मार्गकृष्ण उत्पत्तिका एकादशीको महत्व

✍️ तोयराज नेपाल   POSTED ON : मंसिर १४, २०७८ (७:४६ AM)

मार्गकृष्ण उत्पत्तिका एकादशीको महत्व

अघि सत्य युगमा मुर नामगरेको अत्यन्त डरलाग्दो दैत्य थियो । जसले स्वर्ग, मत्र्य र पाताल तीनै लेकलाई आफ्ना वशमा गरेर इन्द्रादि देवतालाई स्वर्गबाट निकालेर चन्द्रावती (इनद्रावती) नगरमा बसेर आफैं राज्य चलाउन लाग्यो । देवताहरू डरले भयभीत भएर पृथिवीमा घुम्न लागे । यो कुरा इन्द्रले शिवजीलाई भने । शिवले भन्नुभयो, हे इन्द्र तिमीहरू भगवान् नारायणका शरणमा गएर यो कुरा बिन्ती गर, उहाँले नै यसको विनाशको उपाय गर्नुहुन्छ । शिवका कुरा सुनेपछि इन्द्रादि देवता विष्णुका शरणमा गएर उहाँको प्रार्थना गरी मुरको उपद्रवको वर्णन गरे । 

विष्णु पनि सम्पूर्ण देवताहरूका सथमा चन्द्रावती (इन्द्रावती) नगरमा जानुभयो । देवताहरूलाई देख्नासाथ आफ्ना सेनासहित भएर देवताहरूसँग घोरघमासान युद्ध गर्न थाल्यो । सारा देवताहरू डरले भागे । भगवान् नारायणलाई देखेर दैत्यले ए पर्खी पर्खी भनेर लकार्याे । विष्णुले पनि सुदर्शन चक्रको प्रहारले मुरका सबै सेनाहरू ध्वस्त पार्नुभयो । मुर एक्लै देवताकासाथमा युद्ध गर्न लाग्यो र युद्ध गर्दागर्दै सम्पूर्ण देवताहरूलाई पराजित गरायो । अनि विष्णुका साथमा बाहुयुद्ध गरेर विष्णुलाई समेत जित्यो । त्यसपछि विष्णु बदरिकाश्रममा सिंहवती नामका गुफामा गएर सुत्नुभयो । त्यो दैत्य भगवानका पछिपछि लागेर त्यसै गुफामा पस्यो र आज तँलाई नमारी छोड्दिन, भन्दै जाइलाग्यो ।

त्यस दैत्यले त्यसो भन्दाभन्दै भगवानका शरीरबाट उत्पन्न भएको तेजद्वारा एउटी अत्यन्त सुन्दरी र अत्यन्त तेजिली कन्या उत्पत्ति भइन् । ती कन्याका रूप लावण्यद्वारा त्यो मुरदैत्य मोहित भयो । ती कन्या युद्धकलामा अत्यन्त कुशल थिइन्, त्यसैले मुरकासाथमा युद्ध गर्न लागिन् । युद्ध गर्दा गर्दै ती कन्याले मुरदैत्यलाई युद्धभूमिमा पछारेर मरिन् । अनि सुतेका विष्णु बिउँझिनुभयो र दैत्यको लास देखेर आश्चर्यचकित हुनुभयो र अहो ! यस्तो भयंगर दुष्ट मेरो शत्रु दैत्यलाई कसले मा¥यो ? यो दैत्य समान ता यस पृथिवीमा देवता, गन्धर्व, यक्ष कोही पनि छैनन्, भन्नुभयो । यसरी विष्णुले भन्दै गर्दा दिव्य शरीर धारण गरेकी विष्णुका तेजबाट उत्पन्न भएकी ती कन्याले भनिन्-यस भयंकर र दुष्ट दैत्यलाई मैले मारेकी हुँ, किन कि यस दुष्टले सम्पूर्ण देवताहरूलाई पीडित गराएर स्वर्गलोकबाट निकालेर आफैं राज्यासनमा बसेको थियो । त्यसो भन्ने ती विष्णुको तेजबाट उत्पत्ति भएकी दिव्य शरीरवाली कन्या एकादशी थिइन् । विष्णुका तेजबाट उत्पत्ति भएकी हुँदा तिनका नाम उत्पत्तिका रहेको हो । ती एकादशीका कुरा सुनेर भगवान् विष्णुले भन्नुभयो, हे कल्याणी तिमीले मप्रति बडो कृपा गरी त्यस दुष्ट दैत्यलाई मारेर ठूलो उपकार गर्यौ । किन कि त्यस दुष्टले ता देवतासहित मलाई पनि जितेर देवताको कुभलो गरेको थियो। विष्णुका वचन सुनेर एकादशीले भनिन् हे भगवान् सम्पूर्ण शत्रुको विनाश गर्ने स्वभाव भएकी म एकादशी हुँ । देवतालाई त्रास दिने उग्रस्वभावको त्यस दैत्यलाई देवताहरूका हितकानिम्ति मैले मारेकी हुँ । एकादशीका वचन सुनेर भगवानले भन्नुभयो, हे कन्ये तिम्रो कल्याण होस्, दुष्ट दैत्यलाई मारेको हुँदा देवताहरू तिमीसँग सन्तुष्ट भएकाछन्, तीनै लोकमा आनन्द भएको छ । ऋषिमुनिहरू पनि प्रसन्न एवं आनन्दित भएका छन् । त्यसकारण हे एकादशी तिमी के वर माग्दछ्यौ माग, म दुर्लभ वर पनि दिन्छु । अनि कन्याले भनिन्, हे भगवान् यदि हजुरले मलाई वरदान दिने भए 

१, स्वर्ग मत्र्य र पातालमा म हजुरकी प्यारी हुन पाऊँ,

२, सम्पूर्ण तिथिहरूमा प्रधान अर्थात् मुख्यतिथि हुन पाऊँ, र 

३, सम्पूर्ण विघ्नको विनाश गर्नसक्ने,सम्पूर्ण पाको नाश गर्नसक्ने, आयु बढाउन सक्ने र बलको वृद्धि गर्नसक्ने पनि हुन पाऊँ, जसले मेरो अर्थात् एकादशीको भक्तिपूर्वक उपवास बसेर व्रत लिन्छन् तिनीहरूका सम्पूर्ण कामनाहरू सिद्धि हऊन्, मनोरथ पूर्ण हऊन् भनेर वरदान मागिन् । त्यसपछि भगवान्ले भन्नुभयो हे कल्याणी तिमीले मागेका सबै वर म दिन्छु । जसले धर्म, अर्थ काम र मोक्ष प्राप्तिका लागि तिम्रो उपासना गर्दछन् अर्थात् उपवासपूर्वक एकादशीको व्रत लिन्छन्, तिनका सबै कामना पूर्ण हुन्छन्, तिनले चिताएको पूरा हुन्छ । यस लोकमा जो जो मेरा भक्त छन् ती तिम्रा पनि भक्त हुनेछन् । मेरा प्रसादले गर्दा तिमी सबै तिथिमा सर्वाेत्तम हुनेछ्यौ ।

अघि कीकटदेशमा कर्णसेन नाम गरेका राजा थिए । उनी सम्पूर्ण प्रजाहरूलाई पुत्रवत् गरेर पालन गर्दथे । सबैजना सुखी थिए, तर सुदामा नाम गरेका एकजना ब्राहृमण ज्यादै गरिब थिए । परिवार पालन पनि उनलाई मुस्किल थियो । उनकी पत्नी अत्यन्त पतिव्रता थिइन् । एकदिन पत्नीले एकान्तमा पतिलाई भनिन्- हे स्वामी पूर्वजन्ममा पाप गर्ने मानिस धर्म हीन हुन्छ, जब धर्महीन हुन्छ, उसलाई धन प्राप्ति हुँदैन । धन नभएपछि धर्मकर्हरू हुन सक्तैनन् । त्यसकारण कुनै पनि उपायले धर्म प्राप्ति गर्नु पर्‍यो, धर्मबाट धन हुन्छ, धनबाट सत्कर्म गर्न सकिन्छ, सत्कर्मबाट धन, धनबाट सुख प्राप्त हुन्छ । त्यसकारण धर्म कमाउनु पर्‍यो भनिन् । यसो भन्दाभन्दै नारदऋषि आइपुग्नुभयो । उहाँको स्वागतसत्कार गरे सुदामाले भने- हे ऋषिवर यस राज्यमा सबै मानिसहरू धनीमानी छन्, तर हामी भने अत्यन्त गरिब छौं । कसरी धन प्राप्त गर्न सकिन्छ उपाय बताइदिनुहोस् भनेपछि सुदामा ब्रहृमणका वचन सुनेर नारदजी भन्नुभयो- हे ब्राहृमणदेव ! मार्गकृष्ण एकादशी जसलाई उत्पत्तिका एकादशी भनिन्छ , त्यस एकादशीको श्रद्धा एवं भहक्तिभावले युक्त भएर उपवासपूर्वक व्रत गर्नाले मानिसका सम्पूर्ण पाप नाश भई तत्काल धनाढ्य भई यसलोकमा सुख आनन्द भोग गरी परलोका मोक्षप्राप्तिसमेत हुन्छ । त्यस कारण तपाइँहरू पनि यस एकादशीको व्रत गर्नुहोस्, अवश्य धनलाभ भई धार्मिक वृत्ति जाग्नेछ र परलोकमा मोक्षसमेत प्राप्त हुन्छ, भनेर नारदी जानुभयो । नारदजीका उपदेशबाट सुदामाका दम्पतीले पनि मार्गकृष्ण एकादशीको श्रद्धा एवं भक्तिसाथ उपवास बसेर व्रत गरे । त्यसव्रतका प्रभावले उनीहरूलाई धन प्राप्तिभयो । धन प्राप्ति हुँदै गएपछि क्रमशः धर्मकर्हरू पनि हुँदै गए । धर्मकर्म हुँदै गएपछि यस लोकमा आनन्दपूर्वक जीवन व्यतीत गरेर परलोकमा मोक्षसमेत प्राप्त गर्न सफल भए । त्यसकारण हामी पनि उत्पत्तिका एकादशीको श्रद्धाएवं भक्तिभावले उपवासपूर्वक व्रत गरौं । हाम्रा सम्पूर्ण मनोरथहरू पूर्ण भई परलोकमा मोक्षसमेत प्राप्त हुनेछ । ॐ हरये नमः।

Top