10th August | 2020 | Monday | 5:33:35 PM

संसद् अधिवेशन अन्त्य गरिएकोमा कांग्रेस–जसपाबीच साझा असहमति

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७७ (१२:४८ AM)

संसद् अधिवेशन अन्त्य गरिएकोमा कांग्रेस–जसपाबीच साझा असहमति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सत्ताबाहिर रहेका दुई दलहरूबीच छलफल भएको छ । नेकपाकै नेताहरूले पार्टी विभाजनको संघारमा पुगेको दाबी गरिरहेका बेला प्रतिपक्षीहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भएको हो । कांग्रेसका नेताहरूलाई भेट्न जसपाका नेताहरू मंगलबार बिहान पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुग्नुभएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जसपा नेतृत्वको आग्रहमा बूढानीलकण्ठमा कांग्रेसका शीर्षहरूले मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गरेको बताउनुभयो । 

बूढानीलकण्ठमा भएको छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो । 

कांग्रेस प्रवक्ता शर्माका अनुसार छलफलमा जसपाका तर्फबाट डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र अशोक राई उपस्थित थिए । उहाँहरू मंगलबार बिहान साढे ९ बजे बूढानीलकण्ठ पुग्नुभएको थियो । 

दुवै दलका शीर्षस्थ नेताहमरुले संघीय संसद्को बजेट अधिवेशन हठात् अन्त्य गरिएको प्रति साझा रूपमा असहमति जनाउनुभएको छ । ‘संयुक्त बैठकमा कांग्रेस र जसपाका नेताहरूले बजेट अधिवेशन हठात् अन्त्य गरिएको प्रति साझा रूपमा असहमति जनाउनुभएको छ,’ प्रवक्ता शर्माले भन्नुभयो ।  

प्रवक्ता शर्माले बैठकमा राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा सरकारको अपरिपक्वताले मुलुकमा बढ्दै गएको जटिलताबारे पनि छलफल भएको बताउनुभयो । 

संयुक्त बैठकले महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको प्रति पनि आपत्ति जनाएको छ । ‘कोरोनाका कारण कैयौंको मृत्यु र हजारौं संक्रमित भएको स्थितिबारे बैठकमा समीक्षा भयो,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘व्यापक परीक्षण, उपचार र राहत प्रबन्ध गर्न र विदेशमा अप्ठ्यारोमा परेका नागरिकको निःशुल्क उद्वार गर्न सरकार गम्भीर नभएकामा बैठकले आपत्ति जनाएको छ ।’

बैठकमा सहभागी जसपाका नेता महतोले कांग्रेसका शीर्ष नेताहरूसँग मुलुकको वर्तमान राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीका बारेमा कुराकानी भएको बताउनुभयो । ‘वर्तमान राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीका बारेमा कुराकानी भयो । सरकारको काम गराई हेर्दा अब यसरी बसेर हुँदैन प्रतिपक्षी दलहरूले सरकारलाई काम गर्न दबाब दिनुपर्छ भनेर हामीले देउवाजीसँग भेट गरेका हौँ,’ उहाँले भन्नुभयो । 

महतोले पनि बैठकमा संसद् अधिवेशन अन्त्य गरिएको विषयमा छलफल भएको बताउनुभयो । ‘जहाँ जनताको कुरा राखिन्छ त्यही संसद्को अधिवेशन एकाएक बन्द गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जनताको कुरा, समस्या सम्बोधन हुने थलो नै बन्द गरेर अझै ओलीजी राष्ट्रवादको कुरा गरिराख्नु भएको छ ।’

सत्तारूढ नेकपाभित्र विवाद चुलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते मन्त्रिपरिषद् बैठक बोलाएर आकस्मिक रूपमा जारी संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बेलुकी ५ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न संसद् सचिवालयलाई पत्र पठाउनुभएको थियो । 


Views: 64