यस्तो देखियो जनैपूर्णिमामा देवालय (फाेटाेफिचर)

नवराज श्रेष्ठ   POSTED ON : भदौ ६, २०७८ (९:०३ PM)

यस्तो देखियो जनैपूर्णिमामा देवालय (फाेटाेफिचर)

जनैपूर्णिमाको दिन पशुपतीनाथको बागमती नदि किनारमा जनै फेर्दै र डोरो बाँध्दै भक्तजनहरु ।

आज जनैपूर्णिमा । नेपालका तागाधारी समुदायले आज रक्षा बन्धन तथा यज्ञोपवित (जनै) धारण गरी यो पर्व मनाउँदैछन । साउन शुक्ल पूर्णिमाको दिन चुडाकर्म गरेका तागाधारी समूदायले वैदिक विधीपूर्वक मन्त्रण गरिएको जनै धारण गर्ने गर्दछन् ।


चुडाकर्म नगरेका तागाधारी र अन्य समुदायले नाडीमा रक्षाबन्धन धारण गर्दछन् । आज विहानै नदी, तलाउ वा तीर्थमा पुगेर स्नान गरी शुद्ध भएर विधिपूर्वक जनै तथा रक्षाबन्धन धारण गर्ने गरिन्छ ।

जनैको ६ वटा शिखालाई ब्रह्मा, विष्णु, महेश्वर र ज्ञान, कर्म र योगको रुपमा लिने गरिन्छ । जनैलाई ब्रह्मसूत्र वा ज्ञानधागोको रुपमा पनि लिने गरिन्छ । काश्यप, अत्रि, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ र विश्वामित्र ऋषिलाई कुश, कालो तिल र जलको तर्पण दिइने भएकाले यो पर्वलाई ऋषि तर्पणी पूर्णिमाको रुपमा पनि लिने गरिन्छ ।

यस पूर्णिमाको अघिल्लो दिन बाबुआमा नभएकाहरुले कपाल मुण्डन गरी स्नान गरेर एकछाक खाने चलन रहेको छ । यो पर्व मनाउन आज काठमाडौंको पशुपतिनाथ, रसुवाको गोसाईकुण्ड लगायतका तीर्थस्थलमा मानिसहरुको भीड लाग्ने गर्दछ ।

पशुपतिनाथलाई पनि आजै जनै फेराउनु पर्ने भएकाले मन्दिरका मूल पूजारीले भने अघिल्लो दिन नै नयाँ जनै धारण गर्ने चलन रहेको छ । जनै फेरिएपछि भगवान पशुपतिनाथ गोसाईंकुण्ड स्नानका लागि जानुहुन्छ भन्ने विश्वास रहेको छ । 



Top