21st October | 2020 | Wednesday | 8:13:18 AM

राजधानीमा पाँच हजार मानिस अट्ने क्षमताको क्वारेन्टाइन बन्ने

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:१५ AM)

राजधानीमा पाँच हजार मानिस अट्ने क्षमताको क्वारेन्टाइन बन्ने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा तत्काल पाँच हजार मानिस अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । ‘क्वारेन्टाइन स्थल तथा निर्माण तथा व्यवस्थापन कार्यदल’ ले उपत्यकामा तत्काल पाँच हजार मानिस अट्ने क्वारेन्टाइन बनाउने निर्णय गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेतृत्वको कार्यदलको आइतबार बिहान बसेको बैठकले क्वारेन्टाइन स्थल निर्माणका लागि सम्बन्धित सबै निकाय संयुक्तरूपमा परिचालित हुने र सो स्थललाई आवश्यक पर्दा तुरुन्त अस्थायी अस्पतालमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने निर्णय गरेको हो । उपत्यकाका होटल, विद्यालय, रंगशालालगायत स्थानमा त्यस्तो क्वारेन्टाइन बनाइने जनाइएको छ । बैठकले सात प्रदेश र महानगरपालिकालाई दुई–दुई हजार मानिस अट्ने र उपमहानगरहरूलाई एक हजार मानिस अट्ने क्वारेन्टाइन स्थल बनाउन निर्देशन दिएको छ । 

कार्यदलको निर्देशनअनुसार तराईका जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाहरूले दुई हजार, पहाडी जिल्लाका नगर र गाउँपालिकाहरूले एक हजार तथा हिमाली जिल्लाका नगरपालिका र गाउँपालिकाहरूले पाँच सय मानिसहरू अट्ने क्वारेन्टाइन स्थल बनाउनुपर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्रीको ईश्वर पोखरेल संयोजकत्वमा गठित ‘कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले शनिबार संस्कृति मन्त्री भट्टराईको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गत कार्यरत र अध्ययनरत जनशक्तिलाई रोगको रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्न अनुरोध गरेको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्रालयले सरकारको छात्रवृत्तिमा अध्ययन गरेर हाल कार्यरतलाई खटाइएको निकायमा न्यूनतम सेवा प्रवाह नरोकिने गरी कोभिड–१९ को रोकथाममा आवश्यकतानुसार परिचालन गर्ने योजना बनाएको हो । मन्त्रालयले सम्बन्धित कलेजसँग समन्वय गरी एमबिबिएस र एमडी अध्ययनरतलाई पनि परिचालन गर्न सम्बन्धित प्रदेश सरकारलाई अनुरोध गरेको छ ।


Views: 152