25th September | 2020 | Friday | 10:24:49 PM

ओली–प्रचण्ड बालुवाटार बैठक : शुभकामना साटासाटमा सीमित

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (१२:४९ AM)

ओली–प्रचण्ड बालुवाटार बैठक : शुभकामना साटासाटमा सीमित

काठमाडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सोमबार पनि औपचारिकतामै सीमित बनेको छ । ‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भए पनि कुनै सहमति हुन सकेन’ ओली–प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले बताए । ‘वार्ताको निरन्तरता मात्रै भयो । अरू केही प्रगति भएन ।’

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गर्नुभएको थियो । प्रचण्डको उक्त आग्रहलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरे पनि सचिवालय बैठक बोलाउन भने सकारात्मक देखिनुभएको बालुवाटार स्रोतले जनाएको छ । ओलीले (नेकपा) मा चुलिएको विवाद सचिवालयमा टुंग्याएर मात्रै स्थायी कमिटी बैठक आह्वान गर्ने मनस्थितिमा देखिनुभएको हो ।

पार्टीमा चुलिएको विवाद समाधानका लागि अध्यक्ष दाहालको प्रस्तावमा सिधै स्थायी कमिटी बैठक बोलाउन नभई सचिवालयमा टुंग्याएर मात्र अगाडि बढ्न सुझाव दिनुभयो । छलफलको सुरुवातमै अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटी बैठक सुचारु गर्नुपर्ने कुरा राखेपछि ओलीले सचिवालयमै विवाद टुंग्याउनुपर्ने अडान राख्नुभएको बताइएको छ ।

‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरूको भावना पनि त्यही छ । लामो समय स्थायी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहो¥याउनु भएको थियो ।

‘दाहाल–खनालले स्थायी कमिटी बैठक तुरुन्तै बोलाउनुपर्ने कुरा राख्दा प्रधानमन्त्रीले स्थायी कमिटीमा नजाऊँ बरु सचिवालय बसेर टुंग्याऊँ भन्नुभयो,’ स्रोतको भनाइ छ । छलफल मंगलबार पनि बैठकलाई निरन्तरता दिनेगरी टुंगिएको छ ।

यसअघि, आइतबार पनि दुई अध्यक्षबीच झण्डै तीन घण्टा छलफल भएको थियो । स्रोतका अनुसार आइतबारको छलफलमा पनि प्रचण्ड–खनालले पार्टीको स्थगित भएको स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको पनि बैठक बोलाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, प्रधानमन्त्री ओली स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका लागि तयार नदेखिनुभएको स्रोतको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री ओली सचिवालयमा ठोस सहमति भएपछि मात्रै स्थायी र केन्द्रीय कमिटीमा जाने पक्षमा देखिनुभएको छ । 

प्रधानमन्त्री ओलीले स्थायी कमिटी ‘फेस’ गर्न नचाहेपछि असार १० बाट सुरु भएको स्थायी कमिटी बैठक थप अन्योलमा परेको छ । त्यसैगरी, केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठक बोलाउन पार्टी कार्यालयमा बुझाएको हस्ताक्षरसहितको पत्रलाई कुनै चासो दिइएको छैन । पार्टीमा व्यक्ति प्रधान हुन थालेपछि नेकपाको प्रणाली ध्वस्त हुँदै गएको छ भने नेता–कार्यकर्तामा वितृष्णा पैदा हुँदै गएको छ ।


Views: 83