13th July | 2020 | Monday | 2:22:11 AM

मन्त्रीकै असहमतिबीच निजामती विधेयक पारित

हिमालय टाइम्स   POSTED ON : असार १६, २०७७ (९:२२ AM)

मन्त्रीकै असहमतिबीच निजामती विधेयक पारित

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयक पारित गरेको छ । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको असहमतिकै बीच सोमबार समितिले उक्त विधेयक पारित गरेको हो । 

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको सिंहदरबारमा बसेको समिति बैठकमा सभापति शशी श्रेष्ठले बताउनुभयो । सभापति श्रेष्ठले असहमत सांसदहरूले फरक मत लेख्न सक्ने बताउनुभएको छ । 

विधेयकमा प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवाअन्तर्गत हुने र प्रदेश प्रमुख सचिव संघीय सरकारको निजामती सेवाअन्तर्गत रहने व्यवस्था गरिएको छ । विधेयकमा मन्त्री त्रिपाठीले समायोजनमा पठाइएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा तान्नुपर्ने, अवकाशको व्यवस्था, समावेशीता र प्रदेश सचिवको विषयमा विधेयकको प्रतिवेदनमा गरिएको व्यवस्थामा आफ्नो असहमति रहेको बताउनुभएको थियो । प्रदेश निजामती सेवा तयार नहुँदासम्म प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले मुख्यमन्त्रीको कार्यालयमार्फत पठाउने छ । त्यस्तै, प्रदेश र स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दा मन्त्रालयका सचिव संयोजक, सम्बन्धित पुनरावलोकन कर्ता सदस्य र सम्बन्धित सुपरीवेक्षक सदस्य रहने व्यवस्थासहित विधेयकको प्रतिवेदन तयार भएको सभापति श्रेष्ठले बताउनुभयो । 

विधेयकमा मन्त्री त्रिपाठीले समायोजनमा पठाइएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा तान्नुपर्ने, अवकाशको व्यवस्था, समावेशीता र प्रदेश सचिवको विषयमा विधेयकको प्रतिवेदनमा गरिएको व्यवस्थामा आफ्नो असहमति रहेको बताउनुभएको थियो । उहाँले यी विषयमा फेरि छलफल नभए मन्त्रालयले फरक मत राख्ने प्रस्ट पार्नुभयो । 

बैठकमा सत्तारूढ दलका केही सांसदहरू झपट रावल, विजय सुब्बालगायतले असहमति राख्नुभएको थियो । उहाँहरूले ‘नोट अफ डिसेन्ट’ लेख्ने बताउनुभएको छ । विधेयकको प्रतिवेदनमा गरिएका केही व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा, नेमकिपालगायत दलका सांसदले विरोध गर्दै ‘नोट अफ डिसेन्ट’ लेख्ने जनाएका छन् । 


Views: 61