राजा वेनका अनुयायी गणतन्त्रवादीहरू

✍️ मणि शर्मा   POSTED ON : मंसिर २०, २०७८ (७:४४ AM)

राजा वेनका अनुयायी गणतन्त्रवादीहरू

अंग्रेजी शब्द सेकुलरिज्मलाई १२ बुँदेका समर्थकरूले धर्मनिरपेक्ष नाम दिए । धर्म निरपेक्षवादीहरू नास्तिक हुन्छन् । यथार्थमा सेकुलर शब्द ल्याटिन भषाको ‘सेकुलो’ शब्दबाट आएको हो । जसको अंग्रेजी अर्थ हुन्छ ‘इन द वल्र्ड’ क्याथोलिकहरूमा सन्यास लिने प्रचलन छ । सन्यासी पुरुषहरूलाई मंंक र महिलाहरूलाई नन भनिन्छ तर जुन व्यक्ति सन्यास नलिइकन समाजमा बस्दै मंक र ननहरूको धार्मिक काममा सहयोग गर्दछन् तिनीहरूलाई ‘सेकुलर’ भनिन्छ । सेकुलरिज्मको उत्पत्ति कसरी भयो त ? 

१५औं शताब्दीमा पोपलाई असिमित अधिकार प्राप्त थियो । यहाँसम्म कि उसलाई युरोपको कुनै पनि राजालाई हटाउन र उसको ठाउँमा अरूलाई राजा बनाउन अधिकार थियो । उसलाई जो कसैलाई पनि धर्मबाट च्युत गराउने अधिकार थियो । यहाँसम्म कि पोपको अनुमतिविना कुनै पनि राजाले विवाह गर्न पाउँदैनथे । एकचोटि बेलायतका राजा हैनरी आठौंले (१४९१-१५४७) आफ्नी रानी क्याथोरिनसँग विवाह विच्छेद गरेर एन्ने बोलेन नामक विधवासँग विवाह गर्न पोप क्लिमेन्ट ७औं सँग अनुमति माग्दा पोपले पूर्णतया अस्वीकार गर्दै राजालाई धर्मबाट च्युत गरिदिए । यसबाट असन्तुष्ट भएका हैनरीले बेलायतलाई पोपको सत्ताबाट अलग गर्दै ‘चर्च अफ इंंग्ल्यानण्ड’को स्थापना गरे ।

यसको लागि उनले संसदमा ‘एक्ट अफ सुप्रिमेसी’ कानुन पारित गरे । जसको शीर्षक थियो ‘सेपरेसन अफ चर्च एण्ड स्टेट’ । जसअनुसार न त चर्चले राज्यमाथि हस्तक्षेप गर्न सक्छ र न त राज्यले चर्चमाथि । यो चर्च र राज्यबीचको अलग्गिने सिद्धान्तलाई सेकुलरिज्मको नाम दिइयो । पछि गएर जर्ज जाकोब हालियैकले सन् १८५१ मा चर्चको नीतिहरूमा आफ्नो मतभिन्नता प्रकट गर्ने अर्थमा ‘सेकुलरिज्म’ प्रयोग गर्न थालियो । आज पनि अमेरिकामा सेकुलरिज्मलाई यही अर्थमा मानिन्छ ।

अहिले नेपालमा आइतबार पनि सार्वजनिक बिदा दिने नियम बन्दैछ । ७ मार्च सन् ३२१ मा रोम साम्राज्यका सम्राट कनोस्टेन्टाइन प्रथमले आइतबार प्रभु यिशुको पूजा आराधना गर्न तथा आराम गर्न भनेर सार्वजनिक बिदा दिने चलन चलाएका हुन् । उक्त धर्मानुसार प्रभु यिशुले हप्ताको छ दिन लगाएर पृथ्वी तथा मनिसको सृष्टि गरेका थिए र आइतबार आराम गरेको थिए । उनीहरूले आइतबारलाई सप्ताहको अन्तिम दिन मान्ने गर्छन् । 

यस दिनलाई उनीहरूले प्रभुको दिन भनेर मान्दैछन् र चर्चमा गएर प्रार्थना गर्ने गर्दछन् । आइतबारलाई यिशुको पुनरुत्र्थान भएको दिनको रूपमा मान्दछन् । यो दिन यिशुले जन्म लिनुहुन्छ भन्ने विश्वास छ । नेपाल सृष्टि कालदेखि नै सनातन धर्मावलम्बी मुलुक हो । २०२१ वर्षअगाडि जन्मेका यिशुसँग नेपालको कुनै गाई बेचेको साइनो छैन तर नेपाललाई विस्तारै ख्रिष्टान मुलुक बनाउने योजनाअन्तर्गत नेपालमा पनि आइतबार सार्वजनिक बिदा दिन थालिएको छ । 

तर, अहिलेसम्म यसको विरोध कुनै सनातनी संघसंस्था वा व्यक्तिबाट नभएकोमा आश्चर्य लाग्छ । सेकुलरिज्म जसलाई बंग्याएर धर्मनिरपेक्षता भनिएको छ र आइतबारको बिदा नेपाललाई ख्रिष्टान धर्मालम्बी मुलुक बनाउने लादिएको हो । राजतन्त्र यसको बाधक भएकाले इण्डोपश्चिमा शक्तिको आदेशमा यसलाई बलजफ्ती हटाइएको हो । गणतन्त्र र सेकुलरिज्मको जगमा टेकेर नेपाललाई ख्रिष्टान धर्मको मुलुक बनाउने १२ बुँदेका विदेशीका दासहरूको प्रमुख काम कर्तव्यभित्र पर्छ । अहिलेको जनगणना पनि त्यसै आधारमा आइएनजिओले बनाइदिएको फर्मेटअनुसार गरिएको छ । नेपालजस्तो सानो मुलुकमा संघीयता नेपालको विखण्डणका लागि ल्याइएको हो ।

आसन्न निर्वाचनलाई दृष्टिगत गरी अहिले सबै दलका नेताहरू हिन्दू धर्मको महात्म्य गाउँदै मन्दिर धाउने, पूजापाठ आदि कर्मकाण्डमा संलग्न हुनेगरेका छन् । एकातिर युनिफिकेसन चर्चले स्थापना गरेकोे कम्युनिष्ट पार्टीको सुप्रिमो माधव नेपाल मन्दिरमा गई पूजाआजा गरी यामानको माला घाँटीमा झुण्ड्याएको फोटो सेसन गरेर सामाजिक सञ्जालमा हालेका छन् भने उनकै पार्टीको बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्र पाण्डेले अदालतलाई चुनौती दिँदै धर्मान्तरण गर्न पाउनुपर्छ भन्दै दुई वर्ष कारावासको सजाय पाएका पाष्टरको समर्थनमा निस्केका छन् र ख्रिष्टानहरूका चिहानघाटका लागि जग्गा उपलब्ध गराउन माग गरिरहेका छन् । 

ओलीले माडीमा राममन्दिर स्थापना गरी राम, लक्षमण, सीता र हनुमानको मूर्ति नै स्थापना गरे । सिपी मैनालीले राप्रपाको महाधिवेशनमा राजा महेन्द्रले राष्ट्रलाई दिएको योगदान र उनी नभएको भए नेपाल उहिल्यै सिक्किम बनिसक्थ्यो भन्दै पञ्चायती व्यवस्थाको औचत्यलाई स्वीकार गरे । उनले राजतन्त्र र हिन्दू अधिराज्यको स्थापनाको अपरिहार्यताको कुरा गरे । सोही कार्यक्रममा पुष्पकमल दाहालले राप्रपा जस्तै आफू पनि राष्ट्रवादी हूँ भने र यसअघि रामदेवलाई क्रान्तिकारी देखे । भैँसी पूजादेखि अन्य कर्मकाण्डहरू बेला-बेलामा गर्दै आएका छन् । 

कांग्रेसभित्रै संस्थापन इतर पक्षमा बीपीको सिद्धान्तका अनुयायीहरू धेरै छन् तर लाचार । नेपालका कम्युनिष्टहरूको दोहोरो चरित्र भनेको उनीहरू चुनावका लागि सनातन धर्मको महिमा गायन गर्छन् भने अर्कोतिर सरकारमा जाँदा ईश्वरको नाममा शपथ खाँदैनन् । एमालेले सधैं नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहणमा ईश्वरको नाम राखेन । माओवादी नेता सिकिस्त बिरामी भई मृत्युमुखमा पर्दा नेपालमा जन्मेका, यो हिमवत्खण्डलाई आफ्नो कर्मस्थल, तपस्थल र रचनास्थल बनाएका ऋषि मार्केण्डेयले रचना गरेको महामृत्युञ्जय मन्त्रको जप माओवादीहरूले गराउँछन्, जसबाट उनी स्वस्थ्य पनि हुँदै गए । 

मृत्यु मुखैमा आएपछि सदाशिव पशुपतिनाथको शरण कम्युनिष्टहरूको दोहोरो चरित्र हो यो । राप्रपाभित्र कमल थापाभन्दा हिन्दू राष्ट्र र राजसंस्थाको पुनस्र्थाएपनाको कुरा गर्छन् तर सरकारमा जाँदा १२ बुँदेले बनाएको संविधानलाई विश्वको उत्कृष्ट संविधान भन्दै हिँड्छन् । नेताहरूको भनाइ र व्यवहारले उनीहरू दिनप्रतिदिन नांगिँदै गएका छन् । राष्ट्रियताको सवालमा पनि यिनीहरूको दोहोरो मापदण्ड छ । भाषणमा राष्ट्रवादी तर व्यवहारमा राष्ट्रघाती । 

हिमवत्खण्ड नेपाल जन्मजात सनातन धर्मको सृष्टिभूमि हो । गत अंकमा नेपालको विभिन्न तीर्थस्थलहरूको नाम उल्लेख गरेको थिएँ । योगी नरहरिनाथले अखण्ड हिमवत्खण्डको अन्वेषण गरेका यी पवित्र स्थलहरू अरू कति छन् र अरू कति होलान् । उनी अरू केही वर्ष बाँचेको भए पत्ता लाग्नेथियो । यस लेखमा भारत अधिकृत नेपालबाहेक वर्तमान संकुचित नेपालका तीर्थस्थलहरूको नाम उल्लेख गरिएको छ । वैदिक धर्मको अनुयायी सिद्धार्थ गौतम बुद्ध यही भूमिमा जन्मे र उनले प्रवर्तन गरेको विचारलाई पछि बौद्ध धर्म भनियो । कार्तिकेय र गणेशको स्थान शिवा शिवयमल जुम्लामा छ । 

लोमश ऋषिको स्थान लोमसगंगालाई लुमश बगर भनिन्छ । वेदव्यासले नामाकरण गरेको होमां हुम्ला भयो, यसको सिरानमा बसेर यास्कनिरुक्त व्याकरणको रचना गरेका यास्क मुनिको नामबाट यास्काराम गिरी, यास्क गिरी हुँदै अचेल यारी भएको छ, सिद्ध खेचरपीठ खोचरनाथ, खारीको ताक्लाखार भएको छ, ताक्लाखारमाथि पञ्चायती दर्शनको उद्गम स्थल कैलाश, मानसरोवर, लंकारी दह, वर्षापाटन आदि छन् सामवेदको उद्गमस्थल मूलसाम, नौमुली, चारपाटे वेदपट्ट हिमाल आदि जुम्ला जिल्लामा छन्, नागराजको राजधानी सिञ्जा जुम्लामा छ ।

अच्छेतम्भः (अछाम)मा वैद्यनाथ धाम छ, वैद्यनाथदेखि उत्तरतिर सिद्ध गन्धर्व, यक्ष, किन्नर आदि तेत्तीसकोटि देवताहरूको राजधानी खेचरपुरी, खेचराद्री हुँदै हाल खप्तड छ, खप्तडको दक्षिण पश्चिममा प्रथम शैलपुत्री शैलेश्वरी उद्गमस्थान डोटीमा छ, अत्रि ऋषिको आश्रम कालथुम बझाङमा छ, वामन अवतार स्थल वामनीअंगा कञ्चनपुर, महेन्द्रनगरनिर छ ।

उग्रताराको उग्रपीठ, घण्टाकर्णको घटालु थान, वीर बेताल थान, भगेश्वर महेश्वरको सिद्धपीठ डडेल्धुरामा छ, सिद्ध नागार्जुनका आराध्यदेव सोमेश्वर, पाताल भुवनेश्वर, सात बैनी–सैनी आदि सिद्ध पीठहरू बैतडी जिल्लामा छन्, मल्लिकाअर्जुन, व्यास गुफा, गोरक्ष गुफा आदि दार्चुला जिल्लामा छन्, दार्चुला र बैतडी जिल्लाको सिरानमा मार्कण्डेय ऋषिको आश्रम, गुफा, जन्म तथा कर्मभूमि छ । अखण्ड नेपालको ठूलो भूभाग भारतले कब्जा गरी नराखेको भए सनातन धर्मको जन्म तथा कर्मस्थली सबै नेपालमै हुने थियो । 

पञ्चायत कालमा धर्मान्तरणमा लागेर अदालतबाट जेल सजाय पाएका पाष्टर चाल्र्स मेन्डेजको चेला र युरोपियन युनियन तथा भेिटकनबाट सञ्चालितहरू नेपालीहरूको आराध्यदेव पशुपतिनाथप्रति विष वमन गर्ने गर्छन् तर चर्चको उद्घाटन र शिलान्यास गर्न पुग्छन् । यो प्रवृत्ति प्रत्येक नेताहरूमा छ । नेपालका कम्युनिष्टहरूको चरित्र त दोधारे छ । चुनाव नजिक आएपछि आफू जस्तो वैदिक हिन्दू अरू कोही छैन जस्तो गर्छन् नत्र चर्च धाउने गर्छन् । 

बीपी र गणेशमानका सुपुत्र र भतिजा राजनीतिमा सक्रिय छन् तर तिनीहरूले पनि बीपी र गणेशमानको सिद्धान्त तथा आदर्श त्यागेर गिरिजापथलाई समातेका छन् । बीपीका अनुयायीहरू पछाडि परिसकेका छन्, तिनीहरूको आवाज नेतृत्वले सुन्दैन । यो मुलुक विश्वकै प्राचीनतम मुलुक, सनातन धर्मको जन्म तथा कर्मस्थली वेद, पुराणादिको सृष्टिस्थल, देवस्थल, तपस्थल भूमि हो । तर, २०४८ सालपछि विस्तारै यसमाथि आक्रमण सुरु भएर १२ बुँदेले यसको प्राचीन अस्तित्वलाई समाप्त पार्न संसदवादी दलहरू प्राणपनले लागिपरेका छन् । आफ्ना मालिकहरूको खराउ थापेर शासन गरिरहेका छन् ।

मुलुकमा वर्षात्को च्याउसरि सनातन धर्मको रक्षाका लागि धेरै संघ संस्था, संगठन तथा पार्टीहरू खोलिएका छन् तर तिनीहरूमा एकता छैन । एउटै लक्ष्य तथा गन्तव्य भएकाहरू एकजुट हुन चाहिरहेका छैनन् वा सकिरहेका छैनन् । सबैलाई पद चाहिएको छ । सबैभन्दा माथि राष्ट्र, सनातन धर्म, हाम्रो प्राचीन सभ्यता, संस्कार र मौलिकपना हो । उसका लागि यी विभिन्न समूहमा विभाजित संगठन तथा दलहरू आफ्नो लक्ष्य तथा गन्तव्यका लागि एक नभए न हाम्रो धर्मको रक्षा हुन्छ न त राष्ट्रको । एउटै लक्ष्य र गन्तव्य बोकेका सबै एकजुट भए हाम्रो गन्तव्य भेट्न सात दिन पनि लाग्दैन । 

मानव सृष्टिको आदिमा रहेको आचारसंहिता वेदलाई नै पुनः हामीले हाम्रो आचारसंहिता मानेर अगाडि बढे गन्तव्य टाढा छैन । वेदलाई आधार मानेर आचारसंहिता बनाई एउटै लक्ष्य तथा गन्तव्य बोकेका सनातनीहरूले सके एकीकृत हुन नसके मोर्चा बनाई आन्दोलनको शंखनाद गर्न विलम्ब गर्नु हुँदैन । अहिंसा परमो धर्मः, धर्म हिंसा तथैव चः । अहिंसा परम धर्म हो तर धर्मको रक्षाका लागि हिंसा पनि धर्म हो । चाक्षुस मनुका पनाति राजा वेन अत्यन्त दुष्ट स्वभावका थिए । 

उनका पिता महाराज अंगले उनलाई कैयौं पटक दण्ड दिएका थिए तर उनी सुध्रिएनन् । यसबाट वैराग्य भएर अंग सन्यास ग्रहण गरेर वनतिर गए । उनी वनतिर गएपछि ऋषिहरूले सल्लाह गरी वेनलाई राजा बनाए । उनी अत्यन्त क्रुर थिए, सानोतिनो अपराधमा पनि उनी मृत्युदण्ड दिन्थे । उनी नास्तिक थिए । उनले सबैलाई देवी देवताहरूको पूजा तथा यज्ञ नगर्न तथा आफू नै उनीहरूको ईश्वर भएकाले उनको पूजा गर्न आदेश दिए । उनको आदेशको पालना नगर्नेलाई कठोर दण्ड दिने घोषणा गरे । ऋषिमुनिहरूले उनलाई सम्झाउन प्रयत्न गर्दा पनि उनी आफ्नो निर्णयमा अटल भएपछि उनीहरूले यज्ञादि कर्म गर्न थाले । 

उनीहरूको अपमान देखेपछि राजा क्रोेधित भए । ऋषिहरूले क्रोधित हुँदै मन्त्रोच्चारणसहित एउटा कुशले राजा वेनलाई प्रहार गर्दा उनको मृत्यु भयो । वेन दुष्ट तथा क्रुर हुनुमा उनको दोष थिएन । उनको माता सुनिथा अधर्मी वंशकी भएकीले उनमा यस्तो स्वभाव देखिएको हो । आज मुलुक धर्मविहीन, न्यायविहीन, भ्रष्ट र अराजक भएको छ । सबैमा चेतना भए ।

Top