निधि नै कांग्रेसको आगामी सभापति किन ?

✍️ मनोजकुमार कर्ण   POSTED ON : मंसिर १६, २०७८ (९:०३ AM)

निधि नै कांग्रेसको आगामी सभापति किन ?

कांंग्रेसमा वैचारिक अस्पष्टता तथा संवैधानिक विचलन :

यही मंसिरको अन्त्यतिर प्रस्तावित नेपाली कांग्रेसको चौधौं महाधिवेशन यदि कुनै पनि संवैधानिक छिद्रबाट टार्न सकिने भए यसको वर्तमान सभापति शेरबहादुर देउवा, प्रहरीको गोप्य रिपोर्ट अनुसार, एकै चोटिमा वा अलग अलग गरेर भए पनि सबै निर्वाचन सकेरमात्र गराउने पक्षमा थिए जुन राष्ट्रिय सभामा धेरै सांसदको पदावधि सकिँनै लाग्दा निर्वाचन आयोगले कांग्रेसलाई ‘केही ठाउँको वडा अधिवेशन गराउँदैमा महाधिवेशनमा होमिइसक्यौं भनेर हँुदैन, बकाइदा क्षेत्रीय र केन्द्रीय नवनेतृत्वको लेटरहेड ल्याऊ भन्दा मात्र उनी महाधिवेशन गराउन ताते । 

लोकतन्त्रमा अद्यावधिक निर्वाचन केवल देशको निर्वाचनलाई नबुझाइकन दलको आन्तरिक लोकतन्त्र झल्काउने महाधिवेशन पनि हो अतः यस्तो खुफिया रिपोर्ट पढ्नु वा निर्वाचन आयोगले दलहरूलाई महाधिवेशनमा अटेर गरी पदावधि लम्ब्याउने कसरतमा थर्काएको समाचार पढ्नु नै अति पीडादायी हुन्छ । 

कांग्रेस नेपालमा एकमात्र यस्तो पार्टी हो जुन आन्तरिक कलहमा फस्दा वा त्यो बिरामी पर्दा देशको समग्र राजनीतिक प्रणाली, संविधानलगायत विकास सबै थोक बिरामी पर्छ, नपत्याए २००७ साल, २०१७ साललगायत आजसम्मका राजनीतिक दुर्घटना हेर्दा हुन्छ । पटक-पटक राजनीतिक कोर्षलाई ट्रयाकमा ल्याउने आन्दोलन, संविधानहरू बनाउने जस्ता सफल कार्यहरू यही कांग्रेसकै अगुवाइमा भएको भए पनि परिवर्तनलाई संस्थागत गर्ने काममा कांग्रेस नेतृत्वहरू आन्तरिक खिचातानीमा व्यस्त हँुदा तथा परिवर्तनप्रति भित्रबाट नियत डगमगाउँदा चुकेको देखिन्छ । 

वर्तमान संविधान २०७२ प्रति मधेसी, आदिवासी, जनजाति, महिलालगायत थुप्रैका समानता र अधिकारलाई लिएर ठूलो विमति रहेपनि यसलाई जारी गरेको पार्टी कांग्रेसले अपनत्व लिई पार्टीकै आधिकारिक निर्णयानुसार संविधान संशोधन गर्ने अभिभारा पूरा गर्नु छ । हाल मधेसी जनता देशको आधिभन्दा बढी आवादि पटक–पटकको अधिकारवादी आन्दोलनको प्रभावको बाबजुद पनि सो अनुरूपको भावनाबाट टाढाबाट बनेको कम्तीमा यो संविधान अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक देश हो जसमा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता तथा अहिंसा र शान्ति जस्ता नौ रत्न अपेक्षामा छन् । 

तर, कांग्रेसमा सभापतिका उम्मेदवारहरू विमलेन्द्र निधिबाहेक कोही कसैले प्रष्टताका साथ यी कुराहरू लागू गर्छु भन्नु हुन्न अर्थात्, नेतृत्व क्षमता उहाँहरूमा भए पनि अधिकारलाई अरूसँग बाँड्ने र परिवर्तनलाई आत्मसात गर्ने ध्येय देखिँदैन बरु उल्टै संघीयता तथा समानुपातिक समावेशी सिद्धान्तविपरीत जस्ता राजावादी तथा यथास्थितिवादीको आवाजमा उहाँहरूको लय कहिलेकाहीँ मिलेको सञ्चारमाध्यमा प्रष्ट देखिन्छ । सवाल आज यो छ कि नेपाललाई विकासको माध्यमबाट सबै जनताको हृदय जितेर समृद्धशाली राष्ट्र बनाउने हो कि सधैं एउटै समुदायबाट कांग्रेसको नेतृत्व दिई छलकपट गरी केवल नेतृत्वका लागि नेतृत्व रहने ताकि सभापतिको ब्यानरमा आफ्नो नाम पनि सामेल होस् ? 

यहाँ यो स्पष्ट होस् कि जुन संविधान देशमा रहन्छ, त्यसको इमानदारीपूर्वक पालना गर्ने कर्तव्य सबै नेता र नागरिकको हुन्छ तसर्थ नेता निधिले ‘म यसको पक्षधर हँु’ भन्दा उहाँलाई अन्य प्रतिस्पर्धीले कुनै धर्म वा विशेष अजेन्डाको विरोधी करार दिने वा संघीयताको माध्यमले विदेशीको गोटी भए भन्नेले यस महाधिवेशनमा भन्न सक्नुपर्छ कि म यो संविधानको विरोधी हँु, यो संविधान च्यात्छु र त्यही संघीयताको नाममा मैले युरोपियन युनियन वा अन्य स्रोतको कुनै प्रभावमा छैन अर्थात्, जो स्वयं अरूको प्रभावमा छन्, उनीहरूले आजसम्म निष्कलंक रहेका निधिलाई निकृष्ट आरोप लगाउनु अनैतिक कार्य हो र महाधिवेशन जित्न आमप्रतिनिधिलाई मूर्ख बनाउनु हो ।

वामपन्थीमा परिवर्तनविरोधी शक्तिको उत्थान :

यसै मंसिरको दोस्रो सातादेखि चितवनमा प्रमुख प्रतिपक्षी बनेका नेकपा एमालेको महाधिवेशनमा केपी ओलीले जसरी सर्वसम्मत नेतृत्वचयन तथा पार्टीभित्र ‘एक ढिक्का’ रहेको देखाउन सभापतिका अर्का उम्मेदवार भीम रावललाई रुवाएर पनि अन्य पदमा सर्वसम्मत सजिलै ढंगले नेतृत्वचयन गर्न नसक्दा उनले महाधिवेशन गरेका हुन् वा एमालेमा ‘राजा चयन’ गरेका हुन् बुझ्न कठिन छ जबकि नेताहरूका आकांक्षालाई उनले के वास्ता गर्नु ! 

यति कुण्ठा, विगतका नेतृत्वहरूप्रति रिस ओलीले पालेका हुन् मनभित्र र यति उनी परिवर्तनविरोधी विगतमा उनका भनाइहरूले सावित गरिसकेका हुन् कि उनी साँच्चिकै पार्टी अध्यक्षपछि एमालेजस्तो पार्टीलाई उनले रुपैयाँ तथा डरत्रासको भरमा आगामी निर्वाचनमा एकल सत्तामा ल्याइहाले भने नेपालमा प्राप्त राजनीतिक प्रणालीको पैयाँ उल्टा नघुम्ला र अधिकारको लागि उनकै महाधिवेशनको मञ्चबाट लोसपा अध्यक्ष महन्थ ठाकुरको दाबी अनुसार पुनः मधेस आन्दोलन भई मान्छे नमारिएला भन्न सकिन्न । जस्तो नेतृत्वको सोच हुन्छ, पार्टीको वर्तमान निर्णयहरू जस्तोसुकै भए पनि भविष्यमा त्यो प्रतिगामी हँुदैजान्छ जुन ओलीले बेलाबखत भन्दै आएका छन् । 

दुर्भाग्य कस्तो भने माओवादीहरू पनि ‘हामीले संघीयता बाध्य भएर स्वीकारेका छौं’ भन्न भ्याइसकेका छन् र यसै सेरोफेरोमा विगतमा राजाविरोधी तथा कट्टर गणतन्त्रवादीको रूपमा उभ्याउनेहरू मोहन वैद्य ‘किरण’ तथा नारायणमान बिजुक्छेहरूको भाषा ‘बरु राजासँग मिल्ने’ ले के खिचडी पाक्दैछ, त्यो बुझ्न गाह्रो छैन । किन जनमोर्चा, राप्रपालगायत दल किन झन् मधेसी, आदिवासी, महिला, जनजातिको अधिकारमा एमालेहरूभन्दा भिन्न उभिएलान् ? मधेसवादी दलहरू जसपा पूर्वमाओवादी तथा एमालेहरूको ‘अपहरण’ मा परिसकेको र जातीय अतिवादमा फसिसकेको र लोसपामा महन्थ ठाकुरलाई मधेसको अजेन्डाभन्दा ‘ब्यापारिक राजनीति’ का लागि केवल ‘प्रयोग’ गरिरहेकाले उनले सकारात्मक देन यस परिस्थितिमा देलान् भन्ने सोच्नु व्यर्थ हो ।

तर, युग एकाइसौं शताब्दीको छ :

नेपाली कांग्रेस एकमात्र विश्व लोकतान्त्रिक परिपाटीमा आधारित पार्टी नेपालमा हो जुन सकारात्मक पक्ष हो भने आन्तरिक लोकतन्त्रको मामिला भने एमाले र माओवादी नेतृत्व जस्तो कब्जा गरेर बस्ने अलोकतान्त्रिकपन चरम् अवस्थामा हाल छ, त्यसलाई जनतासँग लुकाउनु अपराध हुनेछ । आजको जनता विश्वमा जात, धर्म, क्षेत्र, शारीरिक रंग, भाषा, संस्कृति, लुगा पहिरन वा शारीरिक कुनैै अपांगताको नाममा कसैभन्दा कम वा हेपिएको सहन चाहँदैनन् जबकि नेपालमा उचनिच, छुवाछूतको भावना हटाउने भनेर संविधानमा जति लेखे पनि समाजमा विद्यमान छँदैछन् किनकि देशको राजनीतिक वातावरण आर्थिक, जैविक, शैक्षिकलगायत सबै वातावरणको अभिभावक हुन्छ जसको नेतृत्व संवैधानिक ट्रयाकको भएन भने सबै मिहिनेत बेकार हुन्छ । 

तर, जनअपेक्षा आजको सोसल मिडिया तथा वैश्विक गाउँको अवधारणामा बढ्दो छ, जनता अधिकार र समानता खोज्छन्, जसलाई नजरअन्दाज गर्नु देशमा उथलपुथल मच्चाउनु र विकासको समयलाई नष्ट गरी पछाडि धकेल्नु हो तसर्थ, समयको चापलाई बुझ्ने नेतृत्व सत्ताधारी वा विपक्षमा हुनु नितान्त आवश्यक छ ।

अतः निधि नै :

माथिका कुराहरू मनन गर्दा हामी के पाउँछौं भने विमलेन्द्र निधि वामपन्थीको छलकपट र परिवर्तनविरोधी सोचलाई राम्ररी अध्ययन गरेका, उनीहरूसँग सकारात्मक बहस गर्नसक्ने, मिलाएर देश विकासमा अघि बढ्नसक्ने वा अराजकता निम्त्याउने भए ठिक राख्नसक्ने र करारा जबाब दिनसक्ने एक सक्षम नेतृत्व आफूलाई विभिन्न कालखण्डमा सावित गरिसकेका छन् । निधि एकजनामात्रको सभापतिमा चयनले कांग्रेस पार्टी र देशमा सकारात्मक परिवर्तनको बन्द सन्दुक अचानक खुल्नेछ किनकि उमेरअनुसार रूपान्तरण, पुस्तान्तरण र पुस्ता हस्तान्तरण हुनेछ, धेरै वरिष्ठले स्वभाविक ठाउँ पाउनेछन् । 

उता राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशीता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता तथा अहिंसा र शान्ति जस्ता अत्यावश्यक जनताका चाहनामा सभापतिका उम्मेदवार निधि प्रष्ट छन् भने वामपन्थीले वास्तविक यी लक्ष्यहरूप्रति समर्पित नभई अधिकारवञ्चित समूहहरूलाई झुलाएर राख्ने छन् भन्ने निधिले राम्ररी बुझेका छन् ।

संसदीय मधेसवादी दलहरू कुनै वामपन्थीको कब्जामा परिसकेर मधेसको अजेन्डा बोक्नुभन्दा पनि पहाडपारिको छिमेकीको अजेन्डा नेपालमा बोकेर ब्ल्याकमेलमा धनमाला कमाउनमा व्यस्त रहेको वा जातीय अतिवाद र घृणा मधेसमा फैलाएर एकल जातीय वर्चस्व स्थापनमा मात्र लिन रहेकाले उनीहरूले मधेस आन्दोलनको नाममा फेरि केही दर्जन मधेसीलाई शहीदमात्र अधिकारको लडाइँको नाममा बनाउने हुन् भने डा.सिके राउतको जनमत पार्टीबाट अहिले नै अपेक्षा गर्नु हतार हुनेछ । एकाइसौं शताब्दीमा जनताका सर्वांगीण विकासका लागि माथिका नौ–सूत्रीय धारणा वा वैचारिक प्रष्टता उनको आफ्नै रहेका तथा कांग्रेसभित्र पनि सभापतिका अन्य उम्मेदवारभन्दा निधिकै रहेकाले वर्तमान संविधानलाई सफल बनाउन उनकै आगामी नेतृत्व हुनुपर्छ । (कर्ण पाटन संयुक्त क्याम्पस, ललितपुरका उपप्राध्यापक हुनुहुन्छ ।)


Top