29th September | 2020 | Tuesday | 4:06:34 PM

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको प्रतिवेदन

हिमालय टाइम्स   POSTED ON : पुष ७, २०७६ (१०:१६ AM)

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको प्रतिवेदन

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र आयुक्तहरू सहितको टोलीले आइतबार अपराहृन प्रधानमन्त्री निवास बालुटारमा प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले सरकार संविधान र कानुनबमोजिम नागरिकको सूचनाको हक प्रचलनमा प्रतिबद्ध रहेको बताए । उनले नेपालले लोकतन्त्रमा केही गौरवलायक काम गरेको भन्दै सूचनाको हकलाई गौरवका रूपमा प्रस्तुत गरे । प्रधानमन्त्रीले सरकारले सधैँ नागरिकको सूचनाको हकको सम्मान गर्ने बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगले गरेका निर्णय र कामको प्रशंसा गर्दै आयुक्तहरूलाई धन्यवाद दिए । 

उक्त अवसरमा प्रमुख सूचना आयुक्त बाँस्कोटाले संविधानमा सूचना प्रवाहको हक थप्नुपर्ने, संविधानअनुसार ऐन परिमार्जन गर्नुपर्ने र सूचनाको हकसँग बाझिएका कानुनहरू परिमार्जन गर्नुपर्ने कुरा प्रधानमन्त्रीलाई अवगत गराए । 

बाँस्कोटाले सातवटै प्रदेशमा सूचना आयोग स्थापना गर्नुपर्ने र प्रत्येक स्थानीय तहमा सूचनाको हक प्रचलनको व्यववस्था गर्नुपर्नेबारे प्रधानमन्त्रीलाई आग्रह गरे । उनले सरकारी पत्रमा ‘गोप्य’ र ‘अति गोप्य’ भन्ने छाप लगाउने प्रचलन अन्त्य गर्न र कर्मचारीलाई सूचना गोप्य राखेबापत नभई प्रवाह गरेबापत पुरस्कृत गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रधानमन्त्रीले आफ्नो सुझाव सकारात्मक रूपमा लिएको बाँस्कोटाले जानकारी दिए । 

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन संसद्मा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । आयोगका वर्तमान पदाधिकारीको कार्यकाल यही पुस २३ गते सकिँदै छ । नयाँ नियुक्तिका लागि सिफारिस भइसकेको छ । 


Views: 127