30th September | 2020 | Wednesday | 2:39:02 AM

उपसभामुख पाउन कांग्रेसको पहल, दाहाल–पौडेल छलफल

हिमालय टाइम्स   POSTED ON : माघ ८, २०७६ (१०:३७ AM)

उपसभामुख पाउन कांग्रेसको पहल, दाहाल–पौडेल छलफल

काठमाडौं । उपसभामुख पदको आकांक्षी रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिएन । संसदीय दल कार्यसमितिको मंगलबार बिहान सिंहदरबारमा बसेको बैठकले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेबमोजिम कांग्रेसले सभामुख पदमा दाबी नगरेको हो । 

सभामुख तटस्थ रहनुपर्ने पद भएकाले कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ,’ बैठकपछि सचेतक भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यसैबीच कांग्रेसले उपसभामुख पदका लागि ‘लबिङ’ गरिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी उपसभामुख पदका लागि ‘लबिङ’ गरेका छन् । 

मंगलबार बिहान दाहाल निवास खुमलटार पुगेर पौडेलले उपसभाुमख पद कांग्रेसलाई दिन आग्रह गरेको स्रोतको भनाइ छ । यद्यपि, पौडेलनिकट स्रोतले भने नेकपा अध्यक्ष दाहालसँग उपसभामुखको विषयमा मात्रै कुराकानी नभएको दाबी गरेको छ । 

दाहालनिकट स्रोतले पौडेलसँगको भेटमा उपसभामुखको विषयमा छलफल भएको पुष्टि गरेको छ । नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि उपसभामुखको विषयमा कांग्रेससँग कुराकानी भइरहेको बताए । यसअघि आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष दाहालबीच सभामुख निर्वाचन र उपसभामुख पदका विषयमा टेलिफोन वार्ता भएको थियो । स्रोतका अनुसार दाहालले टेलिफोन गरेर सभामुखमा आफ्नो पार्टीलाई सघाउन आग्रह गरेपछि देउवाले उपसभामुख कांग्रेसलाई दिन प्रस्ताव गरेका थिए । 

संविधानको धारा ९१ (२) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था छ । नेकपाले सभामुखमा उम्मेदवारी दिएका कारण उपसभामुखमा उम्मेदवारी दिन मिल्दैन । कांग्रेस संसदीय दलले सभामुख तटस्थ रहनुपर्ने र नेकपाको उम्मेदवार जित्ने निश्चित भएकाले उम्मेदवारी नदिने निर्णय गरेको हो ।

उपसभामुखमा कांग्रेससँग सहमति नजुटे राष्ट्रिय जनता पार्टी (राजपा) वा राष्ट्रिय जनमोर्चामध्ये कुनै एकले पाउने निश्चित छ । समाजवादी पार्टीले भर्खरै सत्ताबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका कारण उपसभामुख पाउने सम्भावना न्यून छ । 


Views: 170