28th September | 2020 | Monday | 9:03:28 PM

नेकपाभित्रको विवाद सुल्झिँदै

हिमालय टाइम्स   POSTED ON : श्रावण ३०, २०७७ (११:२१ PM)

नेकपाभित्रको विवाद सुल्झिँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । 

पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएकोसमेत जानकारी दिनुभयो । कार्यदलले नेकपाभित्र समस्या के हुन् ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उहाँले बताउनुभयो । प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उहाँले बताउनुभयो ।

महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिए पनि समस्याहरूको सकारात्मक समाधान गरी एकतालाई सबल बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताउनुभयो । नेकपा महासचिवसमेत रहनुभएका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडि अझ एकताबद्ध भएर अगाडि बढ्ने सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले । नेकपामा कुनै प्रकारको विग्रह हुँदैन । एकताबद्ध भएर अगाडि बढ्छ । नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ ।’

महासचिव पौडेलले नेकपा एकताबद्ध रहने कुरामा आश्वस्त रहन सबैलाई आग्रह गर्दै भन्नुभयो, ‘नेकपा एकताबद्ध रहने कुरामा आश्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडि बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृत्तिहरु र तत्वहरुलाई भन्न चाहन्छु, अब नेकपाभित्र खेल्ने यस प्रकारका कोसिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न समर्थ छ । जनताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छ ।’

पार्टीभित्रका समस्याहरू जटिल अवस्थामा रहेको उल्लेख गर्दै उहाँले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताउनुभयो । ‘समस्याहरू निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडि बढ्न सकेनन् । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडि बढाउँछौ । सरकार र पार्टी दुवै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन्,’ उहाँले भन्नुभयो । कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समिति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहनुभएको छ ।


Views: 68