दोहोरी च्याम्पियन : केही अपेक्षा

✍️ शान्तिकृष्ण अधिकारी   POSTED ON : कार्तिक ४, २०७८ (६:५९ AM)

दोहोरी च्याम्पियन : केही अपेक्षा

‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ मूल नारा दिएर अहिले नेपाल टेलिभिजनमा दोहोरी च्याम्पियन प्रतिस्पर्धा चलिरहेको छ । सेमी फाइनलसम्मका प्रतियोगिताहरू सकिएर अब केही दिनमै फाइनल प्रतिस्पर्धा हुने तयारीमा छ । कुनै समूह सेमी फाइनलमा आउनै पर्ने खालका देखिए भने कुनै समूह जबर्जस्ती ल्याइएको हो कि भन्ने पनि अनुभव गरियो । यद्यपि पैँतीस लाख रुपैयाँको पुरस्कार राशी राखेर नेपाली मौलिक गीति परम्पराको संरक्षणमा जुटेको पहिलो प्रयास प्रशंसनीय छ । यो प्रतिस्पर्धा आयोजना गर्न जुटेका सबै संस्था र महानुभावहरू धन्यवादका पात्र छन् तथापि प्रतियोगिता आरम्भ भएसँगै सच्याउन सकिने कतिपय विषय र सन्दर्भमा ध्यान नपुगेको हो कि भन्ने चर्चा सुन्नमा आए ।

जतिसुकै प्रयत्न गरे पनि कमजोरी रही नै हाल्छ । मानवीय कमजोरीलाई त कसै गरे पनि निमिट्यान्नै पार्न सकिँदैन । नेपाल जस्तो प्रविधिको क्षेत्रमा वामे सर्दै गरेको मुलुकमा यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दा प्राविधिक त्रुटि हुनलाई सामान्य मान्नुपर्दछ तर पनि नेपालमा आयोजना गरिएका अन्य प्रतियोगितामा भन्दा दोहोरी च्याम्पियनमा आलोचनाका कम विषय भेटिनु लोक संस्कृतिको संरक्षण, सम्बद्र्धनमा लागेकाहरूका निमित्त र यसमा रुचि राख्नेका लागि निकै खुशीको विषय बनेको छ ।

नेपाल र नेपाली भन्ने पहिचान मास्नु छ भने सबैभन्दा पहिला नेपाली भाषा, त्यसपछि संस्कृति अनि परम्परालाई ध्वस्त बनाउने हो भने अरू केही गर्नुपर्दैन । नेपालमा त्यस्तै हुँदै गइरहेको थियो । हाम्रा मौलिक गाना–बजानाहरू त लोप हुने अवस्थामा पुगिसकेका थिए । काठमाडौं, पोखरा जस्ता केही शहरहरूमा खुलेका दोहोरी रेष्टुरेण्टहरूले हाम्रो संस्कृतिको एउटा पाटो लोक दोहोरीमा प्राणवायु भर्दै गरेका बेलामा दोहोरी च्याम्पियनले केही आशा जगाउन सफल भएको छ । यो पहिलो चरणको प्रतियोगिता समाप्तिको लगत्तै दोस्रो चरणको कार्यक्रम प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिभिजनबाट प्रस्तुत भइरहेको यो कार्यक्रमको लोकप्रियता जतिपछि गयो उति बढ्दै गएको पाइयो । शनिबारका दिनमा कहिले रातिको ८ः५० बज्छ भनेर घडी हेर्दै कार्यक्रमलाई पर्खिने लोकसंगीतका पारखीहरू प्रशस्तै पाइए । बद्री पंगेनी र प्रीति आलेको उत्कृष्ट उद्घोषणले प्रतियोगितालाई बढी रोचक बनाउन महत्वपूर्ण भूमिका खेल्यो । निर्णायकहरूमा पनि लोक दोहोरीको ज्ञान भरिपूर्ण नै देखियो तर विजयी चयन हुने प्रक्रियामा भने केही खल्लो महसुस हुन पुग्यो ।

निश्चय नै श्रोताले अत्यधिक मन पराएको व्यक्ति उत्कृष्ट गायक ठहरिनुपर्दछ । लोकतन्त्रमा जनता नै महाप्रभु हुन् । अन्तिम निर्णयकर्ता हुन् । यसै आधारमा निर्णायकले प्रतियोगीलाई दिएको नम्बरलाई केही भार दिइएको भए तापनि प्रतियोगीहरूले मोबाइल मेसेज र नेपाल टेलिभिजनको एपमार्फत दिएको मतलाई अधिक भार दिइएको छ । एकजना व्यक्तिले कुनै समूहलाई जतिपटक पनि मत दिनसक्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले उत्कृष्ट प्रतियोगीलाई उपयुक्त न्याय हुन सकेको भने देखिएन ।

यसमा त के देखियो भने दोहोरी उत्कृष्ट तबरले गाउनुभन्दा जुन समूहका गायक गायिकाका नातेदार बढी छन्, साथी धेरै छन् उनले बढी मत पाउने भए । मोबाइल मेसेजमा जसले बढी खर्च गर्न सक्दछ, उसको मत बढी हुनेमा कुनै शंका गर्नै परेन । प्रतियोगितामा राम्रोसँग गाउनुभन्दा पनि मत संकलनमै प्रतियोगीले बढी मिहिनेत गरे पुग्ने देखियो । एकजना भोटरले एक भोटमात्र हाल्न मिल्ने व्यवस्था गरिएको भएमात्रै पनि केही हदसम्म सही न्याय भएको ठहथ्र्यो कि ?

अर्कोतर्फ उत्कृष्ट गायक र गायिका समूहमा चयन हुने व्यवस्था गरिएको छ । कथंकदाचित् गाउने क्रममा केटा साथीले बिगा¥यो भने आफू अब्बल हुँदाहुँदै पनि केटी साथीले जित्ने मौका गुमाउनुपरेको पाइयो । ठीक त्यस्तै केटी साथीले बिगार्दा राम्रो गाएका केटा पछाडि पर्नुपर्ने अवस्थाहरू आए । यसलाई केटाको मूल्यांकन बेग्लै र केटीको मूल्यांकन बेग्लै गर्ने व्यवस्था गरिएको भए अन्तिममा गएर सर्वोत्कृष्टहरूका बीचमा प्रतिस्पर्धा हुन्थ्यो कि ?

लोक दोहोरीका गायक गायिकाहरूमा कवित्वशक्ति हुन्छ । यिनीहरू कविमात्रै होइनन्, आशुकवि नै हुन् । प्रतिद्वन्द्वीले राखेको प्रश्नको उत्तर एक मिनेटभित्रमै तयार गरी गीतीभावमै जवाफ फर्काउने प्रतियोगिता हो यो । रातभरि सोचेर भोलिपल्ट जवाफ दिने या अरूले लेखेको गीत गाएर प्रथम, द्वितीय हुने प्रतियोगिता यो होइन । स्वरमात्रै भएर, लयमात्रै गाएर या तालमा मात्रै बोलेर दोहोरी गायक या गायिका बन्न सकिँदैन । भित्रैबाट कविताका भावमा विचार उत्पन्न हुन सक्नुपर्दछ ।

मनमा उब्जेको विचार प्रस्तुत गरेरमात्रै पुग्दैन, प्रतिद्वन्द्वीलाई पेलेर दिइने जवाफको आवश्यकता पर्दछ । पहिलो पटकको यो ठूलो प्रतियोगितामा जे जति कमजोरी भए पनि नेपालका गनिएका दोहोरीका हस्तीहरूलाई प्रस्तुत गरियो । उनीहरूलाई चिनिने मौका प्रतियोगिताले दियो ।

प्रतियोगिताका अहिलेसम्मको संरचना हेर्दा एकजना केटा र एकजना केटी प्रथम हुने र त्यसैगरी एकजना केटा र एकजना केटी द्वितीय हुने देखिन्छ । प्रथम हुने केटाभन्दा द्वितीय हुने केटी या प्रथम हुने केटाभन्दा द्वितीय हुने केटी अब्बल हुने सम्भावनालाई प्रतियोगिताले नजरअन्दाज गरेको पाइयो । फाइनल खेलअघि सुधार गरेर प्रथम र द्वितीय स्थान दुवैमा केटी–केटी या केटा–केटा हुनसक्ने व्यवस्था मिलाउन सके सुनमा सुगन्ध हुने थियो । साथै भोटिङ प्याटर्नमा पनि परिवर्तन गर्न सके हुन्थ्यो भन्ने धेरैलाई लागेको छ ।

दोहोरीलाई अश्लील गीतहरूको पोको भन्नेहरूलाई दोहोरी च्याम्पियनले गतिलो जवाफ फर्काएको छ । दोहोरी गायक गायिकालाई कमजोर ठान्नेहरूलाई प्रतिस्पर्धीले चुनौती दिएका छन् । हाम्रा गीतसंगीतभन्दा पाश्चात्य गीतसंगीतमा आकर्षण देख्ने र सुमधुर ठान्नेहरूलाई यो प्रतियोगिताले वास्तविकता देखाइदिएको छ । हाम्रै धर्म, संस्कृति र परम्पराहरूमा आधारित कार्यक्रम नेपालका टेलिभिजन च्यानलहरूले पस्कन सके भने च्यानलको लोकप्रियताका लागि अरू कुनै संघर्ष गर्नु पर्दैन भन्ने उदाहरण पनि दोहोरी च्याम्पियन प्रतियोगिताले प्रमाणित गर्न सफल भएको छ ।

अझै चुनौती भने छ लोक दोहोरीलाई । युट्युबमा छ्याल्ब्याल भेटिने अश्लील गीतहरूले दोहोरी गीतको मर्म र सारलाई नै गलत बनाइरहेका छन् । भ्यु बढाएर छिटोछिटो पैसा कमाउनेमात्र लक्ष्य राखेका यस्ता गायकहरूले नेपालीहरूको मौलिक परम्परामाथि नै आघात पुर्‍याइरहेका छन् । यस्ता विकृतिलाई रोक्न सफल हुन सकेमा हराउन लागिसकेको हाम्रो दोहोरीको परम्परामा पुनः जागरण आउने थियो ।

दोहोरी गायक बन्नु चानचुने कुरा होइन । विपक्षीले हलो जुवाका कुरा गर्दा म त शहरिया बुझिन भन्न पाइँदैन । प्रतिद्वन्द्वीले रूसको कुरा गर्छ कि अमेरिकाको, त्यो त थाहा छैन भन्न पाइँदैन । कुनै कुरामा अल्मलियो भने हार भइहाल्यो । हेर्दा सामान्य देखिए पनि लोक दोहोरीका गायक गायिका ज्ञानको खानी नै हुन् । कसैलाई दोहोरी गायक हुन रहर छ भने ऊ पनि अधिकांश विषयको जानकार हुनै पर्दछ । यस्तै प्रतिभालाई नेपाली जनतामाझ परिचित गराउने यो दोहोरी च्याम्पियन प्रतियोगितामा जे जति कमजोरी भए पनि यसको प्रशंसा गर्नै पर्दछ ।

निर्णायकहरूका बोलीलाई लिएर पनि केही आलोचना भए । निर्णायकहरूले त्यसलाई स्वीकार गरेर सच्याएको पनि देखिन्छ । यद्यपि भारतीय च्यानलहरूमा थुप्रै रियालिटी शो हेरेका दर्शकहरूले निर्णायकको त्यस्तै प्रस्तुतिको अपेक्षा गरेका थिए, त्यो भने पूरा हुनसकेको छैन । निर्णायकहरू दोहोरीका माहिर खेलाडीहरू भए पनि अझ बढी निखार खोजेको छन् । हेर्दै जाऔँ, भविष्यमा पूरा होला ।

Top