29th September | 2020 | Tuesday | 3:51:08 PM

कांग्रेस केन्द्रीय समितिको बैठक विवादकै बीच सुरु

  POSTED ON : पुष ११, २०७६ (५:५८ PM)

कांग्रेस केन्द्रीय समितिको बैठक विवादकै बीच सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक केही समय अघि विवादकै बीच सुरु भएको छ ।

पौडेल पक्षले आज पनि बहिष्कार गरेको छ । दिउँसो १ बजेको लागि डाकिएको बैठक ५ बजे मात्र सुरु भएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल  र कृष्णप्रसाद सिटौला पक्षले भने बैठक बहिष्कार गरेका छन् ।

गत मंसिर २६ गते देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महाधिवेशनको कार्यतालिका नल्याई विभाग गठन लगायतको प्रस्ताव पेस गरेको भन्दै पौडेल पक्षले बैठक बहिष्कार गर्दै आएको छ ।

 अरू विषयमा लगभग सहमति भए पनि नेविसंघको भागवण्डामा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता पौडेल पक्ष विभाजित हुँदै आएका छन् । 

भागबण्डामा सहमति जुट्ने संकेत नदेखिएपछि नेपाली कांग्रेसको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवालाई विधानअनुसार चल्न दबाब दिने रणनीति बनाएको छ । पार्टीका केन्द्रीय विभाग र भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठनमा भागबण्डा नमिल्ने संकेत देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवालाई विधानअनुसार चल्न दबाब दिने रणनीति बनाएको हो ।

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा गत सोमबार बसेको बैठकमा पौडेल पक्षीय वार्ता टोलीका सदस्यहरूले भागबण्डामा सहमति जुट्ने सम्भावना क्षीण बनेको ‘ब्रिफिङ’ गरेका थिए । संस्थापन पक्षसँग वार्ता गर्न पौडेल समूहले केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी सदस्य रहेको कार्यदल परिचालन गर्दै आएको छ । कार्यदलले उपसभापति विमलेन्द्र निधिसँग पटकपटक छलफल गर्दा पनि विभाग र नेविसंघमा भागबण्डा मिल्न नसकेको ‘ब्रिफ’ गरेपछि आफूहरू सभापतिलाई विधानअनुसार चल्न दबाब दिने मनस्थितिमा पुगेको पौडेल समूहका एक नेताको भनाइ छ ।


Views: 195