6th December | 2020 | Sunday | 6:49:27 AM

फरार अभियुक्त खेलकुद परिषद्का उपाध्यक्ष !

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (७:०० AM)

फरार अभियुक्त खेलकुद परिषद्का उपाध्यक्ष !

काठमाडौं । उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलासले सवारी अंगभंग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।

२०७६ फागुन १ गते उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलासले सवारी अंगभंग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

त्यसअघि जिल्ला अदालत काठमाडौंले सवारी अंगभंगसम्बन्धी मुद्दामा कोइरालालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनीसँगै मानबहादुर तामाङ नाम गरेका व्यक्ति पनि एक लाख धरौटी बुझाएर छुटेका थिए । जिल्ला अदालतविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले ०७६ फागुन १ गते जिल्ला अदालतको आदेश बदर गर्दै कोइरालासँगै तामाङलाई थुनामा राख्न आदेश गरेको थियो ।

कोइराला र तामाङ सञ्चालक रहेको गोसाईंकुण्ड बिजनेस फर्मको नाममा रहेको कन्टेनरले २०७६ साउनमा थानकोटस्थित त्रिभुवन पार्कनजिक एक महिलालाई ठक्कर दिएको थियो । कन्टेनरको ठक्करबाट महिला घाइते भएकी थिइन् । उनलाई क्षतिपूर्ति दिए पनि कन्टेनरको चालक को हो भन्ने पत्ता नलाग्दा यो मुद्दा बल्झिएको थियो । तामाङले नै कन्टेनर चलाएको खुल्न नआएकाले उनलाई ५० हजार धरौटीमा छाडिएको थियो । मुद्दामा प्रतिवादी बनाइएका कोइराला र मानबहादुर तामाङसमेतको स्वामित्वको कम्पनीका नाममा कन्टेनर रहेको भन्दै उच्च अदालतले उनीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो । 


Views: 417