10th August | 2020 | Monday | 4:36:18 PM

नेकपामा गाँठो फुकाउने कसरत जारी

ओली–दाहाल अब ‘वान टु वान’ वार्ता

हिमालय टाइम्स   POSTED ON : असार २३, २०७७ (१:१४ AM)

नेकपामा गाँठो फुकाउने कसरत जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व झन् चर्किदै गएको छ । जारी स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सहमतिको प्रयास गरिरहे पनि ठोस निष्कर्ष निस्कन नसकेको हो । पार्टीमा चुलिएको आन्तरिक द्वन्द्व समाधान गर्न यसअघि नै सोमबार बस्ने भनिएको जारी स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको छ । स्थायी कमिटीको गत बिहीबार बसेको बैठकले पार्टी एकता हरहालतमा रक्षा र सुदृढ गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका  बीचमा छलफल आवश्यक रहेको निष्कर्ष निकालेको थियो । 

सोही बैठकको निष्कर्षअनुसार दुवै नेताहरूका बीचमा दैनिकजसो बैठक हुँदै आएको छ । आपसी अविश्वास बढ्दै जाँदा कसिएको गुटबन्दीको गाँठो फुकाउन पछिल्लो समय दुवै पक्षबीच वार्ता हुँदै आएको छ । सहमति जुट्न नसकेकै कारण स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित गरेर समस्या समाधानको प्रयासलाई जारी राखिएको नेकपाले जनाएको छ ।

पार्टीको जारी पाँचौं स्थायी कमिटी बैठक दिनानुदिन स्थगित गरिनुलाई नेकपाभित्रको अन्तरविरोध झन् जटिल हुँदै गएको संकेतका रूपमा हेर्न सकिने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । ‘बैठक लम्ब्याई नै अन्तरविरोध झन् जटिल हुँदै गएको प्रमाण हो,’ राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले भन्नुभयो, ‘यसलाई जटिल हुँदै गएको अन्तरविरोधको समाधान खोज्ने प्रयासको पनि प्रमाण मान्न सकिन्छ ।’

जारी स्थायी कमिटी बैठक लम्ब्याउँदै गएर चाहेको वातावरण सिर्जना भएपछिको अवस्थामा आफू अनुकुल निर्णय गर्ने रणनीतिमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाल लाग्नुभएको उहाँको भनाइ छ । ‘बैठक स्थगित गरिनु टाइम लाइन हो । सबैको पोजिसन डिक्लिएर गरेर पावर बार्गेनिङ पनि हो,’ डा. केसीले भन्नुभयो, ‘यो एउटै कुर्सीका लागि भएको झगडा हो, टाइम लिँदै जाने अनि आफू अनुकुल गर्ने राणनीति हो ।’

पार्टीभित्र चुलिएको विरोध समाधानका लागि उपाय खोज्न प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष दाहालबीच दिनैपिच्छे वार्ता भइरहेको छ । तर, उहाँहरू बीचको वार्ताले ठोस निचोड भने निकाल्न सकेको छैन । 

पार्टीमा आन्तरिक द्वन्द्व चर्किंदै गएपछि पार्टी विभाजन हुनबाट जोगाउन दोस्रो तहका नेताहरूले दबाब दिँदै आउनुभएको छ । नेताहरूको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेपछि युवा नेताहरू सक्रिय हुनुभएको हो । पार्टीलाई विभाजन हुनबाट जोगाउन उहाँहरू दुवै पक्षका शीर्ष नेताहरूलाई भेट्नेदेखि धर्ना र भेला गर्दै आउनुभएको छ । 

ओली र दाहालबीच सोमबार भएको वार्तामा दुवै अध्यक्ष मात्रै बसेर पार्टीभित्रको विवाद टुंगो लगाउने सहमति जुटेको बताइएको छ । दुवै अध्यक्षबीच आपसी विवादलाई ‘वान टु वान’ वार्ताबाट टुंग्याउने सहमति बनेको दाहालनिकट स्रोतले जनाएको छ । 

यसअघि आइतबार पनि दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । आइतबारको छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र कार्यकारी अध्यक्षका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी हुनुहुन्थ्यो । 

उक्त बैठकले साक्षीका रूपमा सहभागीमध्ये प्रधानमन्त्री ओलीका तर्फबाट रक्षामन्त्री पोखरेल र महासचिव पौडेलले भूमिमा खेल्ने र कार्यकारी अध्यक्ष दाहालका तर्फबाट नेताद्वय शर्मा र पुनले सहमतिको विन्दु खोज्न सघाउने बताइएको थियो । यद्यपि, छलफलका सूचनाहरू चुहिएको र आफ्नो अनुकुल हुनेगरी प्रचार गर्न थालिएको भन्दै सोमबार अध्यक्षद्वय ओली र दाहालले पार्टीका सवै विवाद ‘वान टु वान’ वार्तामार्फत टुंगो लगाउने सहमति गर्नुभएको स्रोतको भनाइ छ । 

‘वार्ता विषयवस्तुभित्र प्रवेश गरेको छ । अर्को दिन फेरि छलफल हुने गरी सकिएको छ,’ कार्यकारी अध्यक्ष दाहालको सचिवालय स्रोतले भन्यो, ‘छलफल सकारात्मक छ । अब पार्टीको विवाद दुई अध्यक्ष मात्रै बसेर मिलाउनुहुन्छ ।’ 

प्रधानमन्त्री ओलीले असार १४ गते बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारतीय राज्य संयन्त्रले सक्रियता बढाएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको थियो । विवादकै क्रममा ओलीले बिना परामर्श बिहीबार संघीय संसद्को जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ ।

चिनियाँ राजदूतको सक्रियता बढ्दै

सत्तारूढ नेकपाभित्रको विवाद चर्किरहेको समयमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । राजदूत यान्छीले आइतबार बेलुका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित नेपालकै निवासमा भेटवार्ता गर्नुभएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपालसहितको समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामाका लागि दबाब दिइरहेको समयमा चिनियाँ राजदूत यान्छीले नेता नेपालसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण मानिएको छ । 

प्रधानमन्त्री ओलीले केही दिनअघि आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र प्रयोग भएको र काठमाडौंका होटलमा गतिविधि बढ्न थालेको, भारतीय दूतावास सक्रिय भएको अभिव्यक्ति दिएपछि दाहाल–नेपाल पक्षले ओलीलाई राजीनामाका लागि दबाब बढाएको हो ।

चिनियाँ राजदूत यान्छीले गत वैशाख १९ गते पनि नेकपा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियो । त्यतिबेला पनि नेकपाभित्र विवाद बढेको थियो । सरकारले हठात दुई अध्यादेश ल्याएपछि पार्टीभित्रै प्रधानमन्त्री ओलीको आलोचना बढेको अवस्थामा राजदूत यान्छीले दाहाल र नेपालसँग भेट गरेलगत्तै नेकपाभित्रको आन्तरिक विवाद मत्थर भएको थियो । यसलाई संयोगमात्र मान्न नसकिने विश्लेषकहरू बताउँछन् । राजदूत यान्छीको पछिल्लो सक्रियताको परिणाम देखापर्न भने केही समय प्रतीक्षा गर्नैपर्ने भएको छ ।


Views: 165