13th August | 2020 | Thursday | 3:15:46 AM

‘लकिरका फकिर’ कार्यशैली परिवर्तन हुनुपर्छ: रक्षामन्त्री

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (६:५८ AM)

‘लकिरका फकिर’ कार्यशैली परिवर्तन हुनुपर्छ: रक्षामन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘लकिरका फकिर’जस्तो कार्यशैली परिवर्तन नगरे परिणाम आउन नसक्ने टिप्पणी गर्नुभयो । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिणाम आउन नसक्ने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो । क्रियटिभ ढंगले अगाडि बढ्न सकिएन भने त्यसले परिणाम दिन सक्दैन । क्रियटिभ ढंगले जान अहिलेको आवश्यकता हो र यसैअनुसार अगाडि बढ्न आग्रह गर्दछु । अहिलेको आवश्यकता भनेको व्यवहार, सोच र योजना बेला–बेला अपडेटेड गर्ने हो । त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजनाहरू आउटडेटेड हुन्छन् ।’ हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति हुन नसकेको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाहरू आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले बताउनुभयो । आयोजनाहरूको काम अगाडि बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उहाँले बताउनुभयो ।

शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष ०७७÷७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । यस्तै, प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष ०७७÷७८ मा नेपाली सेनाअन्तर्गत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरू सम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।


Views: 17