10th August | 2020 | Monday | 5:47:37 PM

यो कार्यकालमा सरकारमा जाँदैनौँ : कांग्रेस

हिमालय टाइम्स   POSTED ON : असार २३, २०७७ (१:१२ AM)

यो कार्यकालमा सरकारमा जाँदैनौँ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा प्रतिनिधिसभाको यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकका विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जस्तोसुकै परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल मन्त्रालय चलाउने मानसिकताले कांग्रेस सिंहदरबार नछिर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘यो या त्यो परिस्थिति उत्पन्न भए पनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर, मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले सरकारमा कुनै पनि हालतमा सहभागी नहुने प्रष्ट पारेको हो । प्रवक्ता शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रूपमा हेरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले ‘देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । कांग्रेसका दिन अब गए’ भनेर विगतमा दिएका अलोकतान्त्रिक अभिव्यक्तिबारे पनि कुनै कडा प्रतिक्रिया नदिएको उहाँले स्मरण गराउनुभयो । ‘तर, अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ किनकि जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन्,’ उहाँले भन्नुभयो ।

कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन उहाँले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गर्नुभयो । प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताउनुभयो । जनताले ५ वर्षका लागि दिएको म्यान्डेटलाई जिम्मेवार प्रतिपक्षको रूपमा घनिभूत ढंगले निर्वाह गर्ने उहाँको भनाइ थियो । सरकारले गरेका राम्रा कामहरूको समर्थन र कमजोरी गर्दा औंला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उहाँले बताउनुभयो ।

संसद् अधिवेशन अन्त्य हुनुभन्दा एकदिन अगाडि सभापति देउवासँग भेट भए पनि संसद अधिवेशन अन्त्य गर्ने विषयमा कुनै पूर्व–सूचना प्रधानमन्त्रीले नदिएको उहाँले प्रष्ट पार्नुभयो । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रपतिलाई संस्थाका रूपमा नभएर व्यक्तिका रूपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको टिप्पणीसमेत गर्नुभयो ।


Views: 243