15th August | 2020 | Saturday | 7:23:07 AM

सैनिक ऐन संशोधनका लागि प्रस्ताव

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (६:५६ AM)

सैनिक ऐन संशोधनका लागि प्रस्ताव

काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको रकम फाइदामूलक व्यवसायमा लगानी गर्न पाउने गरी सैनिक ऐन संशोधनका लागि प्रस्ताव गरेको छ । सैनिक ऐन २०६३ ले कल्याणकारी कोषको रकम प्रवद्र्धक बन्न पाउने गरी लगानी गर्न रोक लगाएको छ । जसका कारण हाल कोषको रकमबाट फाइदामूलकभन्दा पनि सेवामूलक कामहरू हुँदै आएका छन् । 

सेनाको प्राड विभागका प्रमुख मेजर जर्नेल रत्नप्रकाश थापाले अब कल्याणकारी कोषको रकमबाट प्रवद्र्धक बन्ने गरी लगानी गर्न पाउने गरी ऐन संशोधन गर्न प्रस्ताव गरेको बताउनुभयो । शुक्रबार सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘हालै प्राड विभागको बैठकबाट ऐन संशोधनको मस्यौदा पारित गरेका छौं । हामीले यसमा कल्याणकारी कोषको रकमबाट प्रवद्र्धक बन्न पाउने प्रावधान राखेका छौं ।’ 

सैनिक ऐन २०६३ को दफा २ को उपदफा ५ को (न)मा कल्याणकारी कोषको रकमबाट प्रवद्र्धक बन्न रोक लगाइएको छ । सो दफामा लेखिएको छ, ‘कल्याणकारी योजना’ भन्नाले कल्याणकारी कार्यमा सहयोग पु¥याउने आयमूलक कार्य सम्झनुपर्छ र सो शब्दले नेपालमा स्थापना हुने पूर्वाधार एवं सेवामूलक परियोजना, वित्तीय संस्था तथा उद्योग व्यवसायमा तोकिएको आधारमा ऋण वा शेयर लगानी गर्ने कार्यलाई समेत जनाउँछ । तर, यस्तो लगानी प्रवद्र्धकको रूपमा हुने छैन ।’

सेनाले प्रस्ताव गर्दैमा यो प्रावधान लागू भइहाल्ने भने होइन । सेनाले आफ्नो तर्फबाट गरेको प्रस्ताव सरकारले र संसद्ले कसरी लिन्छ त्यो भने बाँकी नै छ । त्यसै पनि सेना व्यापारी बन्ने गरेको आरोप लागिरहेको छ । अझ सेनाको यो प्रस्ताव स्वीकार भएर ऐन संशोधन भए सेना व्यापारी बन्ने बाटोमा अगाडि बढ्ने जोखिम छ । 

हाल सेनाको कल्याणकारी कोषमा करिब ५१ अर्ब रुपैयाँ छ । सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागबहादुर केसीले गएको आर्थिक वर्षको कोषको गतिविधिबारे जानकारी दिँदै २०७७ असार मसान्तसम्म कोषमा ४५ अर्ब ८६ करोड ८० लाख मौज्दात र ५ अर्ब ७४ करोड, २४ लाख विभिन्न निकायमा लगानी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २०७६ असार मसान्तसम्म कोषमा ३८ अर्ब ५७ करोड ६१ लाख नगद मौज्दात रहेकोमा २०७७ असार मसान्तसम्म मौज्दात बढेर ४५ अर्ब ८६ करोड ८० लाख पुगेको हो । कल्याणकारी कोषको रकमबाट प्रवद्र्धक बन्न नपाएपछि सेनाले सो रकमबाट सेवामूलक र सीपमूलक कामहरू गर्दै आएको छ । 


Views: 30