प्रजातान्त्रिक अभ्यासका विविध रूप

✍️ भट्टराई बन्धु   POSTED ON : कार्तिक ४, २०७८ (६:४९ AM)

प्रजातान्त्रिक अभ्यासका विविध रूप

पटक-पटक समय तोकेर पनि नेपाली कांग्रेसको चौधौं अधिवेशन टर्दै एनकेन तल्लो निकाय वडा र गाउँ/नगर/महानगरपालिकाका अधिवेशनकाहरू सम्पन्न भएका छन् । कम्युनिष्ट पार्टीका महत्वाकांक्षी, चटपटे, सस्ता अलमलाउने नाराका पछि लाग्दा भोग्नुपरेको कहरबाट आहत चहराइरहेका घाउहरूमा मल्हमपट्टी लगाउनेमात्र होइन यो अराजक-अस्थिरावस्थाबाट सुरक्षित अवतरण गराउने जिम्मेवारी बोकेको नेपाली कांग्रेसको चौधौं अधिवेशनप्रति राष्ट्रिय-अन्तर्राष्ट्रिय चासो बढेको छ । 

राज्य सञ्चालनमा नेपाली कांग्रेसको अपरिहार्यता आजको सर्वस्वीकार्य यथार्थता बनेको समयमा हुन गइरहेको अधिवेशनमा नयाँपुस्ताको उल्लेख्यौं आकर्षक सहभागिताले यसको महनीयता पुष्टि भएको छ । नेपाली कांग्रेसले आमजनभावना र मुलुकको अवश्यकताप्रति गम्भीर बन्नसक्यो भने राष्ट्रले कम्युनिष्ट फोवियाबाट छुट्कारा पाउने सम्भावना बलियो हुनेमा प्रजातान्त्रिक शक्ति आश्वस्त हुन खोजेको छ ।

तर, नेपाली कांग्रेस पार्टीका तल्लो निकायका अधिवेशनहरू सहज-स्वाभाविक ढंगले सम्पादन हुन सकेनन् । गुटउपगुटका गतिविधिबाट पार्टी संक्रमित र छरपष्ट भएको छ । जनतान्त्रिक शक्तिको आधारस्तम्भ मानिने ग्रामीण निकायका अधिवेशनको प्रस्तुति मुलुकको स्थितिप्रति बेखबर देखिनु सुखद् होइन । नेपाली कांग्रेसले तेह्रौं अधिवेशनमा पारित गरेका संकल्प र वाचाहरू अधुरै छोडेर एनकेन सम्पन्न भएका ती गाउँ/नगर/महानगरपालिकाका अधिवेशन पनि उत्साहप्रद देखिएनन् । खोपामा थन्काइएका पार्टी आदर्श, सिद्धान्त र नीतिहरूप्रति सांगठनिक संरचना अछुत राखेर पदीय भागबण्डा र आफ्नो गुटका मानिस थन्क्याउने अवसर जस्तो देखियो-अधिवेशन । 

वडामै गुटगत हस्तक्षेपबाट नेतृत्व चयन हुँदा विवाद चर्किँदा स्वच्छ-स्वस्थ्य प्रजातान्त्रिक अभ्यास बिथोलियो । जिम्मेवार तहबाटै गम्भीर आरोपका साथ पुनर्निर्वाचनका लागि गरिएको मागले नकारात्मक सन्देश प्रवाह हुन पुग्यो । फलतः गाउँपालिका/नगरपालिकाका पूर्वनिर्धारित अधिवेशन प्रभावित हुन पुगे । कांग्रेसको अन्तर्यबोध गरेका सचेष्ट कांग्रेसजनको बाहुल्य भएका केही ठाउँमा भने गुटउपगुटका तिकडम चिर्दै सर्वसम्मतिका सुखद् नतिजाहरू पनि देखिए ।

सहमति, सहकार्य र एकताको नाउँमा कम्युनिष्टको हालीमुहाली हुन थालेपछि पार्टीभित्र नसोचिएका समस्या र चुनौती देखापरेका छन् । प्रजातन्त्र र राष्ट्रियताको जग-स्थानीय निकायहरूमा सैद्धान्तिक बहस, समसामयिक राजनीतिक गतिविधि र समस्याहरूको समीक्षा तथा छलफल गर्ने गरेको देखिएन । बिमति र समाजका जल्दाबल्दा समस्याबाट अरूलाई दोष थुपारिदिएर पन्छिने प्रवृत्ति कंग्रेसमा हावी भए छ । आम कांग्रेसजनमा उकुसमुकुस र दुविधा नपत्याउने गरी बढेको छ । यस्तै अवस्थामा चारतारे झण्डामुनि बीपीको तस्वीर राखेर वडा र गाउँ/नगर/महानगरपालिकामा अधिवेशन सम्पन्न भएका छन् । राजनीतिक-आर्थिक-सामाजिक-सांस्कृतिक विषय थाती राखेर पदीय समायोजन र बाँडफाँडका मुद्दा प्रमुख बनाइएका छन् । चारतारे झण्डा र बीपीको फोटो राख्ने चलनलाई निरन्तरता दिनुबाहेक यी अधिवेशनबाट कुनै नवीन सन्देश प्रस्फुटित हुन सकेको पाइएन । 

स्थानीय निकाय जनतासँग प्रत्यक्ष सरोकार राख्ने प्रजातान्त्रिक संस्थाहरू हुन् । राष्ट्रियताको मूल र अन्तिम तत्व यिनै हुन् । यिनै जनतान्त्रिक संस्थालाई बीपीले राष्ट्रियता र मेलमिलापको आत्मा भन्नुभएको थियो र छ । यस अर्थमा उहाँको फोटो राख्नुको अन्तर्य प्रतीकात्मक छ, समीचीन पनि । संविधानसभाबाट निर्मित संवैधानिक संरचनामा प्रजातान्त्रिक पद्धतिको व्यवस्था भए पनि व्यवहारतः आत्मारहितका अभ्यासले जनतान्त्रिक संस्थाहरूको औचित्य प्रयोगहीन प्रतीत हुन थालेको छ । जनतान्त्रिक संस्थाहरू कमजोर बनेका छन् । जनाकांक्षा र अभिमतलाई नजर अन्दाज गर्ने साढे तीन वर्षे कार्यकालका उग्रवाम वा दक्षिणपन्थका गतिविधि क्रमिक रूपले प्रत्युत्पादक देखापर्न थालेका छन् । नेपाली कांग्रेस विगतमा जस्तो निर्णायक सामथ्र्यका साथ प्रस्तुत हुन नसक्दा मुलुकले सास्ती भोग्नु परेको छ । यी र यस्तै गतिविधिले आजको अवस्था उत्पन्न भएको कुरा हामी लुकाउन सक्दैनौं । प्रजातन्त्र, राष्ट्रियता र जनतान्त्रिक संस्थाहरूको श्रीवृद्धिका लागि प्रतिकूल स्थितिमा नेपाली कांग्रेसका स्थानीय अधिवेशन प्रभावित हुने भए, भएकै छन् ।

विधि-विधान र पद्धति मिच्नु बहादुरी सम्झने उग्रवाम वा दक्षिणपन्थीहरूका गतिविधि विश्वव्यापी प्रजातान्त्रिक अभ्यासमा हैकमवादी सावित भएका छन् । उनीहरूका लागि नम्बर एक दुश्मन भनेको प्रजातान्त्रिक शक्ति हो भन्ने कुरा हाम्रै कम्युनिष्ट पार्टीका घोषणापत्र पढेका जो कोहीले बुझ्न सक्छन् । संविधानसभाबाट संविधान माग्ने कम्युनिष्टको क्रियाकलाप र संविधान निर्माणताका देखिएका हरकतहरू प्रजातान्त्रिक मान्यताका खिलाफ थिए । संविधान जारी भएपछिका गतिविधिले धरातलीय यथार्थतालाई कुल्चिनु, देशको मौलिक चरित्र नष्ट गर्न यो शक्ति उद्यत् रहेछ भन्ने देखिएकै हो । दुई/दुई पटक संविधानसभाको चुनाव गराएर मुलुकलाई विश्वसामु झुकाउन खोज्ने यही तत्व थियो । नेपाली कांग्रेसलाई माटोमा मिलाइदिने धृष्टता पटक-पटक भएकै हो । नेपाली कांग्रेसले कालकुट विष सेवन गरेरै भए पनि राष्ट्र र जनताको शीर निहुराउने काम हुनबाट जोगाएको छ । 

सार्वभौम स्वतन्त्रता र जनाधिकार जोगाउन उच्चतम महत्व दियो । संक्रमणकालीन परिस्थितिमा कम्युनिष्टहरूसित सहकार्य गर्‍यो । उग्रवामपन्थी धार प्रजातन्त्र र प्रजातान्त्रिक संस्थाहरूको विकासप्रति इमानदार रहेन । प्रजातन्त्रको उनीहरूको पुरानो बुर्जुवा सोच बदलिएन । हामी कहाँ प्रजातन्त्रमा लाग्ने गरेका ग्रहणहरूको प्रमुख कारण नै यही कारक हो । उनीहरूको साढे तीन वर्षे हैकमवादले गाउँको विकासमा पु¥याएको क्षति, नैतिक ह्रास, गैरजिम्मेवारीपन र सत्ताको चरम दुरुपयोगले निम्त्याएका अनेकौं विकृति र त्यसले सिर्जना गरेका भीमकाय समस्या उपर जनतान्त्रिक संस्थाका अधिवेशनहरूमा कसैको ध्यान पुग्न सकेन । जनमतको चरम दुरुपयोग भएको र राष्ट्रदोहनको आधार बनेका ती राष्ट्रिय विपदहरू यी अधिवेशनमा गौण रहे, सामान्य रहे । जिमेवार तह बेखबर जस्तै रहृयो । 

राष्ट्र-राष्ट्रियता र जनतन्त्रको जग मानिएका गाउँ/नगर/महानगरहरूमा पद र कुर्सीका लागि हानाथापमै सीमित रहे । धनीमानीहरू, एनजिओ/आइएनजिओकर्मीको चुरीफुरीले पार्टीभित्र प्रश्रय पायो । पार्टी अफिस बनाइदिने, फर्निचर-दराज आदि किनिदिने आश्वासनले दशकौंदेखि राष्ट्र र जनताको सेवामा समर्पित कांग्रेसजनलाई क्षुब्ध बनायो । नैराश्य बढाउने र मनोबल गिराउने काम भयो । प्रजातन्त्रको उज्ज्वल भविष्य धूमिल हुने त होइन भन्ने चिन्तामा आम कांग्रेसजन छट्पटिए । यस्तो परिस्थितिमा स्थानीय तहका अधिवेशन सम्पन्न भएका छन् ।

विश्वका प्रजातान्तिक मुलुकका राजनीतिक दलहरूको विधान, अन्तर पार्टी नेतृत्व चयनको शृंखला र प्रजातान्त्रिक अभ्यासका दृष्टिले अब्बल, विशिष्ट र अतुलनीय रहँदै आएको नेपाली कांग्रेस पार्टीको विधानले निर्दिष्ट गरेको सुगमबाटो यस पटक निकै गिजोलियो । पार्टीभित्र विकसित गुटबन्दी र खिचातानीको प्रभावले विधि र विधानको मर्म धरापमा पुगेको अनुभूत गरियो । घाउमा नुन-चुक छर्ने काम पर्दाभित्रबाट पार्टीका खेलाडीले कार्यकर्ता उक्साउने, भड्काउने काम गरे । जनतन्त्रको सुदृढ जग, वडादेखि केन्द्रसम्मका, सैद्धान्तिक निष्ठाको राजनीतिक गर्ने सदाचारी कार्यकर्ता अधरमा लट्किएका छन् । नेपाली कांग्रेस जस्तो गौरवशाली प्रजातान्त्रिक पार्टीका लागि यो ठूलो चुनौती हो ।

छ चरण पार गर्दै नेतृत्व चयनको आधार खडा गरेको सुस्पष्ट व्यवस्थाका लागि अग्रणी यो गौरवाशाली पार्टीको पिँधका अधिवेशनप्रति छर-छिमेक र वरपरका इष्ट-मित्रहरूको चासो रहने नै भयो । यी अधिवेशनहरूले निर्दिष्ट गरेका प्रजातान्त्रिक परिपाटीभित्र रहेर स्थानीयस्तरका यावत् समस्याहरू केलाउँदै आसन्न चुनावलाई समेत मध्यनजर गर्दै ती सबैको दायित्वबोध गर्नसक्ने काबिल नेतृत्व चयन गर्नुपर्ने हो । केही गाउँ/नगर/महानगरपालिकामा आफ्ना समस्या केलाएर जिम्मेवारीबोध गर्ने प्रयाश भएका पनि होलान् तर प्रक्रियागत रूपमा धेरैजसो ठाउँमा फितलो, सतही र जनसमुदायको पीडालाई सम्बोधन गर्न नसक्ने अवस्था पनि रहेको कांग्रेसवृत्तकै गुनासो छ ।

कतिपय ठाउँमा सर्वसम्मतिको वातावरण बनिरहँदा टेलिफोनको भरमा यो गुट त्यो गुटको रंग दिएर विथोलिएका प्रसंग भेटिएका छन् । गुटबन्दीको अँध्यारो कोठाले निर्देशित वा प्रभावित भएर नेतृत्व चयनमा जटिलता थपिएका छन् । पार्टीको आदर्श, सिद्धान्त र नीतिको अनुशीलन गर्ने, त्यसैबाट लामो राजनीतिक यात्रा तय गरेका इमानदार कंग्रेसजनहरू ओझेलमा परेका छन् । अहिलेसम्म देखिएका केही स्थानीय तहका अधिवेशन जनभावना र समाजमा व्याप्त समस्या समाधानका दिशामा केन्द्रित हुन सकेका छैनन् । यस्ता गतिविधिले मानिसमा पार्टीप्रतिको भरोषा धुमिल गराएको छ । यसउपर जवाफदेही हुने को ?

खुला र स्वतन्त्र समाजमा यस्ता गतिविधिबारे खुलेर चर्चा हुनु स्वाभाविक हो । गुटबन्दीले स्थापित गरेको नेतृत्वबाट जनताको मन छुने गरी कांग्रेसको सन्देश प्रवाहित हुन सक्ला भन्ने अपेक्षा राख्नु गुटबन्दीलाई नै प्रोत्साहित गर्नु हो भन्ने लाग्छ । नेपाली कंग्रेसको आत्मा भनेको नेपाली जनताको मन हो, भावना र चाहना हो । यसबाट निरपेक्ष रहेर केही अधिवेशन सम्पन्न हुन सक्लान तर पार्टी पद्धतिकै खिलाफ हुने गुटगत दुष्परिणामले यदुबंशी चरित्रको बीजारोपण गर्ने कुरामा सन्देह रहँदैन । जनमानसले यस्ताखाले गतिविधि नियालेको हुन्छ । आसन्न स्थानीय तहको चुनावमा यो असन्तुष्टि सम्हाल्न नसक्ने गरी विष्फोट हुन बेर छैन । यसको जिम्मेवारी कसले लिने ? विधि-प्रक्रिया मिच्नेहरू या निष्ठाको राजनीति गर्नेहरू ? नेतृत्वलाई यी प्रसंगहरू अरुचिकर लाग्न सक्छन् तर यथार्थतालाई लुकाएर वा शक्तिको भरमा थिचेर-मिचेर अगाडि बढ्न खोजे नेपाली कांग्रेसले कोमिन्ताङको परिणति भोग्नुपर्ने हुनसक्छ । यी र यस्तै समस्याको निदान काबिल नेतृत्व चयनले मात्र हुनसक्छ ।

नेपालको प्रजातान्त्रिक मूलधार भनेको नेपाली कांग्रेस पार्टी हो, यो अल्मलिँदा, शिथिल बन्दा राष्ट्र अल्मलिन्छ-राष्ट्रका अंगप्रत्यंग शिथिल हुन्छन् भन्ने कुरा विगत साढे-तीन वर्षको शासकीय प्रहसनले पुष्टि गरिसकेको छ । यो अवधि भनेको प्रजातान्त्रिक परम्पराको जग भत्काउन उद्यत् रहेको समय हो । स्वतन्त्र न्यायालयको मानमर्दन गर्ने, मानवअधिकार र स्वतन्त्रता चीरहरण गर्नेसम्मका धृष्टता भएको काल हो । राजनीतिमा यस्ता खाले गतिविधिले संस्थागत रूपमै प्रश्रय पाउँदा कानुनी राज्यको अवधारणा खण्डित हुँदै वैधानिक बाटो थिचिने-मिचिने, सेवा गर्ने भावनाबाट शासन-प्रशासन विमुख हुने, सत्तामा पुगेपछि दलका क्याडरहरूसमेत संविधान र कानुन भन्दामाथि भएको दम्भ गर्ने, तटस्थता र निष्पक्षताको न्यूनतम सीमारेखा तोडेर पार्टीपंक्तिको लालच पूर्ति गर्न अनेक काइते तानाबाना बुनेर राष्ट्र दोहन र लुटको शृंखला घनिभूत भएको समय हो-ओलीकाल । 

राजनीतिक टिप्पणीकारको दृष्टिमा यस्तो कामले असफल राष्ट्रको दर्जामा पु¥याउँछ । यस्तो अवस्थामा परिस्थितिले नेपाली कांग्रेसलाई राज्य सञ्चालनको जिम्मेवारी सुपेको छ । गाउँ/नगर/महानगरपालिकाका अधिवेशनमा किन्चित संवेदनशील भई वस्तुस्थितिको लेखाजोखा गरिएन । यस्ता चलनचल्तीले स्थानीय निकायलाई जिमेवार बनाउन सक्ला ?

हाम्रो प्रजातन्त्रमा गम्भीर, उत्तरदायी र सबल प्रजातान्त्रिक प्रतिपक्षको विकास हुन नसक्नु नेपाली कांग्रेसमात्र होइन देशकै दुर्भाग्य हो । कहिले प्रगतिवाद, कहिले जनवाद, कहिले क्रान्तिकारी कम्युनिष्ट र कहिले एमाले-माओवादी आदि इत्यादिको नाममा मुलुक रुमलियो । उनीहरूको उच्चतम मान्यता भनेको देशको मौलिक तथा परम्परागत मान्यता ध्वस्त गरी भौतिकवादी र अर्थवादी सिद्धान्तको स्वप्निल आदर्श राज्य स्थापना गर्नु हो । मानिसको स्वभाव, जीवनशैली, रहनसहन र स्वतन्त्र चिन्तन प्रक्रियालाई बन्धक बनाउने हैकमवाद लड्ने यस्तो कथित राज्य प्रजातन्त्रको विकल्प कदापि बन्न सक्दैन । यस्तो प्रकल्पना सुन्दर दर्शन त होला तर शासन पद्धति अहिलेसम्म कहीँ पनि प्रमाणित हुन सकेको छैन । यस्तो स्वप्नील भाउतोमा विश्वमा करोडौं मानिसको ज्यान गएको छ । हामीकहाँ पनि हजारौं मनिसले ज्यान गुमाउनुपरेको छ । मुलुकमा अर्बाैैं मूल्यका विकासका पूर्वाधार ध्वस्त भएका छन् । सामाजिक विद्वेष र कलहको बीजारोपण भएको छ । आपसी मेलमिलाप र एकताको सौहाद्रपूर्ण समन्वयात्मक वातावरण बिथोलिएको छ । 

अस्थिरता र अराजक प्रवृत्तिले प्रश्रय पाएको छ । आर्थिक विकासको दृष्टिले पचास वर्षपछाडि धकेलिएको छ । अराजकता, अस्थिरता, निरन्तर गरिबी, भोकमरी तथा अभावको ताण्डव, बेरोजगारीको चरम अवस्था सिर्जना गरी राहत र सहयोगको नाउँमा स्थापित हुन् खोजेको साम्यवादी सोचले मानिसलाई पराश्रित-परावलम्बी बनाएको छ ।

धर्म र आत्मदृष्टिलाई अमान्य र अग्राहृय मान्ने माक्र्सवादी सिद्धान्तका अनुचर कम्युनिष्टसित सहकार्य गर्नुपर्ने विडम्बनाबाट नेपाली कांग्रेस अभिशप्त छ । कांग्रेसभित्रको गुटगत राजनीतिले यस्तो बन्धनमा फसाएको हो । जिम्मेवार तहमा यस्तो चेत देखिएन । अहिलेको निरस, नमीठो र पट्यार लाग्दो स्थितिप्रति नेपाली कांग्रेसको भूमिका कस्तो हुनुपर्ने हो ? प्रश्न सधैं निरुत्तर रहन गरेको छ । स्थानीय तहबाट यस्तो अपेक्षा राख्नु सम्भवतः शोभनीय नहोला । त्यस्तै देखियो पनि । प्रजातान्त्रिक मान्यता र मूल्यको मूलस्रोत इतिहास हो । मुलुकको प्रगति, आममानिसको बेहत्तर जीवनस्तरका लागि इतिहासबाट सिक्दा ऊर्जा प्राप्त हुन् सक्थ्यो । इन्धनको काम गर्न सक्थ्यो । इतिहासको बेवास्ताले समाज गतिहीन बनाएका दृष्टान्त छन् । इतिहासको क्रमलाई जीवन्त राख्नसक्ने शक्ति प्रजातान्त्रिक संस्थामा मात्रै जीवन्त रहन सक्छ । नेपालको सन्दर्भमा त्यो शक्ति भनेकै नेपाली कांग्रेस हो । नेपाली कांग्रेस मूलप्रबाहबाट च्यूत गराइँदा/हुँदा इतिहास र परम्पराको जीवन्त शृंखला अवरुद्ध भएको इतिहास साक्षी छ । यस्तो स्पन्दनहीन इतिहासको प्राण बचाउँन नेपाली कांग्रेसले अतुलनीय कुर्वानी गर्नुपरेको छ । 

यो शताब्दीकै इतिहास केलाउने हो भने पनि प्रजातन्त्रको यो ढुकढुकी बचाउने अभिभारा समयले पटक-पटक नेपाली कांग्रेसलाई सुम्पेको छ । यो जटिल तर औधि महत्वपूर्ण जिम्मेवारी बहन गर्दा जब-जब नेपाली कांग्रेस एकताबद्ध छ, त्यसले सार्थक परिणति हासिल गरेकै छ । इतिहासको मर्मप्रति जिम्मेवार तह अनुत्तरदायी देखिएको समयमा चौधौं अधिवेशन हुन गइरहेको छ । जनतन्त्रको मुहान मानिने वडा गाउँ, नगर, महानगर अधिवेशनबाट जनमानस र आम कांग्रेसजनमा नयाँ ऊर्जा थप्नुपर्ने हो, समाजलाई जुरुक उठाउन सक्ने सन्देश प्रवाहित हुनुपर्ने हो । व्यवहारमा त्यस्तो पाइएको छैन । स्थानीयस्तरमा यी अधिवेशनको नतिजाले कांग्रेसभित्र देखिएको विवाद झनै गहिरिने हो कि भन्ने पाका कांग्रेसमनहरू सशंकित देखिन्छन् ।

क्रान्तिकारी गौरवगाथा र क्रान्ति पुरुषहरूको सम्झनाले मात्र समाजका अंग–प्रत्यंगलाई चलायमान गराउँन सक्दैन । खोपामा थन्काइएको नेपाली कांग्रेसको नीति, कार्यक्रम र घोषणापत्रमा गरिएको संकल्प अधिवेशनको बेलामा फुकाएर कुनै अर्थ दिन सक्दैन । क्रियाशील सदृश्यहरूलाई नेपाली कांग्रेसको शिक्षा–दिक्षाबाट अलग्याएर आफ्नो संकीर्ण स्वार्थ पूर्तिका लागि प्रारम्भमै प्रयोग गर्न खोजिँदा पार्टीको आन्तरिक द्वन्द्व नराम्ररी छताछुल्ल भयो । 

यथार्थतालाई बेवास्ता गर्दा विवादले राष्ट्र नै गिजोलिन पुग्यो । वाचाल कांग्रेसीमनहरू लज्जाबोधले पनि-पनि भएका छन् । जब-जब अधिवेशन आउँछ क्रियाशील सदस्यको पोको फुकाउँछ । जिम्मेवारी तह पद-प्रतिष्ठा र सत्तामा निर्लिप्त प्रतीत हुन्छ । राष्ट्रप्रति चिन्तित प्रजतान्त्रवादीले कतै आँखा चिम्लेर विष सेवन गर्ने स्थिति त सिर्जना हुँदै छैन ? पटक-पटक तिथि-मिति तोकेर स्थगित गरिएका क्षेत्रीय, जिल्लास्तरीय, प्रादेशिक तथा केन्द्रीय अधिवेशन यथा समयमा सम्पन्न गराउन नसक्नु कसको कमजोरी हो ? प्रजातन्त्रको माला जपेर आफ्नै पार्टीभित्रको वैधानिकता थाम्न मुस्किल भएको नेपाली कांग्रेसले मुलुकमा प्रजातन्त्र बचाउन सक्ला ? स्थानीयस्तरका अधिवेशनमा पद पाउन नसकेका कंग्रेसजन यत्रतत्र उद्वेलित देखिएका छन् । यो गम्भीर विषय हो । निर्वाचनमा हुने गरेका अन्तरघाती गतिविधि यस्तै प्रवृत्तिका उपज हुन् ।

नेपाली कांग्रेस पार्टीप्रति आममानिसको अपरिमित विश्वास र भरोसा छ । कांग्रेसरहितको राज्ययन्त्र निरर्थक देखिँदा नयाँ पुस्ता कांग्रेस हाक्न जुर्मुरिएको छ । यो उज्ज्वल भविष्यको परिचायक पनि हो । स्वयं बीपी भन्ने गर्नुहुन्थ्यो, ‘तरुण सुत्दा, राष्ट्र सुत्छ । तरुण उठ्दा, तरुणको जोसिलो, कहिल्यै नथाक्ने स्वरले राष्ट्र जुरुक्क उठ्छ ।’ अहिले तरुण उठेको परिस्थिति छ । त्यसको संयोजन पार्टीले गर्न सक्नुपर्छ । त्यसो हुन नसक्दा तन्नेरी जोसले होस् गुमाउन बेर लाग्दैन । त्यो अनियन्त्रित स्थिति विष्फोटक पनि हुनसक्छ । 

पहिलो पल्ट पार्टी कार्यक्रममा सहभागी हुने तरुणहरू मनोकांक्षा पूरा नहुँदा तत्क्षण क्रियाशील सदस्यता च्यातिदिने/अर्को पार्टीमा ज्वाइन गर्ने चुनौती स्थानीय अधिवेशनले व्यहोर्नु परेको छ । अस्वाभाविक लाग्ने यस्ता प्रवृत्ति नितान्त आन्तरिक गुटबन्दीका परिणाम हुन् । स्वस्थ्य प्रतिस्पर्धालाई गुटउपगुटले आत्मसात गरेको देखिएन । राम्रो, काबिल होइन आफ्नो मान्छे रोज्ने खोक्रो गुटबन्दीले पार्टी संरचना ग्रस्त छ । यसप्रति कोही संवेदनशील भएको देखिएन । नेपाली कांग्रेसलाई जीवन्त पार्टी बनाउन जिल्ला, प्रदेश र केन्द्रीय तहका अधिवेशनहरू सफल हुन सकेमा मात्रै पार्टीले गति लिन सक्छ, प्रजातन्त्र बच्न सक्छ, रष्ट्रिय अस्मिता अक्षुण्ण रहन सक्छ ।

Top