फोटो फिचर- म्याग्दीमा ११ औं तोरल्ल गोल्डकप शुरु

ध्रुर्बसागर शर्मा   POSTED ON : आश्विन १५, २०७८ (८:०७ PM)

फोटो फिचर- म्याग्दीमा ११ औं तोरल्ल गोल्डकप शुरु

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुह सहभागी छन् ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले थकाली समुदायको परम्परागत तारो हान्ने खेलको संरक्षण ,खेल पर्यटन प्रर्वद्धन र विकास गर्न सबै चासो दिनुपर्नेमा जोड दिए । 

उनले अग्रजहरुको योगदानलाई सम्मान गर्दै खेलकुद सहित थकाली समुदायको कला,भाषा र संस्कृतीको जगेर्ना र संरक्षणमा लाग्न आग्रह गरे । आफ्नो समुदायमा भाषा ,कला ,संस्कृती र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सांसद तुलाचनले भने ,‘थकाली समुदायको बसोबास भएको क्षेत्रमा समाजघर लगायत भौतिक संरचनाहरु बनाएर अन्य सामाजिक काममा पनि सहयोग पुगेको छ ,’ ‘तर हाम्रो थकाली भाषा ,फागुमा तारा खेल्दा संगै गाइने गित र मृत्युमा गरिने झाँक्री संस्कार हराएको छ ।’

बि.सं.२०४७ देखि सुरु भएको तोरन्ल गोल्डकप प्रत्येक तीन–तीन बर्षमा आयोजना गरिँदै आएको थकाली सेवा समिति नेपालका सोमप्रसाद तुलाचनले बताए । २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीको जोखिमका कारण एक बर्ष पछि धकेलिएको उनको भनाई छ । यसअघि चन्द र सहयोग संकलन गरेर आयोजना गरिँदै आएको गोल्डकप यसपाली भने ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

उनका अनुसार कोषमा निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष स्वर्गिय शरदकुमार गौचनको नाममा उनकी श्रीमती आशाले दश लाख रुपैयाँ सहयोग गरेकी छन् । प्रतियोगिताको बिजेता समुहले सुनको पाँच तोलाको मेडल ,रनिङ शिल्ड , कप र एक लाख रुपैयाँ पाउनेछन् । 

दोस्रो ,तेस्रो ,चौथो र सान्त्वना हुनेले क्रमश पचास हजार ,पच्चिस हजार, दश हजार र पाँच हजार रुपैयाँ पाउने थकाली सेवा समितिका महासचिव रबिन शेरचनले जानकारी दिए । उनका अनुसार सर्बोत्कृष्ट ,विशिष्ट ,अनुशासित समुह ,जेष्ठ र कम उमेरका खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगिताको उद्घाटन हुनुपुर्व समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठ ,गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङका स्वकिय सचिव रोहित गुरुङ ,वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।


तस्वीर –ध्रुबसागर शर्मा
Top