बडादशैँमा भगवतीको उपासना गर्नुको मूल रहस्य

✍️ उपप्रा. नारायणप्रसाद निरौला   POSTED ON : आश्विन २५, २०७८ (७:४० AM)

बडादशैँमा भगवतीको उपासना गर्नुको मूल रहस्य

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

शरदकालीन सुन्दर प्राकृतिक छटासँगै नेपालीका घर आँगनमा भित्रिने वडादशैँको आफ्नै महिमा रहिआएको छ । विशेषतः आसुरीशक्तिको पराजय र सत्यको विजय भएको पर्वका रूपमा विजया दशमीलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । शारदीय सौम्य परिवेशसँगै प्रकृतिले पनि एउटा नवीन उत्साह थप्ने गर्दछ । मालश्री धुनले झनै दशैँको संगीतिक तरंग प्रवाहित गरिहेको हुन्छ । शरदकालीन मौसममा खुशी साटासाट गर्ने पर्वका रूपमा पनि दशैँले विशेष महिमा राखेको छ । यसैगरी भगवती दुर्गादेवीको उपासना गर्दै समस्त मनोकामना पूर्ण हुने आस्था र विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । 

दशैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । जसलाई दुर्गा पक्ष पनि भनिन्छ । विशेषगरी घटस्थापनादेखि विजयादशमीसम्म दश दिन मनाइने भएकाले यो पर्वलाई दशैँ भनिएको हो । दशैँ चान्द्र मासका आधारमा मनाइने विशेष पर्व हो । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दशैको विधिवत आरम्भ हुन्छ । घटस्थापनाका दिन विधिवत् कलश स्थापना गरी जौका जमरा राख्ने गरिन्छ । यसै दिनबाट दुर्गा भगवतीको उपासना आरम्भ हुन्छ । भगवतीको उपासनाअन्तर्गत देवीभागवत पारायण, दुर्गासप्तशती पाठ आदि पर्दछन् । 

दशैँमा विशेषगरी दुर्गा देवीको पूजा गरिन्छ । आश्विन महिनामा देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले यस समयको नवरात्रलाई बोधन नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रही आएको छ । 

भगवती दुर्गादेवी आद्य मातृशक्ति हुनुहुन्छ । मार्कण्डेय पुराणमा भगवतीको स्तुति यसरी गाइएको पाइन्छ : ‘सर्वमंगलमंगल्ये शिवे सर्वार्थसाधिके ।

शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।’ अर्थात् अमंगललाई पनि मंगल गर्ने कल्यणदायिनी हे शिवे हजुरलाई नमस्कार छ । सम्पूर्ण पुरुषार्थ सिद्धि गर्नेवाली नारायणी शरणगतवत्सला हुनुहुन्छ । यस्ती कल्यणदायिनी भगवतीलाई नमस्कार छ भनी पुराणले पनि भगवतीको विशेष महिमा गरेका छन् । दशैँका नवरात्रमा यिनै भगवतीको उपासना गरी दशमीका दिन टीका प्रसाद लगाउँदै आपसमा खुशी साटासाट गर्ने हाम्रो परम्परा छ । 

आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुनुहुन्छ । मधु र कैटभलाई बध गर्न ब्रहृमाजीले जसको स्तुति गर्नुभएको थियो तिनै देवीको नाम महाकाली हो । महाकाली भगवतीका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी हुनुहुन्छ । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, वाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गर्नुभएको छ । 

सम्पूर्ण देवताको अंगबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवी महालक्ष्मी हुनुहुन्छ । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध महालक्ष्मीकै हातबाट भएको हो । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौं हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । यस्ती महाकाली भगवतीका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु (वञ्चरो), त्रिशूल, शंख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । 

सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुनुहुन्छ । यस्ती आद्यशक्ति भगवतीका आठ भुजा (हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान रहेका छन् ।

नवदुर्गामा शैलपुत्री, ब्रहृमचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अंगभूत छ देवी छन् : नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राहृमी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

दशैँको सुरुवातसँगै घरहरू रङ रोगन गरी सफा र सुन्दर बनाइन्छ । घटस्थापनाका दिन विधिपूर्वक कलश स्थापना गरी भगवतीको आहृवानपूर्वक जौका जमरा राख्नुपर्दछ । यस अवसरमा तेत्तिसकोटी देवताको आहृवान एवं पूजा हुने गर्दछ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री गरी नवदुर्गा भगवतीको प्रत्येक दिन पूजा अर्चना हुने गर्दछ । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना आरम्भ हुन्छ । सप्तमी अर्थात् फूलपातीका दिन नौ प्रकारका पत्र पुष्पादि वस्तु घरमा भित्र्याई भगवतीको समीपमा राखिन्छ । यसरी भित्र्याउने नवपत्रिकामा केरा, दारिम, धान, वेसार, मानक, कचु, वेल, अशोक र जमरा पर्दछन् । यसरी नौप्रककारका पत्र पुष्प भगवतीलाई समर्पण गार्नाले प्रसन्न भई भक्तलाई वरदान दिनुहुन्छ । यसैगरी यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नाम सम्बोधन गरी विशेष पूजा पनि गर्नुपर्दछ । सरस्वती भगवतीको आराधना यस अवसरमा हुने गर्दछ । 

महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षडङ्गपूजा, शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना गरिन्छ । विशेष बलि प्रदान पश्चात् महाअष्टमीको पूजा आराधना समापन हुन्छ । महानवमीमा सिद्धिदात्री भगवतीको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजापश्चात भोजन गराउने चलन रहेको छ । 

त्रेता युगमा भगवान् श्रीरामले रावणलाई परास्त गरी सत्यको विजय भएको अवसर यही आश्विन शुक्लपक्षको दशमी तिथि थियो । यही विजयको उत्साहस्वरूप विजया दशी पर्व मनाउने गरिन्छ । यसैगरी असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन यही दशमी तिथि भएकाले विजया दशमीलाई हर्षोल्लसाका रूपमा मनाइएको कुरा देवी माहात्यमा उल्लेख पाइन्छ । 

दशैँको विजया दशमी सबैभन्दा उत्कृष्ट दिन हो । यस दिन अपराजित जया विजयाको विशेष पूजा हुनेगर्दछ । हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने शास्त्रीय विधान छ । यसैगरी ज्योतिषीय दृष्टिले विजया दशमीको विशेष महत्व छ । विजया दशमीको दिनभरी नै शुभ साइतमानिन्छ । शुभ कार्यको आरम्भ गर्न यो दिन उत्तम रहने कुरा मुहूत्र्त चिन्तामणिमा उल्लेख छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने शास्त्रीय विधान रहेको छ । भक्ति भाव पूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय फल वर्णन पाइन्छ । यसैगरी मनोकामना पूर्ण गर्न विभिन्न मन्त्रद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान शास्त्रमा उल्लेख छ । 

दुर्गासप्तशती

दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रंत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसंग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तवमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा भगवतीको महिमासहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसंग दोस्रो अध्यायमा वर्णन गरिएको छ । तेस्रो अध्यायमा महिषसुरको बध,चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा देवीको स्तुति छ । पाँचौं अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटौं अध्यायमा धुम्रलोचनको बध, सातौं अध्यायमा चण्ड र मुण्डको बध, आठौं अध्यायमा रक्तबीजको बध, नवौं अध्यायमा निशुम्भ बध, दशौं अध्यायमा शुम्भ बध, एघारौं अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदान को कथा छ । बाह्रौं अध्यायमा देवी चरित्र पाठ र श्रवणको महत्व वर्णन गरिएको छ । यसैगरी तेह्रौं अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ । 

दुर्गा देवीको उपासना र फल

नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ । जगज्जननी माता दुर्गा देवीको उपासनाले धर्म, अर्थ काम र मोक्षको सिद्धि प्राप्त हुन्छ । जुन कामनासहित भगवती देवीको उपासना गर्‍यो सो पूरा हुने कुरा देवी कवचको यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ । 

देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको बायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ । अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेषरूपमा पूजनीय हुनुहुन्छ । किनकि वहाँलाई नै महाकाली, महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । यस्ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुनुहुन्छ । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नुपर्दछ । पाठ पश्चात् सप्तशतीका मन्त्रले हवन गर्नुपर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ । 

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछन् यस्ता व्यक्तिका सारा बाधा निश्चय हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै सबै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान, पूजा, होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ (दुर्गा सप्तशती १२।१०) । 

यसै आधारलाई नै शिरोधार्य गरेर बडादशँै मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे, ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नुपर्दर्छ । विशेषगरी बालबालिकामा परेको ग्रहजन्य दोष दुर्गा सप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ । देवी माहात्म्यको पाठमात्र गर्नाले पनि भूत, प्रेत पिशाच आदि नष्ट भएर जान्छन् । दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति प्राप्त हुने कुरा देवी माहात्म्यमा उल्लेख छ । 

शरद कालीन नवरात्र एवं वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुने गर्दछ । यसैगरी गुप्त नवरात्रमा देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बच्न देव्याथर्वशीर्ष पाठ गर्नुपर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ ।

भगवती दुर्गामातको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस् । सबैका मनोकामना पूर्ण हुन् भन्दै समस्त नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

Top