25th September | 2020 | Friday | 9:03:34 PM

प्रधानमन्त्रीको बालकोट घरमा ‘जेरीको चर्चा’

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (१२:४८ AM)

प्रधानमन्त्रीको बालकोट घरमा ‘जेरीको चर्चा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटको निरीक्षण गर्नुभएको छ । कुनै विशेष काम नभए पनि आफ्नो घर हेर्न प्रधानमन्त्री ओली सोमबार बालकोट पुग्नुभएको बताइएको छ । उक्त अवसरमा बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको भेटमा भएका कुराहरूले प्राथमिकता पाएको थियो । 

बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि प्रधानमन्त्री ओली बालकोट पुग्नुभएको थियो । पत्नी राधिका शाक्यसहित पुग्नुभएका प्रधानमन्त्री ओलीलाई भेट्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, पत्रकारलगायत उपस्थित थिए ।

बालकोटमा प्रधानमन्त्रीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा र सांसद महेश बस्नेतलाई बिहान भएको भेटबारे ब्रिफिङ गर्नुभएको थियो । भेटमा के भयो ? भन्ने बाँस्कोटाको प्रश्नमा ओलीले जवाफ दिनुभयो, ‘तातो–तातो जेरी खाइयो । सहमतिमा पुगिसकिएको छैन । भोलि फेरि भेट्ने कुरा छ ।’ उहाँको ब्रिफिङपछि बाँस्कोटाले ठट्टा गर्दै भन्नुभयो, आज जेरी खुवाउनुभएछ । भोलिको वार्तामा तितेकरेलो खुवाउनुस् । तीतो करेलो खुवाएपछि पो कुरा मिल्छ कि ?’ उपस्थित सबैबीच हासोको प्रसंग बनेको थियो । 

बाँस्कोटाले फेरि अर्को प्रश्न गर्नुभयो, ‘आज त अचानक आउनुभयो, अब कहिले आउनुहुन्छ ?’ ओलीले छोटो जवाफ दिनुभयो, ‘अब साढे दुई वर्षपछि ।’ फेरि सहभागीहरूबीच हासोको फोहोरा छुटेको थियो । अर्थात् ओलीले आफू नेतृत्वको सरकार पाँच वर्षसम्मै जाने र कसैले ढाल्न नसक्नेतर्फ उहाँको संकेत थियो । 

बालकोट नगएको धेरै समय भएकाले प्रधानमन्त्री त्यसतर्फ गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपणपछि बालकोट जानुभएको थिएन । ओलीको निजी निवासमा बाँस्कोटा बस्दै आउनुभएको छ । उहाँलाई बाँस्कोटाले स्वागत गर्नुभएको थियो । निजी निवासमा प्रधानमन्त्रीले सवा एक घण्टा बिताउनुभएको थियो ।


Views: 87