1st October | 2020 | Thursday | 1:01:28 AM

सीमा नाका एक साताका लागि बन्द

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:२४ AM)

सीमा नाका एक साताका लागि बन्द

काठमाडौं । सरकारले छिमेकी मुलुक भारत र चीनसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारतसँग जोडिएका सबै सीमा नाकाहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै मन्त्रिपरिषद् बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सोमबार बिहान १० बजेबाट लागू हुनेगरी एक साताका लागि सीमा नाका बन्द गर्ने निर्णय भएको हो । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षाका उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटर लगायतका सामग्री खरिदका लागि ५० करोडको कोष खडा गर्ने निर्णय पनि गरेको छ । उक्त कोषका लागि सबै मन्त्रीले एक महिनाको पारिश्रमिक दिने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । 

यसअघि नै केही जिल्लाले सीमा नाकाहरू बन्द गर्न थालेका थिए । कोरोना भाइरसको संक्रमण फैलिसकेको भारतबाट नेपालमा संक्रमण फैलिन सक्ने अत्यधिक सम्भावना देखिएपछि दुई देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहमतिमा सीमा नाकाहरू बन्द गर्न थालिएको थियो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमाको जमुनाहा नाका आइतबारदेखि बन्द गरिएको छ । जमुनाहा नाका एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

‘अत्यावश्यक काममा हिँडडुल र अत्यावश्यक सामानहरू मात्र ल्याइने निर्णय गरिएको छ,’ खड्काले भन्नुभयो, ‘यात्रुहरू आवतजावतमा भने पूर्णरूपमा रोक लगाइएको छ ।’

आइतबार बिहान भारतको बहराइच जिल्लाको रुपैडिया बजारमा दुवै देशका अधिकारीहरूबीच भएको छलफलमा सीमा नाका बन्द गर्ने सहमति भएको खड्काले जानकारी दिनुभयो । यसअघि दुवै देशका अधिकारीहरूबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवतजावत गर्नेहरूको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

यस्तै, कञ्चनपुरको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । पैदल आवागमनसमेत पूर्णरूपमा बन्द गर्ने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

आइतबार बसेको कोरोना संक्रमण नियन्त्रण उपसमितिको बैठकले सीमा नाका बन्द गर्ने लगायतका विभिन्न निर्णय गरेको छ । अहिले सीमामा अत्यधिक आवतजावत भइरहेकाले तत्काल नाका बन्द गर्दा अप्ठ्यारो पर्ने हुँदा मंगलबारबाट बन्द गर्ने निर्णय भएको खतिवडाले बताउनुभयो ।

एकातर्फ सुदूरपश्चिमेलीहरूको महान चाड बिसुपर्व नजिकिनुका साथै भारतमा कोरोना संक्रमण बढ्न थालेपछि दैनिक हजारौंको संख्यामा नेपाली स्वदेश फर्किरहेका छन् ।

बैठकले आइतबार राति १२ बजेदेखि भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्यका पसल, राहत उद्धारलगायत अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । ‘कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै यातायात, सबै प्रकारका पसल व्यवसाय, उद्योग कलकारखाना अनिश्चितकालका लागि बन्द गर्ने निर्णय भएको छ’ खतिवडाले भन्नुभयो, ‘सीमावर्ती जिल्लामा जोखिम धेरै भएकाले यस्तो निर्णय गरिएको हो ।’

बैठकले सीमा नाकामा रहेका सबै मदिरा पसलहरूसमेत बन्द गर्ने निर्णय गरेको छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत तुल्याउँदै निर्णय उल्लंघन गरेको पाइएमा सुरक्षाकर्मीले पक्राउ गरी आवश्यक कारबाही गरिने जनाइएको छ ।

यस अवधिमा बजार अनुगमनलाई तीव्रता दिने निर्णय गर्दै बैठकले कोरोना संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने अभियानमा सक्दो सहयोग गर्न सबैमा अनुरोधसमेत गरेको छ ।

भारतबाट दैनिक हजारौंको संख्यामा मानिसहरू आवतजावत गर्नथालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि नेपालीहरू धमाधम स्वदेश फर्किरहेका छन् । 

सीमा नाका बन्द गर्न थालिएपछि विशेष गरी कामको शिलशिलामा भारतमा रहेका नेपालीहरूलाई घर फर्किन सकस हुने भएको छ । दैनिक हजारौंको संख्यामा नेपालीहरू स्वदेश फर्किरहेको बेला सीमा नाका बन्द हुँदा उनीहरू सीमामै अलपत्र पर्ने देखिएको छ ।

बाँकेका प्रजिअ खडकाले सीमामै अलपत्र परेकाहरूलाई अवस्था हेरेर आउने व्यवस्था गरिने बताउनुभयो । ‘सीमा नाका बन्दको निर्णय भएपछि उताबाट हिँडेकाहरूलाई त आउन दिइन्न तर बीच बोटोमै रहेकाहरूलाई आउने व्यवस्था गरिनेछ,’ खडकाले भन्नुभयो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जोखिमलाई मध्यनजर गर्दै दुई देशका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच सहमति गरेर नाका बन्द गरेको बताउनुभयो । 

‘मन्त्रालयले लिखितरूपमा नाका बन्द गर्न परिपत्र गरेको त छैन तर कोरोना जोखिमलाई मध्यनजर गर्दै दुई देशका प्रमुख जिल्ला अधिकारीहरूको सहमतिमा नाका बन्द गर्न मौखिकरूपमा भनिएको छ,’ शर्माले भन्नुभयो, ‘केही जिल्लामा बन्द गर्ने सहमति नै भएको र केहीमा प्रयास भइरहेको खबर आएको छ ।’

सीमा पार गरेर आएकाहरू नाकामा स्वास्थ्य चेकजाँच नगरेरै भाग्ने र क्वारेन्टाइनमा नबसेर सबैसँग घुलमिल हुनेक्रम बढेपछि कोरोनाको रोकथामका लागि सीमा नाका बन्द गर्नुको विकल्प नरहेको शर्माले बताउनुभयो ।



Views: 271