15th July | 2020 | Wednesday | 1:32:22 PM

प्रचारमुखी बजेट : कांग्रेस

हिमालय टाइम्स   POSTED ON : जेठ १७, २०७७ (१०:२२ AM)

प्रचारमुखी बजेट : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७७÷७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको टिप्पणी गरेको छ । कार्यान्वयन नहुने खालका कार्यक्रमलाई आश्वासनका रुपमा समेटेर बजेट ल्याइएको कांग्रेसको ठहर छ ।

काँग्रेस संसदीय दलको बैठकले लकडाउनका कारण सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, शैक्षिक संस्था, बैंक वित्तियलगायत क्षेत्र ठप्प भएको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरूलाई बजेटमा प्राथमिकता नदिएको निष्कर्ष निकालेको हो ।

‘शिथिल भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरूलाई यस बजेटमा प्राथमिकता दिएको पाइदैन,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरूलाई सम्बोधन हुने कुनै पनि ठोस कार्ययोजनाहरूलाई बजेटले सम्बोधन गरेको छैन ।’

बैठकले कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको संकटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउने योजनालाई बजेटको प्राथमिकतामा नराखेको कांग्रेसको आरोप छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको बताउनुभयो । राजश्वको संकुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बनाएको बजेट कार्यान्वयन गर्न कठिन हुने उहाँको भनाइ छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा विज्ञका रुपमा पूर्वअर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा जगदिशचन्द्र पोखरेल, डा गोविन्दराज पोखरेल र डा स्वर्णीम वाग्ले तथा अर्थविद् डा विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै कमी, कमजोरी बारेमा जानकारी गराउनुभएको थियो । 


Views: 417