देउवाको सकसपूर्ण समय

✍️ मेघनाथ दाहाल   POSTED ON : आश्विन २६, २०७८ (८:२९ AM)

देउवाको सकसपूर्ण समय

नेपाली कांग्रेसको चौधौं माहाधिवेशन तथा देउवाको सत्तारोहण बजारमा बराबरीमा महत्व पाएका विषयवस्तुहरू हुन् । केपी ओलीका विविध अराजनीतिक तथा असंगतिपूर्ण राजनीतिक विधि, व्यवहार एवं तौरतरिकाबाट प्रजातान्त्रिक विधिको खिल्ली उडाएको र मुलुक तथा राजनीतिक संस्थाहरूको हुर्मत लिएको दलीय विधि पद्धति जस्ता पक्षहरूको ख्याल नगरेको तथा आफ्नै दलभित्रकालाई पनि कत्ति पनि वास्ता नगरेको आदि कारण देखाई शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न केपी ओलीको समूह इतरका लगभग सबै तयार भएकै हुन् । 

यस प्रक्रियामा राजनीतिक सहमतिका लागि एमालेबाट छुट्टिएको नेपाल समूह तथा जसपाको दुवै समूहले दिएको समर्थनबाट बनेको नयाँ सरकार हो । सरकारको न्यूनतम काम गराइका लागि पनि मन्त्रिपरिषद् नभई नहुने कार्यकारिणी अंग हो जसले दैनिक प्रशासनिकदेखि अन्तर्राष्ट्रिय सम्बन्ध तथा सम्भावनाका कुरामा पनि छलफल तथा बहस गर्नुपर्ने हुन्छ । हुन त राजनीतिमा देखिएको बाहिरी तथा सतही कुराहरूभित्री रूपमा पाइँदैन नै तर पनि आजको अफ्ठ्यारो स्थितिमा बनेको सरकारले कसरी काम गर्दै अगाडि बढ्ला भन्ने कसैले सजिलोसँग अनुमान लगाउन सकेका छैनन् । देउवाको टाउकामा एकैपटक दुईवटा चटारोहरू आइलागेका छन् । 

एकातिरको आफ्नो दलको माहाधिवेशन जसमा देउवाका अत्यन्त निकट तथा जीवनभर साथ दिएका मित्रहरूले साथ छोडेको स्थिति छ भने चाँदीको किस्तीमा राखेर बालुवाटारको सिंहासनमा विराजमान भएका स्वयं देउवालाई हाल मन्त्रिपरिषद्को विस्तारमा देखिएको अत्यन्त ढिलाइको साथमा पूर्ण भएको मन्त्रिपरिषद्को सकसले रुनु न हाँस्नुको अवस्थामा पु¥याएको देखिन्छ । जम्माजम्मी सोह्रसत्र महिनाको सरकार त्यसमा धेरै र चारतिर फर्किएका दलहरू तथा तिनका समूहहरूलाई लिएर गरिएको मन्त्रिपरिषद्को विस्तार तथा तिनको कार्यशैलीलाई गर्नुपर्ने हृयान्डलिङको कामले देउवाको आगामी एक डेढ वर्ष त्यति सजिलोसँग व्यतीत हुने स्थिति देखिँदैन । 

दशैँको सुरुवातमा पूर्णता दिइएको सरकारको काम गराइ तथा क्रियाकलापबारेमा विस्तारै सर्वसाधारण परिचित हुँदै जालान् यद्यपि केही नयाँ अनुहार भए तापनि कार्यशैली तथा नतृत्वको बारेमा धेरै कममात्र कन्फ्युजन रहेको पाइन्छ । विद्यार्थी संघको केन्द्रीय अध्यक्षबाट आफ्नो तातो एवं ऊर्जाशील समयमै सक्रिय राजनीतिमा केन्द्रीय राजनीतिमा स्थान बनाउन सफल देउवाले प्रजातन्त्रको पुनःस्थापनापछिका दिनमा चाहिँ धेरै उतारचडावको सामना गर्नुपरेको हो । 

विसं २०४८ सालको आमचुनावमा नेकाले पाएको अधिक मतलाई आन्तरिक खिचातानीको कारण पूरा कार्यकाल नचलाई नै मध्यावधि निर्वाचनमा धकेलिदिएपछि नै कांग्रेसमा निको नहुने राजनीतिक रोग सुरु भएको मानिन्छ यद्यिपि यो रोगको बीजारोपण कांग्रेसको स्थापना कालमै भएको हो भन्ने संगठनभित्रका जान्ने सुन्नेहरू पनि बजारमा प्रशस्त पाइन्छन् । तत्कालीन समयमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबीचको आपसी द्वन्द्व तथा रडाकोको मूल्य कांग्रेसले मात्र नभएर सिंगो मुलुकले आजका दिनसम्म तिरिरहेको छ । 

यसको साथै कांग्रेसमा कोइराला परिवारवादको अनावश्यक जगजगी भएका कारण कांग्रेस र मुलुकले नै सामाजिक आर्थिक विकास तथा अग्रगमनको यात्रामा सफलता प्राप्त गर्न सकेन भन्ने स्कुलिङका साथ सुरु भएको राजनीतिक लाडाइँ अन्तत्वगत्वा पार्टी विभाजनमै गएर टुंगिएको थियो । दुई भागमा विभाजित कांग्रेसलाई पुनःएकढिक्का बनाउने काममा पनि देउवाको सक्रियता कम प्रशंसायोग्य रहेन । राजनीतिक यात्रामा कोही पनि स्थायी मित्र तथा शत्रु हुँदैनन् भन्ने चरित्र त्यसै बनेको होइन ।

देउवाको नवगठित सरकारको ८८औं दिनमा बडो सकसकाबीच मन्त्रिपरिषद्को टुंगो लागेको छ तर गठबन्धन दलहरूको बीचमा सार्थक सञ्चारको निरन्तरता तथा सहकार्यको अभावमा सरकारले दिनुपर्ने सेवा तथा सुविधाको डेलिभरीको शुनिश्चिततामाथि शंका गर्ने प्रशस्त ठाउँ छन् । सरकार बनाउन जुन बिल पास गरिएको थियो, सोही फिर्ता गर्ने समझदारीसहित क्याबिनेटले पूर्णता पाएको भनिएको छ । तर, अब के सबै दोष गठबन्धन तथा यसको संस्कृतिलाई दिएरमात्र देउवा चोखिन सक्नुहोला त ? 

देउवाका सबै पक्षहरू सजिला छन् भन्न खोजेको पक्कै होइन तर यो सरकारका सबैखालका गुण तथा दोषहरूको जिम्मा नेतृत्व लिएका कारण देउवाको काँधमा आउने कुरामा कुनै शंकै छैन । देउवाले आफ्नो पाँच दशक लामो सक्रिय राजनीतिको अन्तिम समयमा आएर परिपक्वताका साथमा सही तजबिजले मुलुक, राजनीति तथा आउँदो निर्वाचनसम्ममा मुलुकलाई निकास दिने किसिमले काम गरेको खण्डमा मुलुकको साथै कांग्रेसको आन्तरिक एवं बाहृय शाखलाई जोगाउन सफल हुनुहुन्थ्यो कि ¤ 

एकातिरको धेरै किसिमका राजनीतिक चरित्रहरूको मिश्रणबाट बनेको सरकार चलाउन नै देउवालाई सहज नहुने प्रष्ट हुँदै गएको छ । झण्डै तीन महिनापछि पूर्णता पाएको मन्त्रिपरिषद्को जगहसाइको बीचमा आसन्न चौधौं माहाधिवेशनको चटारोको साथै संगठन र सरकार दुवै पक्षको नेतृत्वमा बढेको महत्वकांक्षा बाहिर सडकमा देखिँदाको राजनीतिक दुर्दशा सतहमा नै छताछुल्ला एवं लथालिंग पो हुने हो कि भन्ने आकलन गर्न थालिएको छ । माहाधिवेशनको तिथिमिति फेरि पनि सार्नुपर्ने हो कि भन्ने डर एकातिर छ भने अर्कोतिर केही जिल्लामा विद्यमान सक्रिय सदस्यहरूको विवाद मिलाउँन नसक्दाको परिणम के हुने हो अन्दाज गर्न सकिँदैन । 

सबैभन्दा पेचिलो विषयवस्तु नै आफैंले वितरण गरेको सक्रिय सदस्यहरूको नामावलीमा यो किसिमको रडाकोले सबैभन्दा पुरानो तथा प्रजातान्त्रिक विधि तथा पद्धतिमा दृढ प्रतिबद्ध राजनीतिक दलका लागि नसुहाउने जस्तो हुँदै गएको छ । हिंजोसम्म अत्यन्त नजिकैका एवं गाह्रोसाह्रोमा चट्टानजस्तै साथ दिएका नजिकका मित्रहरूले आसन्न अधिवेशनमा प्रतिस्पर्धी भनेर औपचारिक घोषणासहित चुनावी तयारी गरिरहँदा देउवा कसरी सिंहदरबारमा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँडका साथ मुलुकभरका कार्यकर्ताको मन बुझाउने कि, सरकार चलाउने कि, विदेशी मित्रहरूसँगको भेटघाटमा जाने कि भन्नेजस्तो रनभुल्लको स्थितिमा देखिनुभएको छ । 

आसन्न अधिवेशनमा यदि संस्थापनइतर समूहले एउटामात्र नेतृत्वको साथमा टिम बनाउर प्रतिस्पर्धामा उत्रिए देउवाको जोर नचल्ने स्पष्ट हुँदै गएको छ तर आजका दिनसम्म संस्थापन इतरको एउटामात्र टिम बन्न सकेको छैन । यसले देउवालाई व्यक्तिगत रूपमा केही ढाडस त मिलेकै हुनुपर्ने हो । रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला एवं शेखर कोइरालासहित कृष्णप्रसाद सिटौलासमेत सभापतिको मैदानमा देखिँदा आउँदो अधिवेशनमा कसले नेतृत्वमा जित हाँसिल गर्ने हो केही भन्न सकिने स्थिति आजका दिनसम्म तयार भएको पाइँदैन । 

तर, पनि जसरी ओलीको बहिर्गमनको समयमा माधव नेपाल तथा प्रचण्डजीहरूको साथै तराई केन्द्रित दलका नेताहरूको देउवालाई साथ, सहयोग तथा उनीहरू स्वयंमा जुन किसिमको फुर्ति देखिएको थियो, त्यो आज देखिँदैन । यी र यस किसिमका क्रियाकलापहरूले सम्बन्धित दलहरूका साथै नेकाको भविष्यमा नराम्रो गर्नसक्ने कुराको हेक्का देउवाजस्तो राजनीतिक रूपमा चतुर एवं साहसी व्यक्तिलाई थाहा छैन भनेर अनुमानसम्म गर्न सकिँदैन । 

प्रसंग, समय तथा राजनीतिक परिवेश सतही रूपमा थोरै फरक भएको देखिए तापनि हिजो गणेशमान, गिरिजाप्रसाद र कृष्णप्रसादको आपसी द्वन्द्व तथा रडाकोको मूल्य आजका दिनसम्म नेपाली कांग्रेसको संगठन नेता कार्यकर्तालगायत शुभचिन्तक तथा नीतिनियममा मात्र नभएर सिंगो नेपालको राजनीतिले व्यहोरिरहेको स्थितिमा फेरि देउवा र रामचन्द्रहरूको व्यक्तिगत गुट तथा राजनीतिक तानातानको मूल्य कहिलेसम्म तिर्ने हो भन्ने प्रश्न पनि नेकाका नेता तथा कार्यकर्ताले आसन्न अधिवेशनको समयमै बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा हो ।

एकातिर राजनीतिक विधि, पद्धति एवं नेतृत्वका लागि जुन किसिमको खेल बजारमा देखिँदो छ, त्यसले आन्तरिक रूपमा कांग्रेसको क्षमतामा क्षयीकरण गर्ने कुरा त छँदैछ साथै कार्यकर्ता माझ कांग्रेसप्रतिको आशा, विश्वास र भरोसा टुट्दै जाने हो कि भन्ने संशय दिनप्रतिदिन देखिँदो छ । एउटा प्रजातान्त्रिक दलमा देशभरिका कार्यकर्ताको सहभागितामा हुने चुनावी माध्यमद्वारा आउने नेतृत्वको क्षमताको बारेमा अहिले नै शंकाउपशंका गर्नु राम्रो होइन, गुट तथा उपगुटलगायत व्यक्तिगत इच्छा चाहनामा जसरी कांग्रेस विगत लामो समयदेखि नराम्रोसँग दलभन्दा पारिवारिक गुठीजस्तो भएर चलिरहेको छ । 

त्यसलाई न्यूनीकरण गर्ने र समय तथा आजको आवश्यकतासँग पौंठेजोरी खेल्न सक्ने र भविष्यमा मुलुक तथा समाजलाई दिशा निर्देश गर्नेसक्ने क्षमताको नेतृत्वको विकास गर्नु अहिलेको नेतृत्वको कर्तव्यभित्र पर्दछ । कांग्रेसको क्षमता भनेको कम्युनिष्टहरू फुटेका बेला वा कमजोर भएका बेलामात्र आपूm दह्रोे बन्ने नभएर मुलुक तथा प्रजातान्त्रिक विधि पद्धति तथा संस्कृति धरमराएको स्थितिमा मुलुकलाई निकास दिने किसिमको हुनुपर्ने आजको माग हो । राजनीतिक नेतृत्वले आफ्नो दल तथा मुलुकलाई निकास दिने सन्दर्भमा कहिलेकाहीँ तत्कालका लागि नमीठो नै सही तर दूरगामी सकारात्मक असर हुने किसिमको निर्णय गर्न सकेमात्र इतिहास स्वर्णीम अक्षरमा लेखिने कुरालाई जो कोहिले बिर्सनु हुँदैन । 

एकातिर कोभिडले धर्मराएको अर्थतन्त्र अर्कोतिर नेतृत्वप्रति दिनप्रतिदिन सर्वसाधारणमा बढ्दै गएको अविश्वास तथा बिग्रँदो सम्बन्धका कारण नेपाली कांग्रेसमात्र नभएर सबै दलको क्षमतमा नै प्रश्न चिहृन लागिरहेको स्थितिमा मुलुकको पुरानो तथा प्रजातान्त्रिक पद्धतिप्रति निष्ठावान दलको नेताको तथा मुलुकको कार्यकारिणीको हैसियतमा थोरै पनि विवेकी हुनसकेको खण्डमा देउवामाथिका सबै किसिमका शंकाउपशंकामात्र नभएर स्वयं दल तथा मुलुकले नै निकास पाउने कुरामा दुई मत नरहला ।

Top