29th September | 2020 | Tuesday | 5:36:12 PM

सिमेन्टको परिवर्तित मापदण्ड कार्यान्वयन नगर्न निर्देशन

हिमालय टाइम्स   POSTED ON : पुष ८, २०७६ (९:५६ AM)

सिमेन्टको परिवर्तित मापदण्ड कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई सिमेन्टको गुणस्तरको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको छ । समितिले सोमबार उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडा र गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीसँगको छलफलपछि सरकारलाई सिमेन्टको गुणस्तरको नयाँ मापदण्ड कार्यान्वयन तत्काल रोक्न निर्देशन दिएको हो ।  समितिले मापदण्डबारे थप छलफल गर्ने र अहिलेलाई पहिलेकै मापदण्ड कार्यान्वयन गर्न उद्योग मन्त्रालय र गुणस्तर विभागलाई निर्देशन दिएको सभापति भरत शाहले जानकारी दिए । 

गुणस्तर विभागले गत असार ८ गते सिमेन्टमा राखिने रासायनिक पदार्थको मापदण्ड परिवर्तन गर्ने निर्णय कार्यान्वयन गर्दा संरचना निर्माण हानिकारक हुने भन्दै समितिले पुरानै गुणस्तर कार्यान्वयन गर्न निर्देशन दिएको उनको भनाइ छ । 

विभागले सिमेन्टमा राखिने म्याग्नेसियम अक्साइड र इन्सोल्युब रेसिड्यु नामको पदार्थको मात्रामा हेरफेर गर्ने निर्णय गरेको थियो । गत असार १८ गते ओपिसी सिमेन्ट उत्पादन गर्दा प्रयोग गरिने अघुलनशील पदार्थको मात्रा २ बाट बढाएर ४ पु¥याएको थियो भने म्याग्नेसियम अक्साइडको मात्रा पनि बढाएर अधिकतम ६ प्रतिशत पु¥याएको थियो । 

समितिले भने सरकारलाई २०५५ जेठ ५ देखि प्रयोग हुँदै आएको अघुलनशील पदार्थको मात्रा २ र म्याग्नेसियम अक्साइडको मात्रा अधिकतम ५ प्रतिशत नै गर्न निर्देशन दिएको छ । छलफलमा लेखा समितिका सभापति शाहले सिमेन्ट उद्योगलाई नयाँ मापदण्ड लागू गर्न पत्राचार गरेको विभागले लेखा समितिलाई नयाँ मापदण्ड कार्यान्वयनमा नआएको भन्दै झुक्याएको भन्दै आपत्ति जनाए । 

उद्योग सचिव खतिवडाले भने अन्यथा नियत राखेर मापदण्ड परिवर्तन नगरेको बताइन् । तीन वर्षदेखि प्राविधिक कमिटीसँगको छलफलपछि नयाँ मापदण्ड लागू गरिएको उनको दाबी थियो । खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरूले आपत्ति जनाएका थिए । उनले सिमेन्टको मापदण्ड परिवर्तन गरिएको फाइल तयार भए पनि संसद्बाट पारित भइनसकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू नभएको बताएकी थिइन् । छलफलका क्रममा समितिका सभापति शाहले सचिव खतिवडाले झुट बोलेको भन्दै मन्त्रालय र विभागले गरिरहेको कामबारे समितिमा थाहा हुने बताए । उनले मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई नझुक्याउन सचिव खतिवडालाई सचेत गराए ।  


Views: 93