29th September | 2020 | Tuesday | 4:50:09 PM

‘पुष्टि नहुने समाचारमा दण्ड हुन्छ’

हिमालय टाइम्स   POSTED ON : पुष ९, २०७६ (९:५१ AM)

‘पुष्टि नहुने समाचारमा दण्ड हुन्छ’

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी मिडिया काउन्सिल विधेयक नआएको बताएको छ । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । 

नेपालको संविधानभित्र बन्ने कुनै पनि कानुनले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अधिकार नदिने र काउन्सिल विधेयकमा पनि कुनै त्यस्तो व्यवस्था नभएको बताएका हुन् । ‘नेपालको संविधानभित्र बन्ने कुनै पनि कानुनले त्यो अनुमति दिँदैन । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित ग-यो भन्ने त्रास मात्रै हो । यो व्यक्तिगत रूपमा प्रकट हुने कुरा हो । कानुनले त्यो कुरा दिँदैन’, उनले भने ।

छफलमा बाँस्कोटाले अहिलेको पत्रकारिता ‘हेडलाइनकारिता’ मा अलमलिएको बताए । दक्षिण एसियाली खेलकुद (साग) को समयमा मन्त्रीहरूलाई कोट वितरण गरेको भन्ने समाचारलाई संकेत गर्दै बास्कोटाले तथ्य र प्रमाणबिना समाचार लेख्ने प्रकृति हाबी भएको बताए । उनले भने, ‘सागको बजेटबाट मन्त्रीहरूले कोट लाए भन्ने समाचार आएछ । मेरै नाम जोडिएको समाचारमा मलाई केही सोधिएको छैन ।’

बाँस्कोटाले तथ्य र प्रमाणबिना समाचार लेख्ने प्रवृत्ति बढेको ‘हेडलाइनकारिताले’ यो क्षेत्र समस्याग्रस्त भएको बताए । तथ्यबिना लेखिएका समाचारहरूमा पीडित पक्षले आफ्नो कुरा सुधार्ने ठाउँ नपाएकाले विधेयकको आवश्यकता परेको उनको भनाइ छ । 

हातमा कलम हुनेले अर्कालाई छिनाए पनि हुन्छ भन्ने नभएको र कलम नुहनेहरूले बाँच्न पाउनु पर्ने बताउँदै बाँस्कोटाले स्पष्टीकरण दिने ठाउँसमेत नदिने र पुष्टि नभएका समाचार लेख्नेहरूलाई दण्ड जरिवाना दिने व्यवस्था गरिएको बताए । उनले भने, ‘हातमा कलम हुनेले अर्कालाई छिनाए पनि हुन्छ भन्ने होइन । नहुनेहरूले पनि बाँच्न पाउनुप¥यो । स्पष्टीकरण दिने ठाउँसमेत नदिने र पुष्टि नभएको कुरामा दण्ड जरिवानाको गर्ने व्यवस्था गरिएको हो ।’ 

बाँस्कोटाले अरूको सबै कुरा पारदर्शी खोज्नेले आफूलाई पारदर्शी राख्नुपर्ने बताए  ।  

विधेयकमा व्यवस्था गरिएको सजायका विषयमा बाँस्कोटाले अदालतको न्याय प्रणाली ढिला भएकाले प्रारम्भिक चरणका मुद्दाहरू काउन्सिलबाट नै समाधान गरिनुपर्ने मत राखेका छन् । ‘कहिले पेसी भनेको छ कहिले के भनेको छ । जेरी जस्तो घुमेको छ घुमेको छ । मान्छेको प्राण सकिएपछि आएको फैसलाले के हुन्छ ? त्यसैले प्रारम्भिक चरणमा केही कुरा काउन्सिलमा जानुपर्छ’ उनले भने । 

काउन्सिलका पदाधिकारी नियुक्ति र संख्याको विषयमा छलफल गर्न सकिने भन्दै बाँस्कोटाले समिति पारदर्शी र राम्रो बन्नेमा शंका नगर्न आग्रह गरेका छन् । 

सूचना प्रविधिसम्बन्धी विधेयक

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपाली कांग्रेसका सांसदहरूको अवरोधका कारण मंगलबार पारित हुन सकेन । 

आफूहरूले राखेका संशोधनहरू बेवास्ता गरिएको भन्दै कांग्रेसका सांसदहरूले असहमति जनाएपछि विधेयक पारित हुन नसकेको हो । 

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा छलफल भइरहेको विधेयकमाथि कांग्रेस सांसद बहादुरसिंह लामाले उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा आफूहरूले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको भन्दै असहमति जनाएका थिए । 

समाजिक सञ्जालमा सम्प्रेषण गर्न बन्देज गर्ने व्यवस्था भएको दफा ९१ देखि ९४ सम्मका विषय हटाउनुपर्ने र विधेयकको दुरुपयोग गर्न नहुनेसम्बन्धी व्यवस्था भएको दफा ८८ अपुग भएकोले हटाइनुपर्ने उनले बताए । 

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने तथा हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५वर्ष जेल वा १५ लाख जरिवाना वा दुवैै सजाय हुन सक्ने प्रावधान राखिएको छ । यस्तो विषयमा संशोधन हुन नसके आफूहरू नोट अफ डिसेन्ट लेख्न बाध्य हुने उनले बताए । 

समितिका सभापति कल्याणी कुमारी खड्काले चार महिनासम्म समितिमा अडकिएर बसेको र ३६ बुँदामा संशोधन भएकोले सहमति जनाउन आग्रह गरेकी थिइन् । फरक मत राख्नेले सहमति जनाउन सक्ने आधारहरू पनि नदिने र अडान लिइरहने प्रवृत्ति देखिएकोले सहमतिमा आउन आग्रह गरिन् । 

बैठक केही समय स्थागित गरी सहमति जुटाउन प्रयास गरिए पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नमानेपछि आगामी आइतबार छलफल गर्ने गरी स्थगित भएको छ ।

....................


प्राधिकरणद्वारा धरहरा अनुगमन


हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको निर्माण कार्ययोजनाअनुसार नै भइरहेको बताएका छन् । 

मंगलबार निर्माणस्थलको अनुगमन गरेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पछिल्लो समय तय भएको कार्ययोजनाअनुसार नै निर्माणको काम अघि बढेको बताएका हुन् । 

अनुगमनपछि ज्ञवालीले एक महिनामा दुई तलाको काम सक्नेगरी निर्माण कार्य अघि बढेको बताएका छन् । ‘जमिनमुनिको २ वटा बेस र माथिको तीन तलाको काम सकिएको छ । अहिले चौथो तलाको काम भइरहेको छ’, उनले भने, ‘एक महिनामा दुई तलाको काम सम्पन्न गर्नेगरी काम भइराखेको छ । हरेक १५ दिनमा एक तला ढलान गर्दा तल्लो तलाको ढलानको बेस ननिकाल्ने भएकाले धरहरा निर्माणमा गुणस्तरमा कुनै कमी हुँदैन ।’

निर्माण कम्पनी रमण कन्स्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले धरहराको भैतिक रूपमा ३३ प्रतिशत काम सम्पन्न भएको बताए । भौतिक प्रगतिको आधारमा वित्तीय प्रगति भने १० प्रतिशतले कम भएको छ । महतोका अनुसार अहिलेसम्म २२ प्रतिशतमा वित्तीय काम सम्पन्न भएको छ । भौतिक रूपमा काम भए पनि भुक्तानी भइनसकेकोले वित्तीय प्रगति कम देखिएको उनले बताए । उनले धरहरा निर्माणको काम तोकिएकै समयमा सक्नेगरी काम भइरहेको बताए । 

अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेका छन् । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुनेभए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ ।

तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्नेगरी सुरु गरिएको पुनर्निर्माणको कामले पछिल्लो समय तीव्रता पाएको हो । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्षको पुस महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । 


Views: 81