25th September | 2020 | Friday | 9:55:53 PM

स्व. सुशील कोइरालाको जन्मजयन्तीमा ‘अन्वेषण यात्रा’ कार्यक्रम

हिमालय टाइम्स   POSTED ON : श्रावण २९, २०७७ (१२:११ AM)

स्व. सुशील कोइरालाको जन्मजयन्तीमा ‘अन्वेषण यात्रा’ कार्यक्रम

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेशनले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा बुधबार ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा गरेको छ । 

फाउण्डेशनका अध्यक्ष नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व. कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गर्नुभएको बताउनुभयो । कार्यक्रममा प्रा.डा. जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व.कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व. कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताउनुभयो । फाउण्डेशनका सदस्य–सचिव अतुल कोइरालाले फाउण्डेशनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिनुभयो । 

यस्तै नेपाल तरुण दलले वृद्धवृद्धालाई फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले बुधबार बिहान स्व. कोइरालाको जन्मजयन्तीको अवसरमा कालीमाटीमा रहेको वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) मा फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको हो । फलफूल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति थियो ।


Views: 100