छ । जो भित्रउदार चेतना छ उसैले मात्र आफूलाई बाँड्ने आँट गर्न सक्छ । अनुदारहरू त सधैँ भरिनमै लागिरहेकै हुन्छन् । लेखकले देख्ने जीवन अरूले देख्न सक्दैन । जीवन देख्न पनि कलाका आँखा चाहिन्छन् । जो अन्धो छ कलामा त्यो जीवनदेखि रित्तो छ । 

ज्ञान, अनुभव, बुद्धि, हृदय चेतना वा विचार यी खुराक हुन् लेखनका । यीमध्ये कुन यन्त्रले मानिस सञ्चालित हुन्छ ? त्यसैको आधारमा कुनै पनि लेखनको मूल्यमापन हुन्छ । जति गहिरो गरी कलम डुबेको छ त्यति नै गहन भावयुक्त विचारको प्रस्फुटन हुन्छ । मन लेख्ने कलमको नीब पनि चानेचुने धातुले बनेर पुग्दैन । किन लेख्ने ? वा केका लागि लेख्ने ? भन्ने कुरा लेखकले सबैभन्दा बढी बुझ्नुपर्ने कुरा हो जस्तो लाग्छ । विशाल काय पुस्तक तयार पारेर पाठकको बजारमा गएर उभिँदा लेखक अपमानित हुने ठाउँ र समयमा उभिएर लेखक बन्ने रहर गर्नु साहसको कुरा त हुँदै हो साथसाथै ठूलो चुनौतीलाई पनि लिएर हिँड्नु हो । यस अर्थमा लेखकहरू क्रान्तियोद्धा हुन् । 

किन लेख्ने ? को उत्तर विभिन्न किसिमले दिने गरिन्छ र सबैभन्दा पहिले स्वान्तःसुखाय लेख्ने भन्ने कुराले बढी  महत्व पाउँथ्यो तर पछिपछि लेखकले पनि आफ्नो सामाजिक दायित्व लिएरै आएको हुनाले समाजलाई दिशानिर्देश गर्नु वा समाजलाई सुसूचित गर्नु लेखकीय दायित्व हो । तसर्थ जसको हातमा कलम छ उसले जिम्मेवारीपूर्वक लेख्दै जानुपर्छ भन्ने नैतिकदायित्वमा बाँधिएर हिजो आज धेरै लेखकहरूले लेख्दै आएको अवस्था पनि छ । तापनि इच्छाशक्ति सबैभन्दा  महत्वपूर्ण कुरा हो ।

कसैले पनि दबाबमा लेख्नुपर्छ भन्ने छैन । लेखिहालेको खण्डमा समाज तिम्रा सामु उभिएको छ है भन्ने अर्थमा लेखक दायित्वमा बाँधिएको हुन्छ । लेख्नुभित्र लेखकको बाध्यता पनि मिसिएको हुन्छ कहीँ कहीँ । त्यस्तो लेखन व्यावसायिक लेखन हो । लेखनलाई जागिर मानेर लेखिने सन्दर्भमा लेखन पवित्र नहुन पनि सक्छ । पवित्र लेखन त्यो हो जुन मन, बुद्धि र हृदयको सहसम्बन्धमा लेखिन्छ । मनले बुद्धिको उकालो र हृदयको समथर पार गरेर अगाडि बढ्छ जब त्यहाँबाट देखिने उज्यालो आकाश वा हरियो धर्तीमा जुन सौन्दर्यानुभूति हुन्छ त्यो सच्चा सौन्दर्य हो । यस अर्थमा एकजना लेखक सौन्दर्यको जन्मदाता पनि हो । 

जीवन हुन धेरै कुरा हुनुपर्दोरहेछ । धेरै कुरा भएपछि जीवनले आकार लिँदोरहेछ । जीवन हुन आँखा, कान, मन, बुद्धि र विचार हुनुपर्छ । संसार हेर्ने आँखा थरिथरिका हुन्छन् । आँखा हुने व्यक्तिको मन वा हृदय कस्तो छ संसार त्यस्तै देखिन्छ र त्यस्तै लेखिन्छ । राम्रा आँखामा राम्रै संसार, नराम्रा आँखामा नराम्रै संसार । धेरैले जीवनलाई भोग्छन्मात्रै थोरैले मात्र जीवनलाई देख्छन् र लेख्छन् । त्यसो त औसत मानिसको जीवन अभाव र अपूर्णतामै सकिएको हुन्छ । तापनि कसैकसैले त्यही अभावका कथाबाट पनि जीवनको गति मागेर चलेका हुन्छन् । गति त विचार वा दृष्टिको नाम हो जुन कुरा जीवनसँग मागेरै चल्नुपर्छ ।

जीवनको स्वरूप चिनिएन भने बाँच्न केही हकमा सजिलो हुन्छ । तर त्यही सजिलोमा जीवनका उज्यालाहरू पनि पुरिएर नासिन्छन् । जीवनलाई त त्यति सजिलो गरी बित्न दिनै हुँदैन । जीवनलाई जति असजिलोमा फसायो त्यति निकासको खोजी तीव्र हुन्छ । जानु त छँदैछ यहाँबाट गुमनाम जानुभन्दा धेरै सुन्दर केही दिएरै जानु हुन्छ । सत्यं, शिवं र सुन्दरम् लेखनका तीन महŒवपूर्ण आधार हुन् । झट्ट सुन्दा आध्यात्मिक जस्तो लाग्ने यस सूक्तिमा धेरै सारपूर्ण कुराहरू अटाएका छन् । 

सत्य जीवनको मार्ग हुनुपर्छ, शिवको चेतना लिएर चल्नुपर्छ अनि सौन्दर्यको हिमायती हुनुपर्दछ भन्ने कुरा आदर्शको अभिव्यक्ति हो । भनिन्छ बुद्धिका कुरा गर्नेहरूले हृदयको भाषा बुझ्दैनन् । त्यस्तै हृदय बढी चलाउनेहरू बुद्धिको सिँढी चढ्न गाह्रो मान्छन् । तर बुद्धि जीवनका उकालाहरूको नाम हो अनि हृदय ओरालीहरू हुन् । जति खाँचो ओरालीहरूको छ त्यत्ति नै खाँचो उकालीहरूको पनि छ । जीवनको यात्रा कता र कसरी तय हुन्छ भन्न सकिन्न । त्यसैले जीवन लेख्ने भनेको सबै लेख्ने हो । किस्ता किस्तामा भए पनि भोगेका कुराहरू जीवनरूपी पुस्तकका महत्वपूर्ण पानाहरू हुन् । 

शिरदेखि पैताला जीवनकै छाम्नु जीवन र जगत् देख्नु हो । हामी संसार हेर्न कहीँ जानै पर्दैन । आफ्नै जीवनलाई शिरपाउ भित्रबाहिर हेर्नसक्ने हो भने संसार हेर्न सकिन्छ । भौतिक कुराहरू त आवरणमात्र हुन् । तिनलाई हेरेर सकिँदैन पनि । अनि यी भौतिक कुराहरू हामीले आफ्नो खाँचोले जुराएका कृत्रिम कुराहरू नै हुन् । चोखो र मौलिक कुरा भनेकै आफूमाथिको इमानदार हेराइ हो । 

कहिलेकाहीँ हामीलाई आफू प्रकट हुने कुरामा सङ्कोच लाग्छ । भौतिक संसारको आवरणले हामीभित्रको पराभौतिक चेतनाले सङ्कोच मान्नु हामी बढी भौतिकताले थिचिनु हो । हुन त हामी सबै भौतिक शरीर र अभौतिक चेतना लिएरै उभिएका छौँ । शरीर हाम्रो चेतनाको मन्दिर हो । मन्दिर भौतिक कुराहरूले नै बनेको भए पनि जहाँ देवताको बास हुन्छ त्यो अपेक्षाकृत पवित्रस्थल हो । प्रत्येक मानिसभित्रको चेतनारूप अध्यात्म त्यसैलाई हाम्रो अदृष्ट मान्न सकिन्छ । हो, यहीँबाट भौतिकवाद र अध्यात्मवादको परिभाषा थालिनुपर्छ भन्ने लाग्छ । 

हामीले अध्यात्मवादको वा भौतिकवादको कुरा गरिरहँदा भुल्न वा उपेक्षा गर्नै नमिल्ने कुरा भनेकै यही चेतना संसारको कुरा हो । हामीले चेतनाको रूप देखेका छैनौँ तर हामीले सिँगारपटार गरेरै शरीरका कुरा गरे पनि हामी चेतनाविनाको न त हातखुट्टाले चल्छौँ न त मुटुमात्रैले चल्छौँ । आर्थात् हामीलाई चेतनाले चलाउँछ र त्यो हामीभित्रको ईश्वर हो । 

ईश्वर भन्न नचाहे हामीले अरू केही भनौँ तर हाम्रो निर्णय हाम्रा हातमा छैन भन्ने कुराले हामीलाई कोरा भौतिकवादी बनिरहन दिँदैन । अनि हामीले संसारलाई कृत्रिम कुरामा अल्झाउन सक्छौँ आफैँभित्रको चेतनातत्वलाई अल्झाउन सक्दैनौँ । हो हामीभित्रको म तत्व नै हाम्रो निर्णायक हो । र, त्यही अदृष्टले चलेका हामी आफूभित्रबाट भौतिक हुनै सक्दैनौँ । केही कुरा व्यवहारभेदले गर्दा हामी दृश्यमान वस्तुमा भर गर्नुपर्ने अवस्था आएको मात्र हो अन्यथा हाम्रो परिचालक अदृष्ट चेतना ईश्वर नै हो । 

Top