25th September | 2020 | Friday | 10:10:56 PM

महिला समितिको सरकारलाई निर्देशन : एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय बढाउनू

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (१२:४६ AM)

महिला समितिको सरकारलाई निर्देशन : एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय बढाउनू

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले एसिड आक्रमणसम्बन्धी कानुनी व्यवस्था र दण्ड सजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने देखिएकाले विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन गरेको छ ।

समितिले सोमबार एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरूलाई दिइने दण्ड सजाय कम भएको निष्कर्षसहित सम्बन्धित कानुनलाई समयसापेक्ष परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको हो । त्यसका लागि समन्वय गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाईसमेत निर्देशन दिइएको छ ।

छलफलपछि समिति सभापति नीरुदेवी पालले बैठकका निर्णय सुनाउँदै भन्नुभयो, ‘उत्पीडन तथा एसिड आक्रमणसम्बन्धी कानुनी व्यवस्था र दण्ड सजायलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएकोले सम्बन्धित विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन समिति नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन गर्दछ । साथै आवश्यक समन्वयका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई निर्देशन गर्दछ । ’

यो घटनाको सम्भाव्य जोखिमको गुनासो वा जानकारी समयमा नै प्रहरीलाई गराउने, उजुरीको सुनुवाइमा प्राथमिकता दिनुपर्ने आवश्यकता भए पनि यस सम्बन्धमा कानुनी व्यवस्थाको अभाव देखिएकाले, उत्पीडितलाई उजुरी दिन उत्पे्ररित गर्न, यस्ता उजुरीहरू प्रति संवेदनशील भई तुरुन्तै सम्बोधन गर्ने व्यवस्था मिलाउन र उत्पीडन तथा आवश्यक समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई पनि समितिले निर्देशन दिएको छ ।

समितिले एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । बैठकमा पूर्वमन्त्री थममाया थापा, समितिका सदस्य अमृता थापा, खेम लोहनी र हीरा गुरुङले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुने कानुन बनाएर प्रभावकारी कार्यान्वयन गनुपर्नेमा जोड दिनुभयो । सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरूले कडा कानुन बनाउन माग गरेका छन् । उनीहरूले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्मकैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन् । 

यस्तै, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि एसिड घटनाले प्रवेश पाएको छ । समितिमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्यांक रहेको बताउनुभयो । महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठ वटा बदलाको भावनाले घटेको बताउनुभयो । प्रेम सम्बन्धमा खटपट आएका कारण ५ र अनुहार कुरूप बनाउने हिसाबले २ वटा एसिड आक्रमणका घटना घटेको पाइएको उहाँले बताउनुभयो ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरूको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटना बढी हुने गरेको उहाँले बताउनुभयो । 

यता, कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि एसिड घटनामा सांसदहरूले दण्ड, सजायको दायरा बढाउनुपर्ने माग गरेका छन् । विद्यमान ऐन, कानुनहरू अधुरा र अपरिपक्व भएका कारण पीडितले न्याय पाउन नसकेको भन्दै सांसदहरूले दण्ड सजायको दायरा बढाउनुपर्ने माग गरेका हुन् । सोमबारको समिति बैठकमा सांसदहरूले सजाय बढाएर १५ वर्ष पु¥याउनेदेखि जन्मकैदसम्मको प्रस्ताव गरेका छन् । 

एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्यांकले देखाएको छ । बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरूबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्यांकले देखाएको हो । 


Views: 66