13th August | 2020 | Thursday | 2:06:55 AM

नयाँ पुस्ता किन आक्रामक ?

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (७:०६ AM)

नयाँ पुस्ता किन आक्रामक ?

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटरअगाडि शुक्रबार अपराहृन शान्तिपूर्ण प्रदर्शन गरेका ‘इनफ इज इनफ’ का अभियन्ताहरूलाई प्रहरीले धरपकड गरेको छ । ‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यबद्धता जनाउन बालुवाटार पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ‘इनफ इज इनफ’को सत्याग्रहमा ऐक्यबद्धता जनाउन जानेसँगै सडकमा हिँडेकाहरूलाई समेत पक्राउ गरेपछि प्रहरीको आलोचना भएको छ ।

प्रदर्शनका क्रममा दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेर उनीहरू बालुवाटार प्रवेश गर्न खोजेपछि आफूहरूले धरपकड गरेको प्रहरीले जनाएको छ । अभियन्ता विजयबाबु शिवाकोटीका अनुसार सय बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भने ५२ जना अभियन्ताहरू मात्र पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासहित आलोक सुवेदी, सौरभ कार्की, पवन मल्ल, नवराज उप्रेती शशिविक्रम कार्की, वृतान्त खनाल, राष्ट्रिय पहिचान र गुठी आन्दोलनका अभियन्ता सुधन मान्धरलगायत छन् । 

कोरोना भाइरस (काभिड–१९)को रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पिसिआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गर्दै आएका छन् । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै आएका अभियन्ता १४ दिनदेखि सत्याग्रहमा छन् । अभियानको मागमा ऐक्यबद्धता जनाउन युथ कांग्रेसका नेता कार्यकर्तासमेत प्रदर्शनमा पुगेका थिए । 

यस्तै, गत साउन ११ गते अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री डा.युवराज खतिवडा र सचिवविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका थिए । कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएकोले सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन दिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले उनीहरूमाथि अनुसन्धान गरी कारबाही गर्न आग्रह गरेका छन् ।

उनीहरूले अर्थ मन्त्रालयमा कोभिड–१९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि उक्त मन्त्रालयले संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस मातहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा आर्थिक वर्ष ०७६÷७७ र ७७÷७८ मा प्रदान गरेका खर्च अख्तियारी हस्तान्तरण तथा गत आर्थिक वर्षमा ती शीर्षकमा भएको वास्तविक खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता गराएका छन् । इनफ इज इनफका अभियन्ताहरूसँग सरकारले १२ बुँदे सम्झौता गरेर पनि माग पूरा नगरेको भन्दै अभियन्ता ई.समाइरा श्रेष्ठ र करण गुरुङ वसन्तपुर दरबार क्षेत्रमा साउन तीन गतेबाट सत्याग्रह बसिरहनुभएको छ । 

विगत सात महिनादेखि विश्व नै कोराना भाइरस (कोभिड–१९) ले आक्रान्त छ । यसको रोकथाम र नियन्त्रणका लागि विश्वका सबै देशले अनेकौं उपाय अवलम्बन गरेका छन् । हामीकहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागि गत ११ चैतदेखि ‘लकडाउन’ (बन्दाबन्दी) गरियो । बन्दाबन्दी लम्बिँदै जाँदा दैनिक जीवन कष्टकर बन्दै गयो । यसैमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका कार्यहरूमा व्यापक अनियमितता भएको भन्दै सडकमा कोरोनाको डर–त्रासबीच पनि हजारौं युवा उत्रिए । 

लकडाउनकै बीचमा अचानक सडकमा प्रदर्शनहरू देखिए । युवा कुनै राजनीतिक दलसँग सम्बन्धित नभई स्वतःस्फूर्त सडकमा देखिएका थिए । उनीहरूले ‘सरकारविरोधी नभई सरकारलाई जिम्मेवार बनाउने आन्दोलन हो’ भन्दै आएका छन् । सडकमा देखिएको नागरिकहरूको यो प्रदर्शनलाई सरकारले भने ‘कोरोनामा राजनीति मिसियो’ भनेर टिप्पणी गरेको छ । तर, सडकमा देखिएको यो प्रदर्शनले के देखाउँछ भने सरकारको कामलाई लिएर नागरिकमा व्यापक असन्तुष्टि रहेको छ । 

फेरि सरकारले कमजोरी गरेपछि राजनीति त मिसिहाल्छ नि । राजनीति गर्ने ठाउँ त सरकारले दिएको हो । सरकारले व्यवस्थित तरिकाले काम गर्न नसक्दा नै यस्तो अवस्था आएको हो । यो अवस्था आउनुमा सरकार नै जिम्मेवार रहेको छ । सडकमा देखिएका युवाको प्रदर्शनले के देखाउँछ भने उनीहरू सरकारका सेवामा चुस्त र दुरुस्त हुनुका साथै अनियमितता र भ्रष्टाचारको अन्त्य र स्वास्थ्य क्षेत्रमा सुधार चाहन्छन् ।


Views: 75