10th August | 2020 | Monday | 4:19:31 PM

नेकपाको अन्तरविरोध : शक्ति राष्ट्रहरूको चासो बढ्दै

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७७ (१२:५१ AM)

नेकपाको अन्तरविरोध : शक्ति राष्ट्रहरूको चासो बढ्दै

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध बढिरहेको समयमा छिमेकी मुलुक चीनले सक्रियता बढाइरहेको छ । खासगरी चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिइरहेको अवस्थामा अर्को छिमेकी मुलुक भारत र महाशक्ति राष्ट्र अमेरिकाले पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे सूक्ष्म रूपमा चासो राख्न थालेका छन् । भारतीय अखबार हिन्दूस्तान टाइम्सले मंगलबारको अंकमा भारतको विदेश मन्त्रालय र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले नेपालको राजनीतिक घटनाक्रममा गम्भीर रूपमा ध्यान दिइरहेको खुलासा गरेको छ । नेपालमा चीनको प्रभाव बढ्दै जानु र सत्तारूढ दल नेकपाको आन्तरिक विवाद समाधानका लागि चिनियाँ राजदूतको सक्रियता बढ्दै गएको अवस्थालाई भारतले गम्भीरतापूर्वक हेरिरहेको सो अखबारले जनाएको हो ।

अर्कोतिर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन हुन नसकेकै अवस्थामा सत्तारूढ दलभित्र बढेको विवाद र राजनीतिक चलखेलप्रति अमेरिकाले पनि चासो राख्न थालेको स्रोत बताउँछ । उल्लेखनीय छ, प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी पारित गर्नुपर्ने धारणा निकै लामो समयदेखि राख्दै आउनुभएको छ । नेकपाको अर्को पक्ष भने एमसिसीका सवालमा सकारात्मक छैन ।

स्थायी कमिटी बैठक आज

पार्टी विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । अन्तरिक विवाद समाधानको प्रयासस्वरूप गत बिहीबारदेखि अवरुद्ध नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको हो ।

पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटार भएको वार्तामा भएको सहमतिअनुसार स्थायी कमिटी बैठक बस्न लागेको बताइएको छ । 

‘स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्छ,’ कार्यकारी अध्यक्ष दाहालनिकट स्रोतले मंगलबार भन्यो, ‘दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।’

पार्टीमा चुलिएको आन्तरिक द्वन्द्व समाधान गर्न यसअघि नै सोमबार बस्ने भनिएको जारी स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि स्थगित गरिएको थियो । नेकपाको जारी पाँचौं स्थायी कमिटीको गत बिहीबार बसेको छैठौं बैठकले पार्टी एकता हरहालतमा रक्षा र सुदृढ गर्नका लागि अध्यक्षद्वय ओली र दाहालका बीचमा छलफल आवश्यक रहेको निष्कर्ष निकालेको थियो । 

बिहीबारबाट नेकपाको स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । पार्टीको जारी पाँचौं स्थायी कमिटी बैठक दिनानुदिन स्थगित गरिनुलाई नेकपाभित्रको अन्तरविरोध झन् जटिल हुँदै गएको प्रमाणका रूपमा हेर्न सकिने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । 

चिनियाँ राजदूतको सक्रियता झन् बढ्दै

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेपछि चिनियाँ राजदूत होउ यान्छीले सक्रिया झन्झन् बढ्दै गएको छ । 

नेकपाको संस्थापन इतर समूहले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब सिर्जना गरिरहेका बेला चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीमाथि दबाब सिर्जना गरिरँदा उहाँले दुई दिनको अन्तरालमा नेकपाका दुई जना वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नुभएको छ । 

चिनियाँ राजदूतले वरिष्ठ नेता नेपाल र अर्का वरिष्ठ नेता झनलाथ खनालसँग गरेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यान्छीले मंगलबार नेता खनाललाई उहाँकै निवास डल्लुमा भेट गर्नुभएको हो । 

भेटवार्ताका लागि राजदूत यान्छी मंगलबार बिहान करिब सवा ९ बजे ‘११ सीडी ०१’ नम्बरको जीपमा खनाल निवास डल्लु पुग्नुभएको थियो । उहाँहरूबीच झण्डै ४५ मिनेट भेटवार्ता भएको स्रोतले जनाएको छ । यद्यपि, भेटवार्तामा भएको छलफलका बारेमा भने सार्वजनिक रूपमा केही बताइएको छैन ।

चिनियाँ राजदूत यान्छी यसअघि आइतबार बेलुकी नेता नेपालसँग भेटवार्ता गर्न उहाँको निवास कोटेश्वर पुग्नुभएको थियो । यसअघि उहाँले नेकपामा विवाद चर्किएकै बेला गत बैशाख १९ गते पनि कार्यकारी अध्यक्ष दाहाल र नेता नेपालसँग भेटवार्ता गर्नुभएको थियो । 

सरकारले हठात दुई अध्यादेश ल्याएपछि पार्टीभित्रै प्रधानमन्त्री ओलीको आलोचना बढेको अवस्थामा राजदूत यान्छीले दाहाल र नेपालसँग भेट गरेलगत्तै नेकपाभित्रको विवाद मत्थर भएको थियो । उहाँले अहिले नेकपाका वरिष्ठ नेताद्वय नेपाल र खनालसँग भएको भेटवार्ता पनि नेकपाभित्र चुलिएको विवाद समाधानको प्रयासस्वरूप भएको हुन सक्ने अड्कलबाजी भइरहेको छ । 

अब खेल सुरु भयो भन्ने सन्देश : परराष्ट्रविद् डा. भट्टराई

परराष्ट्रविद्हरूले चिनियाँ राजदूत यान्छीको सक्रियतालाई ‘ओली नेतृत्वको सरकारको बचाउ’ र ‘नेपालमा आप्mनो उपस्थिति बलियो देखाउने प्रयासका रूपमा’ व्याख्या गरिरहनुभएको छ । ‘चाइनाको पछिल्लो सक्रियता भनेको पहिलो कम्युनिष्ट सरकार भएकाले जसरी पनि जोगाउनुपर्छ भन्ने हो,’ परराष्ट्रविद् डा. दिनेश भट्टराईले भन्नुभयो, ‘अर्को नेपालमा हामी पनि आयौं है, अब खेल सुरु भयो भन्ने सन्देश दिन खोजेको हो ।’

उहाँले चिनियाँ राजदूत यान्छीको पछिल्लो सक्रियता र सत्तारूढ नेकपाका नेताहरूको चीन प्रतिको आशक्तिलाई मुलुकप्रतिको धोकाका रुपमा टिप्पणी गर्नुभयो । यान्छी र नेताहरूले परराष्ट्र मन्त्रालयको अनुपस्थितिमा ‘वान टू वान’ वार्ता गर्नु मुलुकका लागि शुभ संकेत नभएको डा. भट्टराईको दाबी छ । 

‘सञ्चार माध्यममा आएका समाचारअनुसार चाइनिज एम्बेसडर र नेकपाका नेताहरूबीच परराष्ट्र मन्त्रालयको मानिसको अनुपस्थितिमा भेट भएको छ,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘यो मुलुकका लागि राम्रो होइन, मुलुकप्रति धोका दिएको हो भन्ने रूपमा बुझ्दा पनि हुन्छ ।’

परराष्ट्रविद् डा. भट्टराईले विदेशी राजदूतले नेपालका नेताहरूलाई भेट्न पाउने तर भेटहरूको आफ्नै मर्यादा र आचारसंहिता हुने जिकिर गर्नुभयो । ‘भेट्न पाउँछ, नभेट्न पाउने होइन । तर भेट मर्यादित हुनुपर्छ, आचारसंहिता हुन्छ,’ उहाँले भन्नुभयो, ‘भेटमा परराष्ट्र मन्त्रालयको उपस्थिति हुन्छ । भेटघाटमा भएका कुराकानीको रेकर्ड राखिन्छ । जुन भविष्यका सन्दर्भमा अभिलेख हुन्छ ।’

डा. भट्टराईले नेकपाको उत्कर्षमा पुगेको विवाद समाधानकै प्रयासस्वरूप चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरूसँग भेटघाट गरेकोसमेत दाबी गर्नुभयो । ‘भेटघाटका सन्दर्भमा समय कस्तो छ त्यो हेरेर त्यसलाई कस्तो मिटिङ हो भन्ने हेर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘नेकपाको झगडा अहिले छताछुल्ल छ । गत वैशाखमा पनि छताछुल्ल भएर भुइँमा झरेको झगडा उठाएर भाँडोमा राखेको थियो । फेरि भाँडोबाट उम्लियो । उम्लिँदा चाइना एक्टिभ भयो ।’ 


Views: 115