6th December | 2020 | Sunday | 7:03:11 AM

सङ्कटका काला बादल चाँडै हटेर जानेछन्ः प्रधानमन्त्री

हिमालय टाइम्स   POSTED ON : चैत्र २५, २०७६ (३:५९ PM)

सङ्कटका काला बादल चाँडै हटेर जानेछन्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोभिड–१९’ अर्थात कोरोना भाइरसका कारण उत्पन्न सङ्कटको कालो बादल चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिएको बताउनु भयो । यद्यपि मुलुक उच्च जोखिम रहेको बताउँदै उहाँले ‘वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ’ भन्नुृभयो । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुध्न नेपालजस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविक भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले अहिलेकोे सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणको आपूर्तिमा परेको प्रष्ट पार्नुभयो ।
महामारीकाविरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको र आवश्यक सुरक्षा उपकरणको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
उहाँले नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन नसक्ने उल्लेख गर्दै सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने बताउनुभयो । ‘त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको छ,’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउनुभयो । उहाँले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने प्रष्ट पार्नुभयो ।
विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम भएको स्पष्ट गर्दै उहाँले यो सबैको साझा लडाईं भएको बताउनुभयो । समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउटा सिपाही हो भन्ने कुरा मनन् गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसो गरेमा मात्र कोरोना भाइरसलाई परास्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था देखिएको भन्दै उहाँले सबैलाई थप सचेत र सावधान रहन आग्रहसमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने भनाइलाई आफूले राष्ट्रिय शक्तिको रुपमा लिएको बताउनुभयो ।
‘समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ,’ उहाँले भन्नुभयो, ‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।’
सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको उहाँको भनाइ थियो ।

Views: 127