4th August | 2020 | Tuesday | 7:59:46 AM

कृषि विकास बैंकका आठ जनालाई भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स   POSTED ON : मंसिर १०, २०७६ (९:५७ AM)

कृषि विकास बैंकका आठ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका तत्कालीन शाखा प्रबन्धक र शाखा अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ र शाखा अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख विगो माग दाबीसहित सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । 

उनका अनुसार बैंकको स्वयम्भू शाखाका तत्कालीन शाखा प्रबन्धक बानियाँ र शाखा अधिकृत गौतमका अतिरिक्त सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध मुद्दा दायर भएको हो ।

आयोगले बैंकका तत्कालीन शाखा प्रबन्धक बानियाँले शाखा प्रबन्धकको हैसियतले रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरूको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनको जिम्मेवारी बहन गर्न नसकेको ठहर गरेको हो । त्यसैगरी, तत्कालीन शाखा अधिकृत गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाएर रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम विभिन्न बैंकका शाखाहरूबाट इलेक्ट्रोनिक चेक क्लियरिङमार्फत भुक्तानी लिने गरेको अख्तियारको दाबी छ । नक्कली नाम तेजबहादुर थापाबाट नागरिकता तथा राहदानी लिएर देश छाडेर फरार हुने योजनाअनुसार भारतमा गएर बसेको, योजनाबद्ध ढंगबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ सिष्टमको दुरुपयोग गरी आफूलाई व्यक्तिगत लाभ र बैंकलाई हानि–नोक्सानी पु¥याउने काम गरेको आरोप पनि उनीमाथि लागेको छ । 

त्यस्तै, सम्झना पोखरेल गौतमले आफ्ना श्रीमान् तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानुनी तवरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने उद्देश्यले भारतमै बसाइ सरेको आयोगको आरोप छ । 

त्यसैगरी, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाएको आरोप छ । नक्कली नागरिकता र राहदानी बनाएको र पति केदारप्रसाद भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको, केदारप्रसाद गौतमले बैंकिङ कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको आरोप पनि उनीमाथि छ ।

त्यस्तै, सुमन भुजेल जग्गाको कारोबारमा संलग्न रहेको र सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुका साथै भारत पठाउनसमेत सहयोग गरेको आयोगको ठहर छ ।

सूर्यबहादुर लिम्बूले वसन्त राई भनी किर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन सहयोग गरेको आरोप छ । कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरूको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको जनाइएको छ । 

प्रवक्ता श्रेष्ठका अनुसार उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जनही ३३ करोड ९३ लाख रुपैयाँ विगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । 


Views: 98