मूल्यवृद्धिको चपेटामा आएको दशैँ

✍️ विश्वनाथ खरेल   POSTED ON : आश्विन २६, २०७८ (८:२१ AM)

मूल्यवृद्धिको चपेटामा आएको दशैँ

विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाल हो । यहाँ बसोबास गर्ने बहुसंख्यामा हिन्दूहरूको बाहुल्य रहेको छ । जसमा उनीहरूको ठूल-ठूला चाडपर्वहरू दशैँ, तिहार, छठ, धान्यपूर्णिमा, ल्होछार, माघी आदि हुन् । यीमध्ये सबैभन्दा महान् पर्व बडा दशैँ पनि एक हो । यो पर्व खास गरी आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिनपर्यन्त चल्ने भएको हुँदा वा दशमीलाई विशेष महत्व दिएकाले यसको नाम दशैँ रहन गएको अनुमान गर्न सकिन्छ । यस पर्वलाई हाम्रो देशको राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । मूलतः मान्यजनको आशीर्वाद, निधारभरि रातो टीका, कपाल र कानमा जमरा, गलामा विभिन्न किसिमका मालाहरू दशैँ पर्वका विशेषता हुन् । 

यस पर्वमा नौ दिनसम्म देवीका विभिन्न रूपको पूजाआजा, अर्चना, फूलपाती महोत्सव आदि कार्यक्रमहरू गरिन्छन् । यसर्थ यस वर्षको महान् पर्व बडादशैँ संघारमा आइसकेको छ । यस वर्षको बडादशैँको टीकाको राम्रोसाहित भने २०७८ साल असोज २९ गते शुक्रबार बिहानको १० बजेर २ मिनेटमा रहेको सम्बन्धित क्षेत्रका ज्योतिषहरूले जनाएका छन् । यसको साथसाथै यो आफैँमा महान् पर्व हो, यो पर्वलाई बढीभन्दा बढी रूपमा देवीदेवतालाई पशु बलि दिने पर्वको रूपमा मान्यता दिइएको पाइन्छ । 

यसै कारणले होला यो पर्वलाई मांसहार गर्ने पर्वका रूपमा समेत लिने गरिन्छ । यद्यपि, नेपाल सरकारले पनि यस पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउने हुँदा सरकारी कर्मचारीहरूलगायत अन्य विभिन्न क्षेत्रहरूमा कार्य गर्ने कर्मचारीले धेरै दिन बिदा पाउँने हुन्छन् । तसर्थ विदेश तथा अन्य स्थानमा भए पनि यस दशैँमा सारा नेपालीहरू आआफ्ना घर गएर आफन्तहरूसँग भेटघाट गरी रमाइलो गर्दै ठूलो पर्वको रूपमा मनाइने गर्दछन् । 

यस पर्वमा टाढा-टाढा बसेका आफन्तसँगसँगै मीठोमसिनो खाने प्रचलन विगतदेखि रहिआएको छ । यस पर्वलाई बली दिने पर्वको रूपको साथसाथै आफ्ना इष्ट देवतालाई मान्ने पर्वको रूपमा पनि लिन सकिन्छ । सामान्य व्यक्तिका लागि यो दशैँ महान् पर्व निकै खर्चिलो चाडपर्वमध्ये लिने गरेको पाइन्छ । यसरी परम्परागत रूपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएकोे हो । प्रत्येक साल महान् दशैँ पर्व मनाउन राजधानीबाट २५/३० लाख मानिसहरू विभिन्न जिल्ला गएको अनुमान गर्न सकिन्छ । तर, यस साल भने विश्वव्यापी कोरोनाको महामारीको कारणले गर्दा कमैमात्रले राजधानी छोड्ने अनुमान गर्न सकिन्छ । 

यसरी मुलुकमा महान् पर्वहरू विस्तारै भित्रिने क्रममा रहेका छन् । यसरी महान् चाडपर्वका बेला अतिरिक्त उपभोग गर्ने खानेतेल, चिनी, दूध, घ्यू जस्ता पदार्थको मूल्य मानिसको काबुभन्दा बाहिर गएको छ । विगत वर्षभन्दा यस वर्षको दशैँमा अत्याधिक प्रयोग हुने मासुको मूल्यमा वृद्धि भएको छ । हाल नै बजारमा मासु प्रतिकिलो १४ सयभन्दा बढी नाघिसकेको अवस्था छ भने दशैँमा मासुको प्रतिकिला १८÷१९ सय नपुग्ला भन्न सकिन्न । 

यसरी नै दूधजन्य पदार्थ घ्यू, दही, पनिर, मक्खनमा मूल्यवृद्धि भइसकेको छ । त्यस्तै गरी चिनीको मोल ८०-१०० रुपैयाँ पुगेको छ । दैनिक भान्साका लागि प्रयोग हुने चामल, दाल, गेडागुडी, तरकारी र फलफूलहरूको मूल्य दिनहूँ वृद्धि हुँदै गएको छ । यी वस्तुहरू गरिबदेखि धनीसम्मलाई नभई नहुने उपभोग्य वस्तुहरू हुन । आजकाल यसको मूल्य सर्वसाधारण व्यक्तिले धान्नै नसक्ने गरी बढेको छ । यसर्थ सम्बन्धित निकायको भनाइनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गर्दछ । 

हाल तरकारी बजारमा दैनिक ९ सय टन आयात भइरहेको जनाएको छ । यसमध्ये करिब ४५ प्रतिशत भारतबाटै आयात भएको छ भने बाँकी ५५ प्रतिशत स्थानीय उत्पादनले धान्ने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ । यसरी उपत्यकामा खासगरी धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट तरकारी भित्रिन्छ । दशैँ नजिकिँदै गर्दा बजार व्यवस्थापनमा सरकार, अझै सचेत नभएको अवस्थाले आमउपभोक्तामा चिन्ता छाएको एकातिर छ भने अर्कोतिर सरकारले भने देशमा असोज १ देखि तिहारसम्मका लागि उपत्यकालगायत देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

यी सुपथ मूल्य पसलमा खासै राम्रा सामान नपाइने सडेगलेका, मिति नाघेका समान पाइने भन्ने आमउपभोक्ताको गुनासो शून्यमा आउने गरेको छ । यसको साथसाथै चाडपर्वको सँगसँगै मानिसले अधिक उपयोग गर्न रुचाउने मासु पनि एक हो । अहिले गत वर्षको तुलनामा खसीको मासुमा दशैँ आउनुभन्दा अगाडि नै वृद्धि भइसकेको छ । यस्तो अवस्थामा सरकारको कुनै अनुगमन हुन सकेको देखिँदैन । दशैँ तिहारमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसीबोकाको मासु किन्छन् । 

अर्कोतिर भने सामान्य आर्थिक अवस्था भएकाले घरमै खसीबोकाको बलि दिएर मासु खान्छन् । दशैँ तिहारमा मूल्य बढी हुने भए पनि हालको बजार भाउ बुझ्ने हो भने अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ता बताउँछन् । विगतका सरकारले खाद्य संस्थानमार्फत चीनबाट भेडा÷च्याङ्ग्रा ल्याएर नेपाली जनतालाई सरल तथा सुपथ मूल्यमा पनि बिक्रीवितरण गर्ने प्रचलन थियो । 

त्यस्तैगरी आफ्नै देशका तराई भेग कृषकहरूले पालन गरेको खसीबोकाबाट कृषि विकास बैंकले ऋणस्वरूप कृषकहरूले लगेको ऋण कट्टा गरी खसीबोक्राहरू किसानबाट किनेर दशैँको अवसरमा राजधानीलगायत विभिन्न शहरी क्षेत्रमा सर्वसुलभ मूल्यमा बिक्रीवितरण गर्ने प्रचलन थियो भने अहिलेको सरकारले यसतर्फ कुनै ध्यान दिएको देखिँदैन । 

यसैगरी गतवर्ष राजधानीमा मात्रै दशैँ तिहारको अवसरमा ६५ हजारको हाराहारीमा खसीबोकाहरू व्यापारीहरूबाट किनबेच भएको थियो भने यसपालिको दशैँ तिहारका लागि ७०÷८० हजारको हाराहारीमा खसीबोकाको माग काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रको माग रहेको सम्बन्धित क्षेत्रका विशेषज्ञको भनाइ रहेको पाइन्छ । यसैगरी व्यापारी दृष्टिकोणले व्यापार गर्ने व्यापारीहरूले यस्तो किसिमको व्यापार गर्ने गरेको पाइन्छ । यसमा पनि किसानहरूको खसीबोकाको मूल्य कम पाउने र बीचमा व्यापार गर्ने बिचौलीयाले यसमा बढीभन्दा बढी नाफा कमाउने अवस्था रहेको छ । 

यसमा सरकारको कुनै निगरानी हुन सकेको देखिँदैन । जसले गर्दा दुःख, कष्ट गरी खसीबोका उत्पादन गर्ने कृषकहरू पनि एकातिर मारमा परेका छन् भने अर्कोतिर उपयोग गर्ने उपभोक्ताहरू पनि यसको मारमा छन् । नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरूको संख्या धेरै ठूलो छ । मुलुकमा कम आम्दानी र बढ्दो मूल्यवृद्धिले उनीहरूको जीवनयापनमा कठिनाइ पैदा भएको छ । यसले गर्दा अब चाडपर्वसमेत हुनेखाने, सम्पन्न, धनीमानी, उच्च वर्गका शासक, प्रशासनको मात्र मनोरञ्जन गर्ने अवसरका रूपमा परिणत हुँदैछ । चाडपर्व विपन्न र गरिब नेपालीहरूको पहुँचभन्दा बाहिरको विषय बन्दैगएको छ । 

अतः राष्ट्र बैंकले प्रकाशनमा ल्याएका आर्थिक विवरणले देशमा समग्र मूल्यवृद्धिभन्दा कैयौं गुणा बढी बजारमा मूल्य बढेको देखिन्छ । गत वर्षको तुलनामा सबै प्रकारका तरकारीमा झन्नै दुई सयदेखि ४ सय प्रतिशतले मूल्यवृद्धि भएको छ । यो क्रम रोकिने सम्भावनासमेत देखिँदैन । त्यसैगरी खाद्यान्न, तेलहन, दलहन जस्ता वस्तु र त्यसका उत्पादनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले थालेको अनुगमन, मूल्यसूची टाँस गर्ने, छापामारबाट पटक्कै प्रभावकारी बन्न सकेको छैन । 

खुलाबजार नीतिका कारण सरकारले मूल्य खुल्ला छाडेकाले गर्दा अहिले बजार अनियन्त्रित बनेको छ । यसले गर्दा न्यूनआय भएका वर्गका सर्वसाधारणको जीवनथप कष्टकर हुनथालेको र आउँदा दिन तिनका निम्ति अरू कठिन हुने देखिएको छ । बजारमा सामानहरूको माग बढी भए मूल्य घट्छ र माग बढे मूल्य बढ्छ भन्ने सिद्धान्तनुसारै मूल्यनिर्धारण हुनेगरेको छ । यसरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकार पूर्णरूपले असफल देखिएको छ । यसरी मूल्यवृद्धि हुनुको कारण भने बजारमा पैसा बढेको र सिन्डिकेटलाई मानिएको छ । यसर्थ अर्थशास्त्रको सामान्य नियम नै हो बजारमा पैसा बढेअनुरूप सामानहरू आपूर्ति भएनन् भने मूल्यवृद्धि हुन्छ ।

Top