इतिहासको शृंखला र व्यक्तिको आग्रह

✍️ प्रा.डा. कुलप्रसाद कोइराला   POSTED ON : कार्तिक ३, २०७८ (७:०९ AM)

इतिहासको शृंखला र व्यक्तिको आग्रह

कालोहृययं निरवधिः विपुला च पृथ्वी

इतिहास समयसँग सम्बद्ध कुरा हो । वस्तुतः इतिहासलाई समय, घटना र व्यक्ति प्रतिभाको संग्रह भने हुन्छ । ब्रहृमाण्डका यावत् काम कुरा कुनै समयका चक्रमा, कुनै देशका भूभागमा कुनै न कुनै व्यक्ति समूहले गरेका चलखेलबाट निर्मित हुन्छन् । यसै चक्रलाई मानवसभ्यताले इतिहास भन्ने नाम दियो । आजभन्दा ३०६०/०६५ सय वर्ष पहिलेसम्म इतिहास विधाको जन्म भएको थिएन । व्यक्तिलाई केन्द्रमा राखेर कथा लेखिन्थ्यो त्यो कथालाई हिस्टोरी भनिन्थ्यो र त्यसैमा हिष्ट्री पनि अन्तर्निहित रहेको मानिन्थ्यो । 

यसरी आजभन्दा तिनसय साठी-पैंसट्ठी वर्ष पहिले आख्यानबाट अलग्गिएको विधा हो इतिहास । नेपाली राजनीतिक दलहरूको इतिहासका क्षेत्रमा ग्रीष्मबहादुर देवकोटा, सूर्यमणि अधिकारी, प्रा. राजेश गौतम आदिले इतिहास लेख्दा अवलम्बन गरिने वस्तुतथ्यात्मक प्रणालीलाई अवलम्बन गरेर नै लेखेका पनि छन् । आज म इतिहास निर्माणमा किनाराका व्यक्तिको भूमिकाका सम्बन्धमा कुरा गर्नखोज्दै छु । गर्नेभन्दा गराउने ठूलो हुन्छ भनिन्छ । हार्ने व्यक्तिलाई भन्दा हराउने व्यक्ति या समूह र परिवारलाई धेरै चिन्ता र छटपटीले सताउने गरेको अनुभव हामी सबैले गरेका छौं । हार्नेलाई भन्दा हराउनेलाई सय पाप भन्ने त उखान छ । 

चन्द्रनगरदेखि जगातेसम्मको ठेक्कापट्टा हेरी कामतबाट घोडामा चढेर फर्कंदै गरेका कृष्णप्रसाद कोइरालाका मनमा झिलिक्क बिजुली चम्क्यो । यी घरखेत दुनियाँ जहान सबैका छन् मेराभन्दा धेरै हुने पनि छन् । जनता रित्तै हरिकंगाल भएर कहिलेदेखि अब पछि कहिलेसम्म बस्नुपर्ने हो ठेगान छैन । अतः कृष्णप्रसाद केही त गर खानुलाउनु र मोजमस्तीमात्र मानव बन्ने बाटो होइन भनेर गएछ त्यो बिजुलीका झड्काले ।

यसरी बिजुलीको झड्काले छोएपछि कृष्णप्रसाद कोइरालाले चन्द्रनगर भन्सारमा आएका दुईजना ढाक्रेका आङमा भएका लुगा फुकालेर चन्द्रशमशेरलाई पार्सल पठाएको कुरो धेरै नेपालीलाई थाहा छ । विराटनगरमा बस्ती बसाउने काम कृष्णप्रसाद कोइराला र गौरीनारायण डिट्ठाले गरेका थिए । जनकपुरमा पनि यिनीहरूले बस्ती विकास गरी कपडा मिलसमेत खोलेपछि कोइराला विराटनगरमै बसे । डिट्ठा जनकपुरमा बसे । डिट्ठा खेती किसानी बन्दव्यापार गरेर गए । उनका सन्तान नेपालमा यथेष्ट काम र नामका साथ छँदैछन् । कोइरालाले चन्द्रनगर भन्सारबाट कोरेको डोरेटो अनगन्ती घुम्ती मोड र बाधाव्यवधानसँग जुद्धै आजसम्म आएको छ । 

आज यस बाटामा नयाँ बटुवा आउँदा छन् । यिनले बाटो हिँड्ने आफ्ना लक्ष्यको यात्रा गर्नेमात्रै गरिदिएको भए केही थिएन । यसलाई ठेक्कापट्टा, ठाउँमा पुग्ने खुड्किलो बनाउनेका आधिक्यले आज यो विकृत र विकलांग बनेको छ । मूल पार्टीभन्दा गुटउपगुट बलवान् जस्ता देखिन थालेका छन् । गुटका मुठीको माखो बनेर बसेका छन् नेता भनाउँदाहरू । यो परिस्थितिका सम्बन्धमा बीपीले उहिल्यै गरेको भविष्यवाणी ‘पार्टीमा सुकिला मुकिला...’लाई सम्म सम्झने दुःख न वरिष्ठ नेताको पगरी गुत्ने रामचन्द्रले गरे न त पार्टी सभापति बनेर गमक्क फुलेका शेरबहादुर देउवा । 

नेतापुत्र भेला भएर कुखुराका साँप्रा दन्काउँछन् तर पार्टीको यो कन्तबिजोक हुँदा पनि उनीहरू त्यागका लागि अलिकति पनि कोही टसमस भएका देखिँदैनन् । पितादेखि पत्नीपुत्रहरूसमेत राजनीतिमा लागेका कोइराला निवासका सदस्य प्रा.डा.शशांक पनि मौन बसेका छन् । बरु यी सबैलाई खेतीपाती गरेर, सबै प्रकारका गृहस्थ धर्म निर्वाह गरी सबै भाइका सन्तानको शिक्षादीक्षाको व्यवस्था पनि मिलाएर नेपाली कांग्रेसको दियो जोगाउन लागेका केशव कोइराला (कोशुदा) र नोना कोइरालाको जीवनचर्यामा अलिकति नजर लाउने क्रममा छु आज म ।

राजनीति, किसानी र संगठनका तीनवटा भकुण्डा एकै पल्ट आकाशमा फालेर राजनीतिक कदम सोच्ने वेष्टन चर्चिलले विश्वमा बेलायती उपनिवेश फैलाएका थिए । यद्यपि पछिल्ला समयमा उनलाई त्यो कदमकै कारणले पदच्युत पनि गराइएथ्यो । केशव कोइराला र नोना कोइराला पनि बीपी, गिरिजा र तारिणीलाई सर्वात्मभावले राजनीतिमा लाग्न अवकाश प्रदाता थिए । कसै न कसैले गर्नैपथ्र्यो त्यो काम गरेर घर, खेती धानीदिने मान्छेका अभावमा राजनीति प्रभावित हुनसक्थ्यो ।

‘जुनबेला कोइराला निवासका सारा सदस्य प्रवास र जेलमा थिए । त्यो बेला विराटनगरमा कांग्रेसको दियो हत्केलामा बोकेर सडकमा प्रदर्शन गर्न निक्लने बद्री बस्नेत र नोना कोइरालाको साहस देखेर त्यहाँका मान्छे चकित हुन्थे । प्रजातन्त्रान्त्रिक खलेगराको मियोका वरिपरि घुम्ने गोरुजस्ता थिए यिनीहरू । दुनियाँले के भन्छ ? के गर्छ यिनलाई कुनै चासो थिएन । देशमा प्रजातन्त्र ल्याएर नेपाल र नेपालीलाई स्वतन्त्र, समृद्ध र स्वाभिमानी बनाउनुपर्छ भन्नेमात्र ध्याउन्नमा थियो कोइराला निवास । 

केशव र नोनाले कोइरालाहरूको सबै खेतीपाती सम्हालेर मातृका, बीपी, गिरिजा, तारिणीहरूलाई निश्चिन्त भएर राजनीतिमा लाग्न फुर्सद दिएका थिए । नेपालको दरबार शक्तिशाली बनेर पञ्चायतबाहेकको राजनीतिलाई चिनियाँ कम्युनिष्ट पार्टीले गर्ने व्यवहार गरेका बेला नोना र बद्री बस्नेतका हातमा लहराएको चारतारे झण्डाले विराटनगरमा कांग्रेस अस्तित्वमै रहेको सन्देश दिन्थ्यो कुलप्रसादजी भनेर भोगेन्द्र उपाध्यायले भनेपछि मैले झलक्क सम्झेको थिएँ यही हाल थियो जनकपुरमा लीला कोइराला, भीष्मजंग केसी, महेन्द्रनारायण निधि र आनन्दप्रसाद ढुंगानाको र सिन्धुलीका अर्जुन बराल, उदयपुरमा अर्जुन खडका जस्ता मान्छेको पनि । 

यिनले राजा महेन्द्र र उनका अरौटे भरौटेलाई चुनौती दिएको देखेर हामी भर्खर पढ्दै गरेका युवकमा पनि जोस चढ्थ्यो । मलाई पनि कांग्रेस हुन र बुझ्न मन लागेको थियो । नोना कोइराला विराटनगरको कोइरालाका घरमा नवबुहारी बनेर प्रवेश गर्दा उनले स्याहार गर्नुपर्ने उमेर र अवस्थामा रहेका उनका कान्छानानी (देवर) गिरिजाप्रसाद कोइराला थिए । यी देवरभाउजूको सम्बन्ध आमाछोराको जस्तो थियो ।

गिरिजाप्रसाद कोइरालालाई नोनाले मात्रै सम्झाउन, नियन्त्रण गर्न र उहाँले चाहेको काम गराउन सक्नुहुन्थ्यो । लामो संघर्षमय जीवनमा उहाँ कहिल्यै कुनै पदमा जान चाहनु भएन । चाहेको भए नोना, सुशीला र रोषाले नपाउने कुनै कुरा हुन्थ्यो ? कसले विरोध गर्नसक्थ्यो ? यिनीहरू नारी रत्न हुन् । पढालेखा बाहिर पनि काम गर्नसक्ने क्षमतासम्पन्न थिए । सारा कांग्रेसका कार्यकर्तालाई आफ्नै सन्तान जसरी माया दिए । कहिल्यै कुनै प्रकारको राजनीतिक महत्वाकांक्षा राखेनन् । आज जुद्धशमशेरका नंग्राले चिथोर्न थालेको छ कांग्रेसलाई । 

भोगेन्द्र उपाध्यायका कुरा सुनेर मलाई कालिदासको महाकाव्य रघुवंशको त्यो पंक्तिको सम्झना भयो ‘क्वसूर्यप्रभवो वंश क्वचाल्प विषया मति’ कहाँ त्यो सूर्यबाट अघि बढेको वंश कहाँ विषयवासनामा डुबेको अल्पमतिको म भनेर कालिदासले भनेका थिए । मलाई लाग्छ कालिदास र सूर्यवंशी राजाहरू नङमासुजस्ता बनेर रहनेछन् । नेपालमा पनि आफ्ना जीवन कालमा भन्दा यी प्रजातन्त्र सेनानी अबका दिनमा स्मर्तव्य, सर्वजनमान्य बन्दै गएका छन् । 

सिंहपुत्रहरू आज स्यालको पनि सिकार गर्न नसकेर जातीयता, प्रान्तीयता अनि काठमाडौंलाई केन्द्र मानेर भित्रका र बाहिरका भनेर विभेद सिर्जना गर्न लागेका बेलामा नोना र केशवका कान्छा पुत्र डा.शेखरले राजनीतिमा लागेको खियालाई माभ्mने, टल्काउने, गुटउपगुटका लहराले जेलेको राजनीतिक दलाई दलका मर्यादामा ल्याएर धारिलो बनाउने सत्संकल्प गरेर विगतदेखि राजनीतिको समुद्रमन्थन गर्न लागेका छन् :- 

(क) एकपटक मात्र सभापति बनेर ठाउँ छाड्ने, एक व्यक्ति एक पदको सिद्धान्त पालन गर्ने ।

(ख) प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुनुपर्ने ।

(ग) तरुणपुस्ता र पुरानो पुस्ताको सन्तुलनभन्दा पनि योग्य लोकप्रिय नवपुस्ताको वर्चस्व स्थापित गर्दै लैजाने ।

(घ) सहमति र सरसल्लाहलाई सम्मान गर्दागर्दै पनि स्वस्थ र मर्यादित प्रतिस्पर्धालाई प्राथमिकता दिने ।

(ङ) पार्टीभित्रको अप्राकृतिक गठबन्धनलाई निस्तेज गरेर वैचारिक प्रखरतालाई सम्मान गर्ने ।

(च) सामाजिक तत्वलाई राजनीतिमा स्थापनाको आधार नमान्ने (राजनीतिमा बाबुपछि छोरालाई या श्रीमतीलाई स्थापित गर्ने प्रथालाई निस्तेज गर्ने) ।

(छ) पार्टीको सभापति (या अन्य कुनै पद) कसैले कसैलाई दिएर होइन, आफ्नो क्षमता र लोकप्रियताका शक्तिबाट जितेर लिनुपर्ने पद हुनाले माथि भनिएका छवटै बुँदाको सान्दर्भिकता स्थापित हुन्छ । डा.कोइराला विचारमा स्पष्ट, राजनीतिक र कूटनीतिक क्षमता प्रदर्शन गर्नसक्ने, अप्राकृतिक गठबन्धन नचाहने, भागबण्डा र मिलीजुली खाऊँ भन्ने प्रवृत्तिका कठोरविरोधीसमेत देखिएका छन् । 

यीसबै कुरालाई विचार गर्दा डडेलधुराको प्रवृत्ति नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनका बेला दोहोरिएन भने अहिलेसम्म सभापति पदमा घोषित नाममध्ये अधिक मतदाताका प्रियपात्र उनै बन्नसक्ने देखिन्छ । नेपाली कांग्रेसको क्रियात्मक र सांगठनिक शक्तिमा बिस्तारै ह्रास भएर २३ सिटमा परिसीमित भएका बेला यसलाई परिमार्जन गरी यसको पुरानो गौरवगाथालाई नेपालीका मनमस्तिष्कमा पुर्‍याउनुपर्ने आवश्यक्ता टड्कारिएको छ । 

अतः उनले उठाएका कतिपय मुद्दालाई नेपाली प्रजातन्त्रवादी युवकले सहजस्वीकार गरेको देखिएको छ । पुराना र स्थापित ठालु कांग्रेसको र पुस्ता तथा पारिवारिक कांग्रेसको अत्यधिक पराजय यसै कुराको द्योतक हो पनि । घर दही त बाहरो दही चाहिँ हुनुपर्छ घरमा कुरा मिल्नु आवश्यक छ । अहिले तमाम प्रजातन्त्रवादीले शेखरजस्तै जुधारु करनी र कथनीमा समान देखिने नेता खोजेका छन् । घाम, झरी, बादल नभनेर दुःखी पीडितका घरघरमा पुगेर दुःखसुखमा सहभागी हुने क्षमता उनमा अब्बल देखिएको छ । जो राजनेताको अति आवश्यक गुण मानिन्छ ।

Top