25th September | 2020 | Friday | 11:01:05 PM

राप्रपाबाट सुझाव संकलन गर्न समिति गठन

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:१० AM)

राप्रपाबाट सुझाव संकलन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकीकरणसम्बन्धी आधारपत्र कार्यान्वयनका लागि सुझाव संकलन गर्न समिति गठन गरेको छ । एकीकरणसम्बन्धी आधारपत्रले अन्तिम रूप पाउनुअगावै पार्टीभित्र मतभेद सिर्जना भएपछि राप्रपाले सुझाव संकलनका लागि समिति गठन गरेको हो ।

अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बुधबार बसेको बैठकले ६ सदस्यीय सुझाव समिति गठन गरेको राप्रपाले जनाएको छ । समितिलाई पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका निमित्त सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

अध्यक्ष थापाले राप्रपा एकीकरणसम्बन्धी आधारपत्रको कार्यान्वयन, व्याख्या र एकीकृत पार्टीलाई थप गति प्रदान गर्ने क्रममा सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको बताउनुभएको छ ।

उहाँकाअनुसार समितिमा नेताहरु दीपक बोहरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना सदस्य रहनुभएको छ । २०७६ फागुन २८ गते पछिल्लो पटक भएको राप्रपा एकीकरण हुँदा तयार पारिएको आधारपत्रमा पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म, सापेक्ष हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र उल्लेख गरिएको छ ।

पशुपति शमशेर पक्षधर राजासंस्थाको मुद्दालाई अहिले गौण बनाउने र हिन्दू राष्ट्रको मुद्दालाई उठाउने पक्षमा देखिएको छ भने कमल थापा पक्ष राजसंस्था र हिन्दू राष्ट्रको विषयलाई सँगसँगै लैजाने र सोहीअनुसार विधान दर्ता गर्नुपर्ने अडानमा छ । 


Views: 74