पार्टीहरू नेताहरूका पेवा हुन् कि आम नेपालीका भरोसाका केन्द्र ?

✍️ प्रा. देवीभक्त ढकाल   POSTED ON : मंसिर १४, २०७८ (८:२३ AM)

पार्टीहरू नेताहरूका पेवा हुन् कि आम नेपालीका भरोसाका केन्द्र ?

अहिले सबै पार्टीहरूलाई निर्वाचन आयोगको विधि र विधानका कारण महाधिवेशन गर्न बाध्य बनाएकाले पार्टीहरू महाधिवेशनमा होमिएका छन् । नेतृत्वमा हुनेहरू महाधिवेशनलाई अवसर होइन कहरको रूपमा स्वीकार्छन् । सबै पार्टीहरूको नेतृत्वले कसरी हुन्छ अवधि लम्ब्याउने र पदमा टाँसिने मनसायले महाधिवेशनलाई आलटाल गर्ने प्रवृति छ । प्रजातान्त्रिक पद्धतिमा नवप्रवेशी पार्टीहरू तीन-चार दशकसम्म महाधिवेशन नगर्ने, भइहाले नेतृत्व पूर्ववत् रहने षड्यन्त्रका साथ महाधिवेशन गर्छन् । महाधिवेशनलाई कसरी कर्मकाण्डी बनाउने भन्ने चिन्तन, कार्यशैली नेतृत्वको साझा रोग हो ।

सबै नेताहरू भाषणमा अब्बल लोकतन्त्रवादी हुन्छन् तर नेतृत्वमा रहने नेताहरू व्यवहारमा लोकतन्त्रवादी छैनन् । विशेषतः सरकारको नेतृत्वमा रहँदा कुनै पनि पार्टीका नेतामा लोकतान्त्रिक चरित्र, कार्यशैली र जीवनशैली देखिएन । लोकतन्त्रको नाममा देशमा नेतातन्त्र स्थापना गरे । तसर्थ नेताको मात्र कल्याण भयो । अलोकतान्त्रिक चरित्रबाट 

लोकतान्त्रिक नेतृत्वको अपेक्षा हाम्रो दुर्भाग्य हो । लोकतान्त्रिक पद्धति भन्ने तर अलोकतान्त्रिक नेतृत्वको सिकार देश र जनता कति हुने ? तत्कालै स्वच्छ नयाँ नेतृत्वको आगमन सम्भव देखिँदैन । निर्वाचनमा प्रतिस्पर्धा गर्न टाउके नेताहरूको आशिर्वाद चाहिन्छ । नेतालाई गुटगत र आर्थिक रूपमा रिझाउन सक्नेलेमात्र आशिर्वाद पाउँछ । व्यक्तिको योग्यता, निष्ठा र आचरण, गुट र कोसेलीको अगाडि सधैं पराजित हुन्छ । नेताको ताबेदारी नै राजनीति राजनीति र जनताबीच सम्बन्ध टाढियो । अब निष्ठा र सदाचारको राजनीतिको के हविगत होला ? असल मानिसको गुट हुँदैन । गुट विना निर्वाचन जित्नै दिइँदैन । गुटले सबै पार्टीमा फुटको बिउ रोपिएको छ ।

अहिले सबै पार्टीका नेताहरू निर्वाचन जितेको क्षेत्रलाई आफ्नो विर्ता र मतदातालाई रैती सम्झन्छन् । राणाशासनमा नेपाली जनता रैती थिए । २००७ सालको आन्दोलनले जनता बने । अहिलेको नयाँ नेपाल बनाउने आन्दोलनले फेरि रैती बनायो । के यो उपलब्धि हो ? हिजो बंशानुगत तानाशाहको रैती भएका जनता अहिले निर्वाचित तानाशाहहरूका रैती भएका छन् । यसलाई उपलब्धि त्यसले मात्रै भन्छ जसले शासकीय अधिकार दुरुपयोगको लाइसेन्स पाएको छ । 

अझैसम्म आमजनता विकासको पहुँचमै छैनन् । नेताहरूको आर्थिक विकासलाई नै विकास मान्दा विकास भएको होला । विकास जनतासम्म पुगेकै छैन । नेताको घरघरमा जाने बाटोको छेउमा घर हुनेहरूले बाटोबाट लाभ लिएजस्तो विकासलाई जनताले विकासको अनुभव गर्ने ? विकासको फराकिलो दृष्टिकोण भएको व्यक्ति कुनै पार्टीमा देखिएन । नेतृत्वमा रहने सबै पार्टीका नेताहरू आफ्नो र आफ्नाको हित र विकासका लागि सफल छन् । आमजनताको र देशको विकासका लागि पूर्णतः असफल भए ।

पार्टीहरूको वर्तमान महाधिवेशनबाट तिनै असफलहरू नै नेतृत्वमा फर्के भने राज्य असफल हुने पक्का छ । समय, शासनको ढाँचा, पद्धति फेरियो तर त्यसलाई हाक्ने नेता फेरिएन । प्रधानमन्त्रीको पद एउटामात्र हुन्छ । पद लोलुपताले राजनीतिमा सधैं अस्थिरता संरक्षित छ । स्थिरताको नारा दिनेहरू व्यवहारमा पदका लागि अस्थिरताको खेती गर्छन् । आफ्नो पार्टीको प्रधानमन्त्रीलाई आफ्नै पार्टीको नेताले सुशासनको सवालमा असहयोग गर्ने चरित्र जगजाहेर छ । नेताहरू सुशासनको होइन कुशासनका लागि दबाब दिन्छन् । प्रधानमन्त्रीलाई कुशासनका लागि खबरदारी गर्नुपर्ने जिम्मेवार नेताहरू नै कुशासनका लागि बाध्य बनाउँछन् । सुशासन जनताको आवश्यकता र चाहना हो भने कुशासन नेताहरूको ।

नेतृत्वदायी चरित्र नहुनेहरूलाई नेता मान्ने हाम्रो कमजोरीको उपचारविना देशमा न लोकतन्त्र सुरक्षित हुन्छ न सुशासनको सपना साकार हुन्छ । प्रधानमन्त्री स्वयंमा र उनीहरूकै पार्टीका नेताहरूमा भएको कुशासनको भूतका कारण सबै प्रधानमन्त्रीहरू असफल भए । सुशासनको शक्ति र दृष्टिकोण नै नहुनेबाट सुशासन सम्भव छैन भन्ने निष्कर्षमा पुग्न नेताहरूको कार्यशैली र क्रियाकलापले पुष्टि गर्‍यो । 

सुशासनको पूर्वशर्त हो नेतृत्वमा चारित्रिक शुद्धता, इच्छाशक्ति, स्वच्छता, इमानदारी, पारदर्शिता, निष्पक्षता, तटस्थता र विभेदशून्यता । नेतृत्वमायी वस्तुहरूको नितान्त खडेरी हाम्रो शासकीय समस्या हो । देशका लागि चरित्र नभएको नेतृत्व, शरीरका लागि विषादीयुक्त भोजन जस्तै हो । विषादी भोजनको प्रभावबाट शरीर आक्रान्त भए जस्तै आज कुशासनले देश आक्रान्त छ ।

पार्टी पद्धतिमा उपचारको विधि भनेको पार्टीको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने हो । तर कुनै पार्टीमा नेतृत्व परिवर्तनको अवस्था छैन । जुन पार्टी सत्तामा गए पनि जनताको भागमा कुशासनबाहेक सुशासन हात लाग्ने अवस्था देखिँदैन । पार्टीहरूको लिखित सिद्धान्त प्रजातान्त्रिक हुन्छ । नेताहरूको व्यवहार र कार्यशैली भने घोर अप्रजातान्त्रिक छ । यस्तो अवस्थालाई बुझपचाउने र कुशासनबाट लाभ लिने तत्वको समर्थनमा सबै पार्टीका नेताहरू टिकेका छन् । उनीहरूको स्वार्थमा केही कार्यकर्ता बिकेका छन् । यो परिस्थितिलाई चिर्ने सशक्त परिवर्तन विना लोकतान्त्रिक शासन सम्भव छैन ।

पार्टीका नेताहरूले जनताको निर्धनतालाई हटाउने निहुँमा आफ्नो र आफ्नाको निर्धनतालाई हटाएका कारण नेपलमा लोकतान्त्रिक शासनको खिल्ली उडेको छ । नेताहरू आर्थिक रूपमा बदनाम छन् । कार्यकर्ताले नेताहरूलाई लोकतान्त्रिक बन्न दबाब दिन सकेनन् बरु उल्टै आफ्नो स्वार्थ पूरा गर्न नेताहरूलाई प्रयोग गरे । नेतृत्व र कार्यकर्ताको स्वार्थको सिकार देश र जनता कति समयसम्म हुने ? नेता र कार्यकर्तासमेतको मानसिकतामा आमूल परिवर्तन विना लोकतान्त्रिक शासनको कल्पना व्यर्थ हुन्छ ।

पार्टीहरू सुशासनको पद्धतिमा चल्न पार्टीभित्र लोकतान्त्रिक अभ्यास र आचरण अनिवार्य शर्त हुन् । सबै पार्टीहरूका विधानमा उल्लेखित लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा अनुवाद गर्ने चरित्र पार्टीका नेताहरूमा फिटिक्कै छैन । पार्टीको निर्वाचन पनि स्वच्छ र निष्पक्ष हुँदैन भने राज्य सत्ता कसरी लोकतान्त्रिक हुन्छ ? 

नेताहरू जन धरातलमा भन्दा धन धरातलमा रमेका छन् । पार्टीहरू नीतिप्रधान होइन नेताप्रधान छन् । कार्यकर्ता पनि नीतिमुखीभन्दा नेतामुखी हँुदा हुने लाभबाट आकर्षित भए । कार्यकर्ताले नेताहरूको जयजयकारमै भविष्य सुनिश्चित देखेँ । अहिले सबै पार्टीमा नेताको जयजयकार गर्नेहरूको मात्रै प्रगति भएको छ । त्यसैले प्रगतिका लागि जयजयकारको विकल्प छैन भन्ने सन्देश नै अहिले केही कार्यकर्ताले मूलमन्त्र बनाएका छन् । जसले चाकडी र जयजयकार गर्दैन उसको भविष्य अन्धकार हुन्छ भन्ने विषयले सबै पार्टीहरू प्रदूषित छन् । मुलुक हाक्न सबै तम्सन्छन् तर मुलुकलाई सही दिशा दिने नेतृत्वको भने सधैं अनिकाल छ । 

पार्टीलाई नेताहरूले स्वच्छ, पारदर्शी र जनपक्षीय बनाउन दबाब दिनेहरूलाई पार्टीमा टिक्नै मुस्किल पारे । पार्टीभित्र नैतिकवान, इमानदार व्यक्तिहरू भूमिका शून्य बनाइन्छन् । पार्टीभित्र असल चरित्र र आचरण भएको व्यक्तिलाई पन्छाएर एकलौटी कसरी गर्ने भन्ने दृष्टिकोण सबै पार्टीको नेतृत्व तहमा हावी छ । पार्टीभित्र एकले अर्कोलाई कसरी सिध्याउने भन्ने चिन्तन हुन्छ । देश बनाउने चिन्तन कुनैसँग छैन । आफू सुखी हुन जनता सुखी हुने नारा दिन्छन् । जनतालाई दुःख दिने काम गर्नेहरूको नेतृत्वले जनता आहत छन् । 

पार्टीहरूले प्रशिक्षणलाई श्राद्धमा बिरालो बाँध्ने शैलीमा उपयोग गर्छन् । जनताको अवस्था र पार्टीको सिद्धान्त बारे अध्ययन, चिन्तन, अनुसन्धान गर्ने नेताहरू नै छैनन् । हिजो विद्रोहको योग्यता अहिले सरकार सञ्चालनका लागि पूर्वाधार बन्न सक्दैन । विद्रोह र विनाशको रणनीति बनाउनेहरूसँग सिर्जनात्मक ज्ञान स्वतः प्रकट हुँदैन । विनाशको बुद्धि सरकारको जिम्मेवारी पाउने बित्तिकै सिर्जनात्मक बन्छ भन्ने हाम्रो सोच गलत छ । पार्टीको प्रशिक्षणमा तिनै नेताहरू प्रशिक्षक हुन्छन् जसको अध्ययन नै छैन । त्यस्तो प्रशिक्षण उपलब्धि शून्य हुन्छ । 

कांग्रेस जस्तो लोकतन्त्रको वास्तुकार अर्थात् अग्रणी दल नै सत्तामा हुँदा नेताहरू व्यक्तिगत स्वार्थमा डुबे भने अन्य आफैं चाटुकार शैलीमा विकसित दलहरूबाट जनताले के आश गर्ने ? विकसित नकारात्मक परिस्थिति सिर्जनाका लागि कांग्रेसको नेतृत्व नै प्रमुख जिम्मेवार छ । यो वस्तुस्थितिलाई आत्मसात गर्दै अगाडि बढ्ने नेतृत्वको खाँचो छ ।

सबैदलमा नेतृत्वमा हुनेहरूले पार्टी कब्जा गर्ने रणनीतिको सिकार, विकास र परिवर्तन भएको छ । नेताहरूले आफ्नो उत्तराधिकारीलाई राजनीतिमा स्थापित गर्ने प्रपञ्चबाट निर्वाचित वंशवादको सुरुवातले लोकतान्त्रिक संस्कार, संस्कृति अझ संकटमा पर्ने निश्चित देखिन्छ । २०४६ पछि सधैं शक्तिशाली शेरबहादुर र रामचन्द्रको बीचमा ३२ वर्षपछि नीतिगत होइन गुटगत प्रतिस्पर्धा हो । नीतिगत भिन्नताको प्रतिस्पर्धाविना गुटगत प्रतिस्पर्धा पार्टी कब्जाको नीति हो । गुटले राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्दैन । 

कांग्रेस जस्तो पार्टीको त यस्तो अवस्था छ भने अन्य पार्टीहरूमा नेतृत्वको दबदबा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । सबै पार्टीहरूलाई नेताले भ्रष्टाचारको अखडा बनाए । हिजो राजा पीडित जनता आज नेता पीडित भए । अब जनताले कसको भरोसा गर्ने ? अब पार्टीलाई नेताहरूको विर्ताबाट भरोसाको केन्द्रमा रूपान्तरण गर्ने नयाँ नेतृत्वको खाँचो पूरा गर्न फेरि जनता जुरमुराउनुपर्ने परिस्थिति नेपाली राजनीतिको दुर्भाग्य हो ।

Top