बेथितिको बादशाहीमा नेपाली राजनीति

✍️ प्रकाशमणि दहाल   POSTED ON : मंसिर १६, २०७८ (८:५९ AM)

बेथितिको बादशाहीमा नेपाली राजनीति

‘गुरु, हाम्रो देशमा यो के भइरहेको छ ?’

‘किन ? के भइरहेको छ र ? के भन्न खोजेको बाबुहरूले ?’

‘किन ? के हाम्रो देशको शासन व्यवस्था ठीकसँग चलिरहेको छ र, गुरु ? लथालिंग छैन र ? यस लथालिंगमा चरम जसको शक्ति उसको भक्ति भइरहेको छैन र ?’

‘यो उनीहरूको मोडल हो जो अहिले गरिरहेका छन् । तपाईंको मोडल कस्तो हुनुपर्ने ?’ ‘अक्षरस कानुनको शासन, तदारुक नियमित कार्यशीलता, पूर्ण सम्पन्नता र शान्ति हाम्रो मोडल । अहिले त यो देश मान्छेको जंगलराज भएको छ । ठाउँमा तपाईंका मान्छे छन् वा खल्तीमा धन छ भने तपाईं बलात्कार, हत्या गर्न, कसैको घरखेत लुट्न सक्नुहुन्छ । बजारभाउ, गाडीभाडा, स्कुल, अस्पताल, बिजुली, टेलिफोन शुल्क जति राख्नुस् । ठाउँमा हुनेले एकलाखको निर्माण पचास लाखको बिल पेश गरे हुन्छ । पुलका एक दुईवटा खम्बा उठाएपछि ठेकेदारलाई करोडौं भुक्तानी दिएर त्यत्तिकै छोड्न र इन्जिनियर, मन्त्री भइरहन पाइन्छ । एक तिहाइ जनता विदेशमा चार डी (डर्टी, डिफिकल्ट, डेन्जरस र डिस्ग्रेस्फुल) काम गरेर मर्दैबाँच्तै रहेका छन्, यता आफ्नो देशमा खेत बाँभैm छन्, न उद्योग छ । 

सबै आवश्यकता आयातबाट पूर्ति हुन्छ । भनेर के साध्ये, धेर त यी अखबारी उद्धरणले बक्छन् ः ‘गैरसंवैधानिक शक्तिकेन्द्रको अभ्यास’, ‘प्रहरी नै मुख्यअभियुक्तको संरक्षक’, ‘हाम्रा नेता भने भ्रमजाल ओछ्याएर सत्तासुखका लागि जस्तासुकै हर्कत गर्न पछि पर्दैनन्’, ‘नेपाली केरा बगानमै कुहिन्छ आयात भने करोडौँको’ (कान्तिपुर, कात्तिक २४ गते), ‘अवैध कलेजको प्रमाणपत्रलाई त्रिविको मान्यता’, ‘राजनीति भनेकै शक्तिको अधिनायकवादी र असहिष्णु प्रयोग हो भन्ने बुझ्न थालिएको छ’ (ऐ. मंसिर १३)...।) 

सरकार छैन भनूँ भने सातसातवटा छन्, छ भनूँ भने दिनहूँ सीमा मिचिन्छ, सत्तरी प्रतिशतभन्दा बढी बेरोजगारी छ, पच्चीस प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन् । भारतीयको हजार ज्यादती खपेर बाँच्ने कुल्ली र सिपाही भएको छ नेपालीको जात । अरब र मलेसियाबाट दिनमा दुईचार नेपाली बाकसमा सुतेर आएकै हुन्छन् । नेपालीको कल्पनामा सके ठगाइबाट बच्नु, अझ सके आपैmँ ठग्नु, नसके चाकरी गर्नु, विदेश पलायन हुनु र रातदिन तनावग्रस्त बाँच्नुबाहेक केही रहेन । 

कुनै बेलायती, अमेरिकाली पर्यटक काहीँ मारियो वा दुर्घटना वा अभद्रतामा प¥यो भने उद्धार, जाँच जे गर्नुपर्ने हो तुरुन्त हुन्छ । हामीलाई भने एकलाख भुटाने नेपालीको आँसुले छुँदै छोएन । भारतीय सिपाहीले तुइन काटी काटी खोलामा खसालेर मारेको घटना प्रधानमन्त्री, गृहमन्त्री, पररराष्ट्र मन्त्री वा माननीयका बथानले देखेको नदखेकै पारे । परराष्ट्रमन्त्री लिपुलेकमा जनगणना गर्न भारतलाई सोध्नुपर्छ भन्न किञ्चित् अप्ठ्यारो मान्दैनन् !

नेपालको न्यायव्यवस्था महिनौंदेखि अवरुद्ध भएको त देखिरहनुभएकै छ । के त्यसबाट हाम्रो समग्र राजकीय संरचना केही मदारीको प्रदर्शनस्थलभन्दा फरक रहेनछ भन्ने स्थापित भएन र ? मानौं राज्यका तीनवटै सर्वोच्च निकाय व्यवस्थापिका–कार्यपालिका–न्यायपालिका केवल संसारलाई देखाउने साइनबोर्डमात्र रहेछन् । तिनको असलियत भने आवश्यकतानुसार उर्दीमा हाजिर गराउने, कागजातमा छाप ठोकाउने, निकासा–निर्णय अनुमोदन गराउने र धाकधम्कीसहित सोखसयर गराएर पोसिराख्ने आआफ्ना चेलाचपेटाको भर्तीकेन्द्र मात्र हुन् भन्ने सिद्ध भएन र ? 

के यसबाट हाम्रा जीवनको समग्र संरचना र आस्था प्रणाली नै चरमराएको प्रतिबिम्बित हुँदैन ? यो हाम्रो राज्यप्रणालीमा लगातार थुप्रिँदै आएका विकृतिको विष्फोटबाहेक के हुनसक्छ ? जब वकिल र न्यायाधीश नै इन्साफ माग्दै सडकमा निस्किन्छन् एकातिर भने अर्कातिर त्यस कथित बेइन्साफीको उत्पत्तिमा उनिहरूकै पनि बराबर भागिदारी रहेको हुनुले राज्यका हालतको चरम विकृति देखिँदैन त ?

अझ मजाको कुरा, त्यस हालतलाई जगैदेखि विधिपूर्वक सल्ट्याउनेभन्दा प्रधानन्यायाधीशको राजीनामा गराएर समाधान भएको ठहराउने प्रयत्न भइरहेको छ । तर, त्यसबाट न्यायालयको शुद्धीकरण प्रारम्भ होइन टालटुल र लिपापोतीमात्र हुनेछ भन्ने त जग जाहेरै छ । त्यसैले बरु हरेक स्थितिबाट फाइदा उठाउने आफ्नो बानी को छोड्छ अर्काको बानी को लिन्छ भनेभैmँ नयाँ सेटिङकै तयारी हुँदैछ भनेर किन नभन्ने ? यदि त्यसो भएमा त्यसलाई विकृतिमा अर्को कदम थप्ने र झन् ठूलो विष्फोटनको तयारी भनेर किन नठान्ने ? होइन गुरु, जसरी कोइला जति खुर्किए पनि आउने त कालै न हो ?’ 

‘यी सबै सत्य हुन् हरेक नेपालीले भोगिरहेका । यथार्थको सारै गहिरो र ठोस विश्लेषण गर्नुभएको रहेछ तपाईंहरूले, बाबु । सारै खुशी लाग्यो । हो, तपाईंहरूले भन्नु भएजस्तै अहिले शासन त छ तर यो जनताको हित, समृद्धि, सुख र शान्तिको लागि नभएर जनतालाई सकेसम्म एँेचिएर एकमुट्ठी अर्थात् एक–दुई हजार मान्छेको हित, समृद्धि र सुखमा केन्द्रित छ । अर्थात् लिंकनले भनेजस्तै जस्तै छ एउटै अपभ्रंशसहित ः गभर्नमन्ट अफ द पिपल, बाइ द पिपल, तर फर चैँ पिपल होइन, फर लिडर्स इन्क्लुडिङ देयर फेम्ली, एन्ड साइकोफ्यान्ट्स् । 

अर्थात् नेपाली शासनको शीर्षमा तपाईंले ध्यान दिएर हेर्नुभयो भने आधा दर्जनजति सुप्रिमोजलाई देख्नुहुन्छ । तिनीहरू उनै हुन् जो खासगरी ४७ सालदेखि नै आलोपालो सत्ता वा विपक्षको कहिले अलिक टाढा, कहिले अलिक नजिक भए पनि नेपाली राजनीतिको केन्द्रमै छन् । कति सोभैm सत्तामै नभएपनि आपूmद्वारा नियुक्त कर्मचारी, प्रहरी वा सत्ताआसपासका साथी, नातेदार, समविचारक, चेलाचाटीका माध्यमबाट शासनको हिस्सा पाइरहेकै छन् । त्यसैले उनिहरूको हैसियत र प्रभाव बीस–उन्नाइस घटेको मात्र हुन्छ हटेको हुँदैन । उनीहरू भन्छन् प्रजातन्त्र, लोकतन्त्र, समाजवाद । जसोतसो संविधान, निर्वाचन, संसद, कार्यपालिका, न्यायपालिकाका संरचना बनाउँछन् । 

तर, पुल एकातिर खोला अर्कातिर भनेभैmँ गर्छन् परिवारवाद, कृपावाद, दामासाहीवाद र भनिन्छ विदेशीप्रतिको समर्पणवाद पनि । शासनका महŒवपूर्ण स्थानमा राम्रा होइन हाम्रा मान्छे राख्छन् । देशको समुच्चा काम भनेको कर असुल्नु, जसोतसो दैनिकी चलाउनु, तत्काल परिआएको पनि सके आफ्नो अनुकूल पार्नु नसके टार्नु भएको छ । अर्थात् दैवीप्रकोप पीडितको नाउँमा पनि भ्रष्टाचार । आआफ्ना आफन्त र कृपापात्रका लागि अवसर जुटाउनु, तिनले गरेका उपद्रोलाई ढाकछोप गर्नु र यत्तिकै खेलिरहनु । 

यही चल्छ केन्द्रदेखि भूइँतहसम्म, सरकारीदेखि निजी उद्योग व्यापार–व्यवसायसम्म । देशको सत्तरी प्रतिशतभन्दा बढी साधन जमिन, उद्योग, मसिनरी तीस प्रतिशत मानिसका हातमा हुन्छ र सत्तरी प्रतिशत मानिसमा बाँकी तीस प्रतिशत । त्यस तीस प्रतिशतबाट एकातिर अव्यवस्थाका कारण पर्याप्त उत्पादन हुँदैन भने जो भएको विभिन्न वैधानिक बहानादेखि जबर्जस्तीसम्म गरेर ठूलाठालुले नै लान्छन् । एक्स्ट्रयाक्टिभ पोलिटिक्स र एक्स्ट्रयाक्टिभ इकोनोमिक्स भनेको यही बेथितिको बादशाही हो जुन सर्वसाधारणका लागि कहिल्यै नछुट्ने भुक्तमान रहिआएको छ ।’

उहाँले लामो निश्वास तान्नुभयो, ‘नेपालको वर्तमान शासन शैली अनुभव गर्दा अङ्ग्रेजीमा लेखिएका ‘लर्ड अफ मिसरूल’ शीर्षक सामग्रीको यथार्थीकरण भएको र हामीले त्यसैको मञ्चन भोगिरहेजस्तै लाग्छ । लर्ड अफ द फ्लाइज त पाठ्यपुस्तकै थियो, होइन ?’

‘थियो गुरु ।’

‘भन्नोस् त त्यसको सारांश के हो ?’ 

‘उपयुक्त थिति नभए मान्छे जन्मजात जसको शक्ति उसको भक्ति गर्ने पशुभन्दा चरम हिंसक र अराजक हुन्छ ।’

‘हो, थिति, जुन सबै नागरिकमा बराबर लागू हुनुपर्छ । त्यही नहुँदा त बरबाद भएको हो नि । तर थिति पनि दुई किसिमका हुन्छन् भन्ने याद गर्नुभएको छ ?’ 

‘के के गुरु ?’

‘थिति र बेथिति अर्थात् रूल र मिसरुल । थितिमा सबैथोक व्यवस्थित, कानुनसम्मत त्यसैले स्थिरता, सम्पन्नता र शान्ति हुन्छ तर बेथितिमा ठीकविपरीत सबैथोक अव्यवस्थित, अस्थिरता र कानुनहीन जसको शक्ति उसको भक्ति त्यसैले विपन्नता र अशान्ति हुन्छ । माथि भनेभैmँ त्यही अर्थात् बेथिति नै हाम्रो सामान्य शासन भएको छ । अगिल्लाको उदाहरण पश्चिम युरोप, क्यानडा र संरा अमेरिका, जापान, दक्षिण कोरिया र अष्ट्रेलिया हुन् भने नेपाल र यस्तै खासगरी केही अफ्रिकन, समग्र ल्याटिन अमेरिकन र साउद एसियन मुलुक पछिल्लोका । 

यिनमा पनि साइनबोर्ड भने प्रजातन्त्र, गणतन्त्र, जनवाद, कम्युनिजम आदि नै हुन्छन् तर शासन भने एकमुट्ठी जादुगरको हुन्छ जसलाई नेता भनिन्छ । यसमा राजशाहीलाई पनि गन्नुभए हुन्छ । शास्त्रीय भाषामा यस्तो शासनलाई ओलिगार्की अर्थात् अल्पतन्त्र भनिन्छ । यसको सञ्चालन संविधान–कानुन अनुसार होइन नेताको इच्छा अनुसार हुन्छ । अर्थात् तपाईं प्रहरीकहाँ जत्रै जघन्य अपराध वा ज्यादतीको उजुर गर्न जानुहोस्, उसले लिँदैन । माथिको आदेश चाहिन्छ । अदालतमा पनि त्यस्तै हो । प्रथमतः सामान्य मान्छे अदालतै पुग्दैन । पुगिहाले पनि सितिमिति न्याय पाउँदैन कारण अदालती प्रक्रियाको पनि प्रारम्भदेखि नै सेटिङ हुन्छ ।

तर यसको सबै दोष नेतृत्वको मात्रै चाहिँ हुँदैन । कारण कमलो पाएसम्म नछोड्ने मानव प्रकृति हो । अर्को शब्दमा जनता यस्तै नेता वा राजासँग टीका लगाएर भाग्यमानी ठान्छन् । उसको खुट्टै ढोग्न मरिहत्ते गर्छन् । यिनलाई तीसौं किलोको माला लगाइदिएर स्वयं आभारी सम्झिन्छन् भने उनले कसरी आपूmलाई गलत ठानून् ?

प्रसिद्ध विचारक प्लेटोको भनाइ छ ‘जस्ता जनता उस्तै राज्य : मान्छेको चरित्रबाटै राज्य जन्मिन्छ ।’ त्यस्तै एडवार्ड मर्रो भन्छन् ‘भेडाको देशमा ब्वाँसाको राज’ । ‘यदि जनताले कामको मूल्यांकन गरेर तदनुसार नेताको समर्थन वा विरोध, अंगीकार वा बहिष्कार गर्न थाले भने ?’ 

‘हो, हुनुपर्ने त्यही हो तर यसमा एउटा ठूलो कठिनाइ छ । मानव रगतको स्वाद चाखेको बाघ सजिलै कहाँ शाकाहारी हुन्छ ! सरकारी शक्तिको दुरुपयोग गरेर त्यसमध्येका सचेत अगुवालाई एक्ल्याइन्छ, थर्काइन्छ । तैपनि नटेरे लोभ्याइन्छ । अभैm नभए कुनै बहानामा बदनाम गरिन्छ वा जेल हालिन्छ वा त्रिशूली पठाइन्छ । कारण जनता एकमत हुँदैनन् । उनलाई वाद, जात, धर्म, क्षेत्र आदि खेमामा विभाजित गरिएको हुन्छ र त्यसको नेतृत्व उनिहरूले नै गरेगराएका हुन्छन् ! 

यस आधारभूत ऐतिहासिक यथार्थमै परिवर्तन ल्याउने कुनै दरिलो सोच छ तपार्इंहरूसँग कि भनाइमा उही प्रजातन्त्र, समाजवाद र गराइमा उही खाओवाद ?’

Top