महिला हिंसा उन्मूलन नारामा सीमित

✍️ विश्वनाथ खरेल   POSTED ON : मंसिर २०, २०७८ (७:४० AM)

महिला हिंसा उन्मूलन नारामा सीमित

नेपालमा अहिलेप्रत्येक दिन ६/७ जना नारी दैनिक बलात्कृत हुने गरेको नेपाल प्रहरी अनुसन्धान केन्द्रको तथ्यांकमा सार्वजनिक हुँदै आएको छ । मूलतः केन्द्रीय बाल कल्याण समितिको प्रतिवेदन अनुसार हाम्रो देशमा २०७४ चैतदेखि २०७५ असारसम्म चार महिनामा १ सय १८ बालबालिका बलात्कृत भएको सार्वजनिक भएको थियो । यसमध्ये १४ जना बालिकाको सामूहिक बलात्कार भएको छ । यसमा सेक्स, जबरजस्ती करणी, बलात्कार, सामूहिक बलात्कार र त्यसपछि हत्या भएको थियो । यसबाहेक नेपाल प्रहरीले संकलन गरेको तथ्यांकलाई हेर्ने हो भने १० भदौ २०७० देखि ९ भदौ २०७५ सम्म १ हजार ३४ जनाको बलात्कारका घटनाका फष्र्ट इन्फरमेसन रिपोर्ट एफआइआर दर्ता भएको थियो । 

जसमा आफन्त, बिरामी, दूधे बालिकादेखि ९२ वर्षीया वृद्धाको समेत बलात्कार हुनेगरेको छ तर ६० प्रतिशत बलात्कार चाहिँ १५ वर्षमुनिका बालिकाको भएको छ । यसमा सर्सर्ति हेर्ने हो भने खासगरीकन ११ देखि १५ वर्ष उमेर समूहका बालबालिका यसरी बलात्कारमा पर्न गएका छन् । यो समस्या दिनानुदिन विकराल हुँदै गएको छ ।

मुलुकमा आर्थिक वर्ष २०७०/०७१ मा ५ सय ५९ बालिकाहरू बलात्कारको सिकार भएका थिए । त्यसैगरी गतवर्ष यो संख्या १ हजार ३ सय ९३ पुगेको थियो । यसर्थ आर्थिक वर्ष २०७०/०७१ देखि २०७७/०७८ सम्म आइपुग्दा अर्थात् सात वर्षमा १४ हजार महिला बलात्कृत भएका थिए । त्यसमध्ये ६ हजार ३ सय ६३ बालिकाहरू रहेका छन् भने ८ हजार ३ सय ९१ बालिगहरू छन् । यसै क्रममा हेर्ने हो भने २०७५ साल साउन महिनामा कञ्चनपुरकी निर्मला पन्तदेखि गत माघ २१ गते २०७७ सालसम्म आइपुग्दा बैतडीकी भागरथीसम्म राष्ट्रमा ३ हजार ३ सय ४७ बालिकाहरू बलात्कृत भएका छन् । यसभित्रमा पनि अपराध लुकाउन १७ जना पीडितको हत्यासमेत भएको छ । 

यो अढाइ वर्षमा बलात्कारबाट पीडित ३ हजार ३ सय त बालिका मात्र हुन् । यसबीचमा ६ हजार ८ सय ४४ जनाको बलात्कार भएको छ । यसरी कुल बलात्कारमध्ये आधा त बालिका नै छन् ।यसरी मुलुकको पछिल्लो साढे दुई वर्षमा बलात्कारपछि १७ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । बलात्कारको अपराध लुकाउन गत साउनयता मात्रै चारजनाको हत्या भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २ तथा २०७५/०७६ मा ११ जनाको हत्या भएको थियो । 

त्यसपछि बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको उनकै छिमेकी दाजुभाइ पर्ने किशोर दिनेश भट्टबाट बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो । त्यस्तै अर्को घटना दुई वर्षअघि उखुबारीमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्तालाग्न सकेको छैन । यी घटनाले के स्पष्ट हुन्छ भने यो देशमा छोरीहरू स्वतन्त्रतापूर्वक बाँच्न पाउँदैनन् । 

नेपालमा महिला हिंसाको प्रहरीको तथ्यांक हेर्दा विगतका पाँच वटा आर्थिक वर्षमा देशमा ८ हजारभन्दा बढी बलात्कार र ३ हजार १ सयभन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखिएको छ । सोही अवधिमा झण्डै ६० हजार घरेलु हिंसाका घटना दर्ता भएका थिए । यो डरलाग्दो तथ्यांक हो । यसमा कतिलाई कारबाही भयो कति स्वतन्त्रतापूर्वक महिला अधिकारको वकालत गर्दै नहोलान् भन्न सकिँदैन । 

यति हुँदा सरकार भने प्रतिबद्धता जनाउने प्रतिबद्ध नहुने अवस्था देखिएको छ । बलात्कारजस्तो जघन्य अपराधमा अपराधीले सहजै उन्मुक्ति पाइरहेका छन् । यसैगरी सडकमा दिनहुँजसो बलात्कार र महिला हिंसाविरुद्ध आवाज उठे पनि त्यसलाई ठोस रूपमा लिएको देखिँदैन । यसका केही ज्वलन्त उदाहरण छन् । जसलाई सञ्चारमाध्यमका अधिकारकर्मीले जोडसँग आवाज उठाउँदै आएका छन् । 

देशका सामान्य मानिसदेखि उच्च तहका मानिस बलात्कारका घटनामा मुछिएको समाचार दिनहुँ आउँनुले महिलाप्रतिको हेराइमा बाहिर जति राम्रो भने पनि भित्री मनमा खराब भावनाले काम गरेको पाइन्छ । महिला भनेका भोग्य वस्तु हुन् भन्ने मानसिकता केही पुरुषमा कायमै रहिरहेकाले आज बलात्कारका घटनामा कमी नआएको हो । यसका साथसाथै निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा महिला सांसदहरूले हत्यारा पत्ता लगाउन एकै आवाजमा सभाहल घन्काएका थिए भने रोशनि शाहीको केसमा महिला सांसदहरू मौन रहेका थिए । यसले सत्ता र शक्तिको चंगुलमा अझै नेपाली माहिलाहरू रुमलिइरहेका छन् भन्ने बुझिन्छ । 

समग्रमा भन्नु पर्दा गतसाल भएको बैतडीको दोगडाकेदार गाउँपालिका वडा-७ चडेपानीकी १७ वर्षीया भागरथी बलात्कारपछि हत्याको टनामा प्रहरीलाई स्वतन्त्र रूपमा उच्च मनोबल हुनेगरी अनुसन्धान गरेका कारणले गर्दा आफ्नै भाइ पर्ने व्यक्तिबाट घटना भएको कुरा प्रहरी अनुसन्धानबाट पुष्टि भई सार्वजनिक भएको छ ।हाम्रो समाजमा बलात्कार रातारात कतैबाट निर्यात गरिएको आयातीत वस्तु होइन, वर्षौं वर्ष खर्चिएर यही समाज, राजनीतिक दल, राज्य र व्यवस्थाद्वारा निर्माण गरिएको मानसिकताको उपजमात्र हो । यस्तो किसिमको घटना नियन्त्रण हुनुभन्दा बढ्दै गएको छ । 

नेपाल प्रहरीको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा बलात्कारको २ हजार १ सयभन्दा बढी घटना र घरेलु हिंसाका ११ हजार ७ सय ३८ वटा घटना दर्ता भएका थिए । यसको साथसाथै दुई वर्ष बढी भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । धेरै पटक घटना र अपराधीको नजिक पुगेको बताउने प्रहरीले अपराधी पक्राउ गर्न सकेन वा नजिक पुगेर पक्राउ गर्ने आँट नगरेको आशंका धेरै भए । यस्ता घटनामा जनदबाब बढेकाका कारण अनुसन्धान गर्न सकस भएको निम्सरो जवाफ दिने गरेको छ प्रहरीले । 

यस्ता किसिमका विगतमा भएका पीडादायक कुराले पीडितलाई भन्दा पीडकलाई सहयोग पुग्दै गएको छ । यसरी छिमेकी, आफन्त वा परिवारबाटै बलात्कार हुनेगरेको घटना बाहिरिने गरेका छन् । बलात्कारका घटना हाम्रो समाज कति क्रुर बन्दैछ । हरेक छोरी, बुहारी, आमा र हजुरआमा पलपलमा बलात्कारका सिकार हुँदैछन् । हामी बस्ने समाजभित्र र त्यो निकृष्ट कार्य गर्दै छन् । हाम्रै समाजभित्रबाट, आखिर यस्तो किसिमको घटना कहिलेसम्म हुने हो । अतः यस्ता किसिमका बालबालिकाले आफ्नो आवाज दबाएर पीडा सहेर बस्नुबाहेकउनीहरूसँग विकल्प छैन । 

यसमा जति कानुन बनेपनि नारीहरूका लागि जति अधिकारका कुरा गरे तापनि ती सबै कागजपत्र र कुराहरूमा मात्रै सीमित भएका छन् । देशमा भने हुनेखानेकै बोलवाला रहेको छ । जहाँ न्याय पनि पैसामा बिक्छ । यसर्थ धनीहरू पैसाले कानुन र न्यायलाई किनिरहन्छन् । यसरी निमुखा गरिबहरू तारिक खेप्दाखेप्दै मरिहान्छन् । यसर्थ एक्काइसौं शताब्दीसम्म नारीले यसरी खुम्चेर रहनुपर्ने अवस्था निश्चय खेदजनक हो । नारी सुशिक्षित, सक्षम र सबल हुने वातावरण नबनेसम्म जस्तोसुकै कानुनी व्यवस्था प्रभावकारी हुने देखिँदैन । यसतर्फ भने सरकारको ध्यान जान सकेको छैन ? महिला हिंसा उन्मूलनका नाराहरू के व्यानरमा मात्रै सीमित हुन् त अनि नारीहरू कहिलेसम्म असुरक्षित हुने ? 

Top