30th September | 2020 | Wednesday | 2:55:30 PM

सीमा समस्याबारे कांग्रेसले विशेषज्ञसँग परामर्श गर्ने

हिमालय टाइम्स   POSTED ON : जेठ ९, २०७७ (८:०३ AM)

सीमा समस्याबारे कांग्रेसले विशेषज्ञसँग परामर्श गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लिपुलेक मार्ग र भारतसँग सीमा जोडिएका कतिपय अन्य जिल्लाको सीमा समस्यासहित उत्तर चीनतर्फ समेत रहेका सीमा समस्याहरूको स्थायी समाधान खोज्न शान्तिपूर्ण रुपले उच्चस्तरीय राजनीतिक तथा कुटनीतिक पहल गर्नुपर्ने जनाएको छ । प्रतिष्ठानले यस विषयमा विशेषज्ञहरूसँग आवश्यक परामर्श र सम्वाद गरी समाधानका लागि उपयुक्त दृष्टिकोण प्रस्तुत गर्ने प्रष्ट पारेको छ । प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय समितिका उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा जेठ ६ र ७ गते भिडियो कन्फरेन्सका माध्यमबाट बसेको बैठकले लिपुलेक हुँदै व्यवसायिक मार्ग खोल्ने भारत र चीनबीचको सहमति नेपालका लागि आपत्तिजनक रहेको जनाएको छ ।

प्रतिष्ठान बैठकले कोरोना संक्रमण र त्यसले पारेको असर, पोष्ट कोरोना समय, आगामी दिनमा प्रतिष्ठानले गर्ने प्रशिक्षण शैली, प्रविधिको प्रयोग, पाठ्यसामग्री प्रकाशन, नेपाली राजनीतिमा उत्पन्न परिस्थिति, सीमानाको प्रश्न, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, प्रत्युत्तरक्रममा प्रधानमन्त्रीले संसदमा प्रकट गरेको विचार आदि विविध पक्षमा विमर्श गरेको थियो । 

बैठकमा उपसभापति तथा प्रतिष्ठान प्रमुख निधिले नागरिकहरूको मौलिक अधिकारका रुपमा संविधानले सुनिश्चितता गरेको हुनाले कोरोना महामारीका समयमा नागरिकहरूको स्वास्थ्यप्रति सरकार नै जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भएपनि स्वदेश फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्कन सरकारले नै सहयोग गर्नु पर्ने बताउनुभयो ।

कोरोनाको कठीन समयमा अग्रस्थानमा रहेका चिकित्साकर्मी, सहयोगी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीहरूको कार्यको प्रशंसा गर्दै निधिले उनीहरूको स्वास्थ्यको सुरक्षाका साथ राज्यले विशेष प्रोत्साहन प्याकेज तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोतम दाहालका अनुसार प्रतिष्ठानले यही १५ गते गणतन्त्र दिवसलाई ‘सबै समस्या समाधानको मार्ग लोकतन्त्र’ भन्ने नाराकासाथ मनाउने निर्णयसमेत गरेको छ । 

बैठकले सरकारको नीति तथा कार्यक्रममा कोभिड १९ र त्यसबाट पर्न सक्ने प्रभावलाई सम्बोधन गर्न नसकेको विदेशमा बसेर स्वदेशमा योगदान गरिरहेका तर फर्कन चाहने नागरिकलाई स्वदेश फर्काउने, उनीहरूकालागि रोजगारीको व्यवस्था गर्ने ठोस योजना नरहेको र सीमानाकामा अत्यन्त कष्टपूर्ण यातना सहेर बसेका नागरिकलाई समेत नीति तथा कार्यक्रमले आशालाग्दो आश्वासन नदिएको ठहर गरेको छ ।

भद्दा र सानातिना कार्यक्रममा अल्झेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्ष नेपाल र नेपालीकोलागि कष्टप्रद हुने आशंका बढेको भन्दै बैठकले कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा लगायत महत्वपूर्ण क्षेत्रका लागि कुनै ठोस योजना नआउँदा आगामी वर्ष बेरोजगारीको समस्या अझ विकराल हुनेतर्फ सचेत गराएको छ ।

बैठकमा कोरोनाबाट उत्पन्न हुने स्वास्थ्य संकट, खाद्यान्न संकट, अर्थव्यवस्थामा संकट तथा शिक्षा र रोजगारीमा व्यापक असर गर्ने, सुरक्षित मातृत्व, महिला बालबालिका सहित आमरुपमा परेको मनोवैज्ञानिक प्रभाव तथा वातावरणमा आउने असन्तुलनबारे समेत छलफल भएको थियो । यस्ता विषयमा अध्ययन तथा अनुसन्धान हुनुपर्ने बैठकको निष्कर्ष रहेको कार्यकारी निर्देशक दाहालले बताउनुभयो ।

बैठकले कोरोनाबाट बँच्ने र बँचाउने बारेमा व्यापक छलफल गरी सरकारद्वारा जारी सूचना, जानकारी तथा पथप्रर्दशनको पूर्ण पालन गर्दै, कांग्रेसका सदस्यहरूलाई यसबारे प्रशिक्षित गर्ने र सचेत तुल्याउने, विभिन्न माध्यमबाट व्यापक जनचेतना फैलाउने निर्णयसमेत गरेको छ । संसारमा पोष्ट कोरोना पेडेमिक समयकाबारे बहस आरम्भ भएको उल्लेख गर्दै यसबारे प्रतिष्ठानले विशेषज्ञहरूको सहयोगमा अध्ययन अनुसन्धान गर्ने जनाइएको छ । ‘सबैभन्दा पहिले हुनसक्ने खाद्य संकट समाधान हेतु पार्टी पंक्तिलाई कृषि उत्पादनमा केन्द्रित हुन प्रतिष्ठानले प्रेरित गर्नेछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।


Views: 321