4th August | 2020 | Tuesday | 8:09:57 AM

देउवाजीले राष्ट्रवादी अडानमाथि प्रश्न उठाउनु लज्जाजनक– मन्त्री बाँस्कोटा

  POSTED ON : मंसिर ८, २०७६ (१२:३८ PM)

देउवाजीले राष्ट्रवादी अडानमाथि प्रश्न उठाउनु लज्जाजनक– मन्त्री बाँस्कोटा

कास्की । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखराबाटै जवाफ फर्काएका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बाँस्कोटाले पत्रकारको जपाफ दिनेक्रममा जवाफ फर्काएका हुन् ।

उनले सरकारको राष्ट्रवादी अडान माथि प्रश्न उठाउनु लज्जाजनका भएको बताए ।

पोखरामा एउटा चुनावी आमसभालाई सम्वोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले लिपुलेकलाई आफ्नो भूभागमा पारेर नयाँ नक्सा निकालेको आरोप लगाएका थिए ।

देउवाको यस्तो भनाइप्रति सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले उनको भनाइलाई केवल चुनावी मसला भएको बताए । मन्त्री बाँस्कोटाले आफू सत्तामा छँदा देउवाले भारतसँग गरेका सम्झौता र समझदारीहरुमाथि समेत प्रश्न उठाए ।

उनले एकपटक जनताको मत र फैसलाहरुमाथि अरु कसैले प्रश्न उठाउँदा त्यो नेपाली जनताको मत हो, फैसला हो भनेर बोल्न नसक्ने शेरबहादुर देउवाजीले केपी ओलीको राष्ट्रवादी अडान, क्षमता र संघर्षको कुरामाथि प्रश्न उठाउनु आफैंमा लज्जाजनक विषय भएको बताए ।

उनले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले टनकपुर सन्धि गरेको मात्र नभएर अघिल्लोपटक देउवा प्रधानमन्त्री भएको बखद भारतमा गएर संविधान संशोधन गर्ने बचन दिएको प्रसंगसमेत झिके । 

उनले भने, ‘भारतीय नेतृत्वसित बसेर, सार्वजनिक समारोहमा ‘बाबा म त्यो संविधान पनि तिमीले भनेबमोजिम नै गर्छु’ भनेर बक्बकाएर आएको त अहिले पनि देखिन्छ ।’

उनले सरकारलाई मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै जरुरत नभएको प्रष्ट पारे । उनले भने,  ‘अरु कसैको एक इन्च जमिन पनि चाहिएन र आफ्नो जमिन समेत अरुलाई एक इन्च पनि दिन सकिदैन ।’

यो बिषयमा भारतसँग दवाव र प्रयास राखेर छलफलबाटै टुंगोमा पुग्ने उनको दावी थियो ।


Views: 211