चन्दननाथ–भैरवनाथ मन्दिरको नयाँ लिंगो ठड्याई (फोटो फिचर)

विजय रावत   POSTED ON : आश्विन २१, २०७८ (३:४४ PM)

चन्दननाथ–भैरवनाथ मन्दिरको नयाँ लिंगो ठड्याई (फोटो फिचर)

  जुम्ला । कर्णालीकै प्रसिद्ध धार्मिक जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरको बिहीवार घटस्थापना दिनमा नयाँ लिंगो ठड्याएको छ । सो मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन ५२ हाते लिंगो गाड्ने परम्परा रहेको संकृतिका जानकार रमानन्द आचार्यले बताउनुभयो । यस्तै भैरवनाथ मन्दिरमा ४८ हातको लिंगो र ४८ हातकै कपडा राखिएको छ । बाँकि २ वटा लिंगोमा ४२ देखी ४५ हातसम्मका रहेका चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताउनुभयो ।

मन्दिरमा लिंगो ठड्याइसकेपछि जुम्लीहरुले आफ्नो आफ्नो घरमा घटस्थापना गरेका छन् । तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कदा गजुर ल्याएर मन्दिरमा जढाएको र १४९८ सालबाट सो मन्दिरमा लिंगो खडा गर्ने परम्परा रही आएको यहाँका जानकारी बताउंछन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामति कर्मचारीहरु र स्थानीयवासिहरुको सहभागितामा लिंगो खडा गरिएको समितिका अध्यक्ष कठायतले बताउनुभयो ।

लिंगो खडा गरिसके पछि मात्र जुम्ला बजार र आसपासका गाउँहरुमा घटस्थापना गर्ने चलन रहेको छ । सो मन्दिरमा रहेका पुराना लिंगो ढाल्ने र नयाँ लिंगो खडा गरिएकोे  छ । जसलाई स्थानीय भाषामा लिंगो खडा गर्ने पनि भनिन्छ । यस दिन नवदुर्गा मध्ये शैलपुत्रीको पुजा आराधाना गरीन्छ । आजै जुम्लाबासीले नयाँ अन्न अर्थात नुवागी खाने गर्छन् भने धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ । जुम्लामा कालीमार्सी धान भित्रयाउने चन्दननाथलाई चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने गर्दछन् । धान पनि आजकै दिनदेखि काट्न सुरु गरिने सस्कृंतविद्ध रमानन्द आचार्यले बताउनुभयो ।

सोमबार चन्दननाथ नगरपालिका– ३ रडि खेल्लाको लामासिम नजिकैको जंगलबाट सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीयले जंगलबाट खलङ्गा बजारमा  रहेको चन्दननाथ मन्दिरमा लिंगा ल्याएका थियो । तीन वटा लिंगो गाड्ने चलन लामो समयदेखि चलिआएको हो । ‘पल्टन, थपला र कमसले गरी तीनवटा लिंगो जंगलबाट ल्याउने चलन रहेको छ । अहिले सबै लिंगो सेना र प्रहरीले ल्याउने गरेको चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिले जनाएको छ । लिंगो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने ममेत गरेका छन् । स्थानीय प्रशासनले लिंगो ल्याउने दिन सरकारी बिदासमेत दिने गरेको छ ।

तस्वीर विजय राउत


Top