28th September | 2020 | Monday | 8:56:05 PM

डिप्रेसन : कारण र परिणाम

डा. सुजित श्रेष्ठ   POSTED ON : श्रावण २९, २०७७ (१२:२९ AM)

डिप्रेसन : कारण र परिणाम

डिप्रेसन कुनै मजाक होइन र आत्महत्या यसको उपाय पनि होइन । डिप्रेसनलाई जनबोलीमा तनाव भनौं, मानसिक चिन्ता वा टेन्सन, मेडिकल साइन्सले डिप्रेसनलाई ‘मुड डिस्अर्डर’ भनिन्छ जसले निरन्तर निरास बनाइरहन्छ र इच्छाशक्तिको कमी गराउँछ । ब्रेनमा भएको एक प्रकारको केमिकल (निउरोट्रान्समिटर)को कमिले हुने यो रोगले अहिलेको अवस्थामा कोरोना जत्तिकै महामारीको रूप लिएको छ । लकडाउन यता धेरैमा मानसिक समस्याहरू बढिरहेका छन्, या भनौं डिप्रेसन बढिरहेको छ । 

डिप्रेसनको बारेमा हामीले पत्रपत्रिका, रेडियो र टिभीमा धेरै पढेका छौं, हेरेका छौं तर पनि दिनदिनै जसो डिप्रेसनको सिकारले आत्महत्याका खबरहरू हामी सुनिरहन्छौं र ‘जाबो टेन्सनले पनि किन मर्नु परेको होला कठै, टेन्सन कसलाई पो हुन्न र’ भन्दै टिभीको च्यानाल परिवर्तन गर्ने वा अरू कुनै विषयको छलफलतिर लाग्छौं । तर, वास्तवमा भन्ने हो भने यो एकदमै विकराल समस्या हो जुन हामी त्यति महत्व राख्दैनौं या सोझो हिसाबले भनौं यसको बारेमा राम्ररी बुझेका नै छैनौं । 

विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा डिप्रेसनको कारणले प्रत्येक २० सेकेण्डमा १ जनाले आत्महत्या गरेको तथ्यांक छ । नेपालको कुरा गर्ने हो भने सन् २०१८ को तथ्यांकअनुसार प्रत्येक दिनमा १५ जनाले आत्महत्या गर्छन् जुन लकडाउनयता त्यसको संख्यामा झन् वृद्धि भएको छ । लकडाउनमा मात्र अहिलेसम्म १ हजार ६ सय जनाभन्दा बढीले आत्महत्या गरिसकेका छन् र तीमध्ये धेरैको कारण भनेको डिप्रेसन हो । 

पुरुषभन्दा महिला बढी सिकार हुने यस डिप्रेसन रोगका रोजगारी गुम्नु, व्यवसायमा कमी आउनु, लेखाइ पढाइमा कमी आउनु, गरिबी, ऋणको चपेटामा पर्नु, आत्मीयजनको मृत्यु, प्रेम सम्बन्धमा बिछोड हुनु, लगातार घरेलु हिंसामा पर्नु, यौन दुव्र्यवहार, आफूले चाहे जस्तो जीवनशैली नहुने र अहिलेको माहोलमा लकडाउन सिनड्रम (कोरोनको त्रास, नकारात्मक समाचारको प्रभाव, लेखाइ–पढाइ, व्यवसाय, रोजगार तथा शारीरिक गतिविधिमा कमी आउनाले सामाजिक र आर्थिक असुरक्षाको महसुस हुनु) जस्ता थुप्रै तत्वहरू कारक हुन् । 

लगातार निराशा हुनु, अतिरिक्त, क्रियाकलापमा इच्छाशक्तिको आभाव हुनु, निद्रा नलाग्नु वा अत्यधिक निद्रा लाग्नु, तौलमा कमी आउनु या अझै बढ्नु, अनौठा व्यवहार देखाउनु, हिनताबोध वा पश्चाताप लाग्नु, ज्यादा थकान महसुस हुनु, एक्लै बस्ने, टोलाउने, परिवार वा साथीभाइसँग घुलमिल नहुनु, आत्महत्याको विचार आउनु आदि यसका लक्षण हुन् । 

दुःखी हुनु, चिडचिड हुनु, नकारात्मक सोच आउनु र बेकम्मा भएको महसुस हुनु, धेरै रिसाउनु, पढाइ र अतिरिक्त क्रियाकलापमा खराब प्रदर्शन, गलत बाटोमा भएको महसुस गर्नु र अत्यन्त संवेदनशील हुनु, मादकपदार्थ वा मदिराको प्रयोग गर्नु, खानु वा धेरै सुतिरहनु, आफ्नै हानी गर्नु, सामान्य गतिविधिमा चासोको कमी हुँदै जानु, सामाजिक गतिविधिहरूको बेवास्ता आदि बच्चा र किशोर–किशोरीहरूमा देखिने लक्षण हुन् । 

औषधि सेवन गर्नुपर्ने अवस्थामा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने, जाँडरक्सी र लागूपदार्थको सेवन नगर्ने, सन्तुलित एवं पौष्टिक खाना खाने, आफ्नो समस्या एवं चिन्ताहरू साथीभाइ र परिवारसँग व्यक्त गर्ने, नियमित योगा, व्यायम र मेडिटेसन गर्नेगर्नु यसका समाधान हुन् । 

यस्ता बिरामीहरूका लागि परिवार र साथीभाइको भूमिका पनि महŒवपूर्ण हुन्छ । कसैलाई डिप्रेसनको लक्षण देखिएमा उपचारको लागि प्रोत्साहन गर्ने, यस्ता व्यक्तिहरूसँग समय बिताउने, गफ गर्ने र हौसला प्रधान गर्ने, जाँडरक्सी र लागूपदार्थको सेवन गर्नबाट निरुत्साहित गर्ने, उनीहरूको बोलीचाली र व्यवहारमा परिवर्तन आएमा उनीहरूसँग समस्याको बारेमा छलफल गर्ने र चिकित्सकसँग परामर्श गर्ने गराउन सक्छन् ।


Views: 55