1st October | 2020 | Thursday | 1:56:34 AM

हिमालय टाइम्सको सम्पादकमा दाहाल

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:२२ AM)

हिमालय टाइम्सको सम्पादकमा दाहाल

काठमाडौं । हिमालय टाइम्स राष्ट्रिय दैनिकको सम्पादकमा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल नियुक्त हुनुभएको छ । इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिको आइतबार बसेको बोर्ड बैठकले निवर्तमान सम्पादक गोविन्द लुइँटेलको राजीनामा स्वीकृत गर्दै सल्लाहकार सम्पादक दाहाललाई सम्पादकमा नियुक्त गरेको हो ।

नेपाल टाइम्सबाट २०३४ सालमा पत्रकारिता सुरु गर्नुभएका दाहालले चेतना, राष्ट्रपुकार लगायतका पत्रिकामा सक्रिय रूपमा अभियान पत्रकारिता गर्नुका साथै नेपालवाणी साप्ताहिक तथा राजधानी दैनिकका सम्पादकका रूपमा समेत काम गर्नुभएको थियो । रेडियो नेपालबाट प्रशारित लोकप्रिय कार्यक्रम ‘घटना र विचार’ का कार्यक्रम संयोजक तथा सञ्चालक दाहाल राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा महाप्रबन्धकसमेत हुनुभएको थियो । दाहालले च्यानल नेपालमा कार्यक्रम संयोजक भएर पनि काम गर्नुभएको थियो ।

‘तुमुल’ साहित्यिक पत्रिका, ‘सगरमाथा वाङ्मय’ सम्पादन गर्नुभएको दाहालका ‘केही कवि केही कविता’, (संयुक्त कविता संग्रह),  ‘साँध’ (कविता संग्रह), ‘प्रक्षेपण’ (निबन्ध संग्रह), ‘मानव अधिकार ः लोकतन्त्र र अहिंसाको आधार’ (सहलेखन), ‘शान्ता’ उपन्यास, ‘अन्धकारको यात्री’ (कविता संग्रह), ‘मेरो पत्रकारिता’, (चार दशकको पत्रकारिताको अनुभव) र ‘शिखरवृत्त’ (कथा संग्रह) प्रकाशित छन् । प्रसिद्ध मानव अधिकारकर्मी दाहाल लामो समयदेखि पत्रकारिता पेसामा आबद्ध रहँदै आउनु भएको छ ।

इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले निवर्तमान सम्पादक लुइँटेलले १८ वर्षसम्म हिमालय टाइम्स दैनिकमा आबद्ध रहेर प्रेस स्वतन्त्रता, राष्ट्रियताको सम्बद्र्धनका साथै अखबारको निरन्तरताका लागि निर्वाह गरेको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गरेको छ । लुइँटेल नेपाली अनलाइन पोर्टल ‘खबरहब’को सम्पादकको भूमिकामा आबद्ध हुनुभएको छ ।


Views: 3182