15th August | 2020 | Saturday | 4:07:36 AM

छिन्नमस्तामा २ बजेसम्म ५५ प्रतिशत मतदान

अनिल पोखरेल   POSTED ON : मंसिर १४, २०७६ (२:५३ PM)

छिन्नमस्तामा २ बजेसम्म ५५ प्रतिशत मतदान

राजविराज । उपनिर्वाचन–२०७६ अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिकामा वडाध्यक्ष पदकालागि भईरहेको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ भने दिउँसो २ बजेसम्ममा ५५ प्रतिशतले मतदान खसेको छ ।

एक मतदानस्थलमा ‘क’ र ‘ख’ गरी दुई वटा मतदान केन्द्रमा विहान ७ बजेदेखि मतदान सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार दिउँसो १२ बजेसम्म ७० प्रतिशत मत खसेको छ ।

स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय हाटीमा भईरहेको मतदानका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ भने उपनिर्वाचनलाई शान्तिपूर्वक, मर्या्दित र भयरहित रुपमा सम्पन्न गर्न वाक्लो सुरक्षाकर्मी परिचालित गरिएको कार्यालयले जनाएको छ ।

निकै उत्साहका साथ विहानको बाक्लो हुस्सुमै मतदान गर्न महिला र पुरुष मतदाताहरु लाइनमा बसेका थिए । मतदान स्थल वरिपरि उम्मेदवारहरुको समर्थक, शुभचिन्तक, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ । वार्ड नं. ७ हाटीसहित वरिपरि क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जारी मतदान स्थलको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुख, पर्यवेक्षक, सञ्चारकर्मीहरुले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।

यसैगरी, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोग र स्वयमसेवक गरी १८ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिए ।

एक हजार चार सय ३ जना मतदाता रहेको सो वडामा छ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ७ जना उम्मेदवारी चुनावी प्रतिष्पर्धामा छन् ।

२०७४ को निर्वाचनमा वडा नम्वर ७ को अध्यक्ष पदमा राजपाबाट निर्वा्चित भएका प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजक पदमा चुनिएपछि सो पद रिक्त हुन पुगेको थियो । सो वडामा ६४६ महिला तथा ७५७ पुरुष गरी कुल एक हजार ४०३ मतदाता छन् ।

यता मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिए बमोजिमको अनुमति प्राप्त र आकस्मिक सेवा सम्बन्धी सवारी साधनहरु बाहेक अन्यलाई विष्णुपुर गाउँपालिकास्थित पश्चिमी कोशी नहरको दक्षिणपट्टीको भागमा सवारी आवगमनमा बन्देज समेत लगाएको छ ।


Views: 103