7th August | 2020 | Friday | 9:10:34 PM

उपनिर्वाचन सफल : आयोग

हिमालय टाइम्स   POSTED ON : मंसिर १७, २०७६ (१०:३५ AM)

उपनिर्वाचन सफल : आयोग

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन सफल भएको जनाएको छ । उपनिर्वाचनअन्तर्गत ५२ वटै सिटको मतपरिणाम सार्वजनिक गरिसकेपछि आयोगले उपनिर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र भएको दाबी गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा पराजित उम्मेदवारले विजयी हुनेलाई माला लगाउने संस्कार बढ्दै गएको भन्दै यसले निर्वाचन स्वच्छ, स्वतन्त्र र विश्वासनीय भएको सन्देश प्रवाह गरेको बताए ।

चुनावमा पराजित हुने पक्षले गौरवका साथ जित्नेलाई माला लगाउने असल संस्कारलाई हामीले प्रोत्साहन र स्थापित गर्नुपर्छ,’ उनले भने । यस्तो असल संस्कारले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष गराउन आयोगलाई थप हौसला र योगदान पुग्ने उनको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले शून्यजस्तै खर्चमा सञ्चारमाध्यममा प्रचारप्रसार, कम खर्चमा मतदाता शिक्षा र तुलनात्मकरूपमा आचारसंहिता पालना गराउन सफलता मिलेको बताए । उनले भने, ‘निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुनमा हामीले सामूहिक रूपमा गरेको असल र राम्रो गराँै भन्ने साझा प्रणको प्रतिफल हो ।’

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन सामग्री, जनशक्ति र सुरक्षा व्यवस्थापन गरी निर्वाचनका सबै विधि र प्रक्रिया अपनाएर चुनाव गरिएको बताए । विगतका निर्वाचनमा निर्वाचन आचारसंहिताको अनुगमन गर्न र पालना गराउन नसकेको भन्दै उनले यसपटक त्यस्तो कमजोरी नरहेको दाबी गरे । मतदाता शिक्षा प्रभावकारी हुन नसकेको तथा प्रचारप्रसारमा ठूलो धनराशी खर्च भएको आरोप विगतमा लाग्दै आए पनि उपनिर्वाचनमा त्यस्ता आरोप नलागेको उनको भनाइ थियो ।

आयोगले सोमबार दिउँसो प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको गत शनिबार मुलुकका ३७ जिल्लाका ५२ स्थानमा भएको उपनिर्वाचनको परिणाम सार्वजनिक गरेको छ ।

घोषित परिणाममध्ये उपनिर्वाचन भएको एकमात्र प्रतिनिधिसभा क्षेत्र कास्की–२ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । तीन प्रदेशसभा सिटमध्ये भक्तपुर–१ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल विजयी भएका छन् । त्यस्तै बाग्लुङ–२ (ख) मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही, दाङ–३ (ख) मा नेकपाका विमलाकुमारी खत्री निर्वाचित भएकी छन् ।

यस्तै, स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । सो पदमा कांग्रेस उम्मेदवार तिलक राई २६ हजार ७०९ मत हासिल गर्दै विजय भएका हुन् ।

यस्तै तीन गाउँपालिका अध्यक्षमा तीनै स्थान नेकपाले जितेको छ । फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका वीरबहादुर कुरुम्बाङ, मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल, पिपरा गाउँपालिका अध्यक्षमा नेकपाकै विक्रम चौधरी विजयी भएका हुन् । यस्तै खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा पनि नेकपाकै रूपा शाही विजयी भएकी छन् ।

विभिन्न स्थानीय तहका ४३ वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा सत्तारुढ नेकपाले २४ मा जित हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ११, समाजवादी पार्टीले चार, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन र एकजना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।


Views: 73