अहिंसा परमो धर्म, धर्म हिंंसा तथैव च

✍️ मणि शर्मा   POSTED ON : आश्विन २५, २०७८ (८:०२ AM)

अहिंसा परमो धर्म, धर्म हिंंसा तथैव च

सनातन धर्मको उत्पत्तिस्थल, देव तथा तपोभूमि नेपाल हो, यो शास्त्रले नै भन्छ । अहिले बडादशैँको चाड नेपालीहरूले मनाइरहेका छन् । घरघरमा चण्डीपाठ गर्र्ने प्रचलन छ । चण्डीपाठमा शुम्भ निशुम्भ र रक्तबीजको प्रसंंग आउँछ । उनीहरू त्रिभुवनको स्वामी बन्न आदिगंगा कौशिकीको तल्लो तटमा आएर आदिलिंग रहेको ठाउँमा तपस्या गरेका थिए । उनीहरूको तपस्याबाट शिवजी प्रसन्न भएर वर माग्न भने । उनीहरूले भने, ‘हे ईश्वर ! 

यदि हामीलाई वर दिनु हुन्छ भने देवता, राक्षस, गन्धर्व र अरू पुरुषहरूले जित्न नसकून् । उनीहरूबाट हामी मर्नु नपरोस् । हे भक्तवत्सल शिव ! हामी शासनमा सबै प्राणीको मालिक बनौं । उनीहरूले मागेको वर दिएर शिवजी अन्तरध्यान हुनुभयो । वर प्राप्त भएर मत्त भएका राक्षसहरू स्वर्गमा गए । र इन्द्रलोक जितेर देवताहरूलाई लखेटे (स्कन्धपुराण, हिमवत्खण्ड) ।

देवताहरू बृहस्पतिसँग सल्लाह गरेर ब्रहृमाजीलाई भेट्न गए र ब्रहृमाजीले उनीहरूलाई आश्वस्त पार्दै यसको समाधानको बाटो निकाल्ने भने । त्यसपछि ब्रहृमाजीले देवताहरूलाई लिएर कौशिकी नदी तटमा भएको आदिलिंगको दाहिनेपट्टि गए । त्यसपछि कौशिकी नदीको आराधना गर्न लागे । तिनीहरूको आराधनावाट सन्तुष्ट भएर कौशिकी नदीबाट देवी पार्वती प्रकट हुनुभयो र देवताहरूलाई आश्वासन दिँदै राक्षसहरूलाई आफूले मार्ने वचन दिनुभयो ।

कौशिकी नदीको उत्तरपट्टिको हिमालयको चन्द्रशृंग नाम गरेको अत्यन्त उज्यालो पर्वत शिखरमा माता दुर्गा रूपधारी पार्वतीसँग राक्षसहरूको युद्ध भयो, त्यहाँ शुम्भ निशुम्भ, रक्तबीजलगायत दानवहरूको माता दुर्गाले बध गर्नु हुन्छ भन्ने कुरा स्कन्ध पुराणको हिमवत्खण्डमा उल्लेख छ । यसरी माता दुर्गाको वासस्थान कौशिकी नदी तटमा र त्यसको वरिपरिको क्षेत्रमा थियो भन्ने प्रमाणित हुन्छ । भगवान शिव र माता पार्वतीको यो पुण्यभूमिमा आफ्नै मौलिक परम्परानुसार मनाइने बडादशैँ नेपाली मात्रको महान् चाड हो । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको चाड हो बडादशैँ । शैव तथा देवी परम्पराको जन्मस्थल हिमवत्खण्ड नेपाल हो । भारतमा यो प्रथा यहीँबाट गएको हो ।

दुर्गति नाशिनी माता दुर्गाको बीजमन्त्र हो ऐं ह्रींं क्लींं चामुण्डायै विच्चै । यो नौरथामा ब्रहृमाण्डका सबै ग्रहहरू एकत्रित भएर सक्रिय हुन्छन् । जसको दुष्प्रभाव प्राणीहरूमा पर्छ । यही दुष्प्रभावबाट बच्न माता दुर्गाको, पूजा गर्ने गरिन्छ । बडादशैँमा भवानी दुर्गाको नौवटै शक्तिलाई जागृत गरेर नवग्रहलाई नियन्त्रित गरिन्छ । माता दुर्गाको नौवटै शक्तिलाई जागृत गर्न यो नवार्ण मन्त्र जप गरिन्छ । यसको पहिलो अक्षर ऐंं हो यसको सम्बन्ध जसले सूर्यलाई नियन्त्रित गर्छ । 

ऐं को सन्बन्ध नौरथाको पहिलो दिन पूजा गर्ने दुर्गाको पहिलो शक्ति शैलपुत्री हो । दोस्रो अक्षर ह्रीं ले चन्द्रमालाई नियन्त्रित गर्छ । दुर्गाको दोस्रो शक्ति हो ब्रहृमचारिणी जो ह्रीं सँग सम्बन्धित छ । तेस्रो अक्षर क्लीं हो, चौथो चा, पाचौं मुं छैटौंं डा सातौं यै आठौं वि तथा नवौं चै हो । यस सँग सम्बन्धित दुर्गाका शक्तिहरू चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी तथा सिद्धिरात्रि हो ।

यो नवार्ण मन्त्रको त्रिदेव ब्रहृमा, विष्णु र महेश्वर हो र यसका तीन देवीहरू महाकाली, महालक्ष्मी तथा महासरस्वती हुन् । महाकालीले शक्ति, महालक्ष्मीले धन र महासरस्वतीले विद्या प्रदान गर्छन् । कुनै पनि राष्ट्रको स्वतन्त्रता तथा सार्वभौम सत्ता र विकासका लागि यी तीनै कुरा अपरिहार्य छन् । यस नवार्ण मन्त्रले हामीलाई यही संकेत गर्छ ।

हिमवत्खण्ड नेपाल शिव र शक्तिले सृष्टि भएको हो । त्यसैले भारत र हाम्रो धर्म मिले पनि संस्कार र संस्कृति फरक छ । वैष्णव सम्प्रदाय भारतबाट आयातित हो, यो नेपालको मौलिक सम्प्रदाय होइन । नेपालमा दशैँको बेला आयातित अब्राहमिकहरूले बलि प्रथाको विरोध गर्दै गाईको मासु खान पाउनुपर्छ भनेर विरोध अभियान चलाउने गर्छन् । ख्रिष्टानहरूको क्रिसमासमा विश्वभरि लाखौंका संख्यामा टर्की काटिन्छन्, मुसलमानहरूको बकरीदमा यस्तै लाखौंको संख्यामा खसी, गाई काटिन्छन्, त्यसको विरोध कतै हुँदैन । 

बलिप्रथाको सम्बन्धमा मनुस्मृतिमा भनिएको छ यज्ञार्थ पशवः सृष्टाः स्वयमेव स्वयंभुवा । यज्ञश्च भूूत्यै सर्वस्वः, तस्माद् यज्ञे वयोकवधः । ओषध्यः पशवो वृक्षास्, तिर्यञ्च पक्षिणस्तथा । यज्ञार्थ निधनंं प्राप्ताः, प्राप्नुवन्तयुछ्र्रितिः पुनः । अर्थात्, स्वयं ब्रहृमाजीबाट यज्ञका लागि पशुहरूको सृष्टि गरिएको हो । यज्ञ सम्पूर्ण जगतको कल्याणको लागि हो । त्यसै कारण यज्ञमा गरिने पशुको हिंसाः अहिंसा नै हो । औषधि, पशु, वृक्ष, तिर्यक जीव र पक्षी पनि यज्ञका लागि मरेका खण्डमा फेरि उन्नति गर्छन् । अर्थात् उत्कृष्ट योनीमा उत्पन्न हुन्छन् । 

जब विश्वभरि अब्राहमिक धर्म थिएन । सनातन धर्ममात्रै थियो तब संसारभरि नै पशुबलि दिने प्रथा थियो । अलेक्जेन्डर विश्वविजयमा निस्कने बेलामा राँगाको बलि दिएर त्यसको तिलक उनकी आमाले उनको निधारमा लगाई दिएकी थिइन् । क्रिस्चियन धर्म फैलिनुपूर्व युरोपभरि बलि प्रथा थियो । पौराणिक विज्ञ वाल्टर बरकार्टले भनेका छन्, ‘पशुबलि प्राचीन शिकारी युगदेखि चलिआएको हो, जब मासिन शिकार खेलेर आफ्नो आहार व्यवस्थापन गर्थे । इसापूर्व ४४०० देखि ४००० को बीचमा माथिल्लो इजिप्टको कब्रिस्तानमा मानिससँग बाख्रा र भंडा गाडिएको पाइएकाले बलि प्रथा इजिप्टको संस्कार थियो भन्ने प्रमाणित हुन्छ । 

इसापूर्व ३००० सम्म पशु बलिप्रथा इजिप्टमा सामान्य कुरा थियो र यो इस्लाम धर्म नआउँदासम्म थियो । इसापूर्व ३००० र त्यसपछि सम्म इटालीमा भेडा, बाख्रा र सुँगुर बलि दिने प्रथा थियो । यो प्रथा प्राचीन ग्रीकमा क्रिस्चियन धर्म लागू हुनुभन्दा पहिलासम्म थियो । बलि मन्दिरमा नभएर यसको बाहिरी भागमा दिने चलन थियो । उनीहरूको विश्वास थियो आफूलाई बलि दिन पाउँदा पशुहरू खुशी हुन्छन् । बलि दिनुअगाडि पशुलाई पानी छम्किएर मन्साइन्थ्यो र पशुले मुन्टो हल्लाए भने ऊ आफूलाई बलि दिन राजी भएको सम्झन्थे । हामीमा पनि अद्यापि यो चलन छ । वैदिक कालमा बलि दिने पशुको कानमा मंन्त्रद्वारा उसलाई बलि दिन लागेकोमा मञ्जुरी छ वा छैन भनेर सोधिन्थ्यो । 

वृक्षलाई पनि यज्ञ प्रयोजनका लागि उसका हाँगाहरू काट्नुपूर्व मन्त्रद्वारा उसको अनुमति लिइन्थ्यो । तर आज न त ती ब्रहृमत्व प्राप्त गरेका ब्राहृमण छन् न त त्यस मन्त्रको प्रभाव । तर अहिले पनि कतै कतै यज्ञादि कार्यको लागि वृक्षको हाँगा काट्दा पहिला वृक्षको पूजा गर्ने चलन छ जस्तै इन्द्रजात्रामा लिंगोका लागि काठ काट्दा पहिला पूजा गर्ने चलन छ ।

प्राचीन ग्रीकमा बलि दिएको पशुको कलेजो उनीहरूका देवाधिदेव अपलो (सूर्यदेव) को लागि छुट्याइन्थ्यो । अन्नले यज्ञ गर्ने चलन पनि थियो । रूख बिरुवाहरूको पहिलो फल उनीहरूलाई चढाउने चलन थियो । हाड र अनावश्यक मासु देवीलाई भनेर आगोमा चढाइन्थ्यो । बाँकी मासु सहभागीलाई खुवाएपछि मन्दिरलाई सफा पारिन्थ्यो । यसरी विश्वभरि नै बलिप्रथा थियो । जब खाडीमा इस्लाम धर्मको अभ्युदय भयो तब तिनीहरूले गैरइस्लामिकहरूको हत्या गर्न थाले वा उनीहरूलाई जबरदस्ती इस्लाम बनाएपछि सनातन संस्कार र धर्म खाडीबाट समुल नष्ट भयो । 

त्यस्तै क्रिस्चियन धर्मको प्रदुर्भावले युरोप, अमेरिका, अफ्रिकालगायत मुलुकबाट त्यहाँको सनातन धर्ममाथि आक्रमण गरी नष्ट पारिदिए । अब त्यो युग छैन । त्यसैले नेपाल जस्ता मुलुकमा धर्मघाती तथा देशघातीहरूलाई डलरले किनेर आइएनजिओ र एनजिओहरूमार्फत यहाँको सनातन धर्मको विरोध गर्न लगाउनुका साथै गरिब जनतालाई प्रलोभनमा पारी क्रिस्चियन बनाउन सुरु भएको छ । तिनै अब्राहमिकहरूले बलि प्रथाको विरोध गरिरहेका छन् । नेपालमा क्रिस्चियन धर्म फैलाउन र गाईको मांस भक्षणलाई व्यापक बनाउन माओवादीहरूको प्रमुख हात छ । 

अहिंसा परमो धर्मः, धर्म हिंसा तथैव च । तर महाभारतको यो श्लोकलाई अधुरो भन्ने गरिन्छ, केवल अहिंसा परम धर्म हो भनेर भन्ने गरिन्छ । तर सँगसँगै धर्मको रक्षाका लागि हिंसा गर्नु उत्तिनै श्रेयष्कर हो भन्ने गरिँदैन । कसैले हाम्रो देश, हाम्रो सनातन धर्म, हाम्रो संस्कार र संस्कृति तथा हामीमाथि आक्रमण गर्छ भने हामी उनीहरूमाथि जाइलाग्नु परम धर्म हो । धर्म रक्षति रक्षितः । हामीले धर्मको रक्षा गरे मात्र धर्मले हाम्रो रक्षा गर्छ । 

मलाई एकजना मित्रले यस सम्बन्धमा भन्नुभयो, पशुबलि दिने भए नरमेध किन नगर्ने ? पहिला हामीले मेध शब्दको अर्थ जान्नुपर्छ । मेधको अर्थ हुन्छ यज्ञ, पशुबलि, मिलाउनु, सशक्त गर्नु र पोषित गर्नु । सनातन धर्ममा नरमेध, अश्वमेध, अजमेध, गोमेध आदि यज्ञहरू छन् । अजमेध हामी मन्दिरमा दिने बोकाको बलि नै भयो । शतपथ ब्रामणमा भनिएको छ, राष्ट्रको गौरव, कल्याण र विकासका लागि गरिने कार्य अश्वमेध हो । 

अन्नलाई दूषित हुनबाट बचाउन, आफ्ना इन्द्रियहरूलाई वशमा राख्न, सूर्यको किरणलाई उचित उपयोगमा लिन, धरतीलाई पवित्र तथा सफा राख्न गोमेध यज्ञ गरिन्छ । गोको अर्को अर्थ हो पृथ्वी । पृथ्वी र पर्यावरणलाई स्वच्छ राख्न गोमेध यज्ञ गरिन्छ । आफ्नो राष्ट्रका लागि आफ्नो प्राण त्याग गर्नसक्ने यज्ञलाई नरमेध भनिन्छ भने अर्को सन्दर्भमा मृत शरीरलाई वैदिक संस्कारनुसार दाहसंस्कार गर्नु पनि नरमेध यज्ञमा आउँछ । यी मेधहरूमा हत्या गरिँदैन ।

सत्ययुगमा एकचोटि भीषण दुर्भिक्ष पर्छ । संसारका प्राणीहरू खान नपाएर मर्न थाल्दछन्, वृक्षादि सुक्दै जान्छ । राजाले आफ्नो कोष खाली गर्दा पनि मानिसको पेट भरिएन । अन्त्यमा राजाले ऋषिमुनिहरूलाई यसको समाधानको बाटो खोज्न भन्छन् । उनीहरूले धेरै ध्यान गरेर भने, इन्द्र देवता कुपित भएर वर्षा भएको छैन । यसका लागि नरमेध यज्ञ गर्नुपर्छ भने । प्रजाले नरमेध यज्ञ के हो भनेर सोध्छन् । ऋषिमुनिहरूले जवाफ दिन्छन्, पापले जब अदृश्य लोक भरिन्छ तब सृष्टिमाथि नाना आपत्तिहरू आउँछन् । 

यसलाई शान्त गर्न प्रबुद्ध आत्माहरूको उच्चकोटिको स्वेच्छा त्याग जरुरी हुन्छ । यस्ता दिव्य आत्माहरूले पवित्रतम विचारका साथ लोककल्याणका लागि आफ्नो बलिदान दिएपछि दूषित वातावरण शान्त भएर इन्द्र सन्तुष्ट हुन्छन् तर कसैले बलिदान दिन चाहेनन् । एकजना शतमन्यु शर्मा नामक ब्राहृमण युवक जो त्यो सभामा उपस्थित थियो घर आएर आफूले देश र जनताका लागि बलिदान दिने अठोट गर्‍यो र आफ्नो विचार आमाबाबालाई सुनायो । आमाबाबाले अश्रुपूर्ण नयन लिएर छोरालाई हेरे र अंकमाल गरे । पिताले भने, पुत्र प्रसन्नतापूर्वक जाऊ, यदि तिम्रो बलिदानले असंख्य तड्पिरहेका प्राणीहरूको आत्माले शान्ति पाउँछन् भने तिमी अति भाग्यमानी हौ । जाऊ प्रसन्नतापूर्वक देश र जनताका लागि बलिदानी देऊ । 

यज्ञको तयारी भयो । होता, उध्र्वयू, उद्नाता, ब्रहृमा सबै आआफ्नो कार्यमा लागे । एउटा विशाल मण्डपबीच यज्ञवेदिका बन्यो । आहुतिहरूको यज्ञाग्निले आकाश छुन थाल्यो । बलिवेदी समीप बलिदानको लागि शतमन्यु प्रसन्नतापूर्वक उँभिएका थिए । उनको आहुति दिने बेलामा आकाशबाट पुष्पवृष्टि भयो, एउटा दिव्य ज्योति प्रकट भएर भन्यो, पुत्र शतमन्यु  म नै इन्द्र हुँ, तिम्रो त्यागबाट म प्रसन्न छु । बलि भनेकै त्याग हो, जुन देशमा तिमी जस्ता आत्मत्याग गर्नेहरू हुन्छन् त्यो देश धेरै दिन दुःखी रहन सक्दैन । अब नरमेधको आवश्यकता छैन, छिट्टै नै वर्षा हुनेछ, दुर्भिक्ष मेटिनेछ । उनले भनेको केही पलमा बादलले आकाशलाई ढाक्यो र घनघोर वर्षा भयो ।

सत्ययुगको आदिमा शतमन्युले ऋषिलाई भनेका थिए, ‘यज्ञ हुन्छ, म तयार छु । के आज हाम्रो मुलुकलाई विदेशीहरूको तथा तिनीहरूका दासहरूको क्रुर पञ्जाबाट बचाउन तथा वैदिक धर्म, संस्कृति, सभ्यता र संस्कारको रक्षा गर्न हाम्रा शतमन्युहरू तयार छन् ? 

Top