25th September | 2020 | Friday | 8:57:26 PM

दीगो विकास समितिको वार्षिक प्रतिवेदन पारित

हिमालय टाइम्स   POSTED ON : श्रावण ३०, २०७७ (११:२२ PM)

दीगो विकास समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले पारित गरेको छ । आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नुपर्ने भए पनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुन सकेको थिएन । समिति सभापति तारादेवी भट्टले कोभिड महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको बताउनुभयो । समितिको बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिँदै उहाँले अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने समेत बताउनुभयो ।

समितिले गत आर्थिक वर्षमा राष्ट्रिय गौरव तथा महत्वका आयोजनाहरुको अनुगमन गरी दिएका निर्देशनहरुको आंशिक रुपमा पालना भएको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सडक जोखिम र दुर्घटना एवं धनजनको क्षति न्यूनीकरण गर्न लामो यात्रामा दुईजना सवारी चालक राख्नुपर्ने, सवारी साधनमा परिचालक वा सहचालकको रुपमा बालश्रम निषेध गर्नुपर्ने, तोकिएको भाडादर टाँसलगायतका विषयलाई कार्यमूलक बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकोमा आंशिक रुपमा कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ । 

सुपथ मूल्य पसललाई चाडपर्वको अतिरिक्त नियमित र दुर्गम क्षेत्रमा खाद्यान्नको मौज्दात तथा आपूर्ति व्यवस्थापनलाई गतिशील बनाउने, कालोबजारी र कृत्रिम अभाव सृजना भएमा अबिलम्ब कारवाहीको प्रक्रिया अगाडि बढाउने उत्पादन मिति र उपभोग गर्न मिल्ने मितिलगायतका मूल्य टाँस गरी सामग्री बेचबिखन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयलाई निर्देशनमा दिएकोमा सुधार भएको समितिले जनाएको छ । 

महामारीको समयमा सरकारलाई परीक्षण किट, आवश्यक उपकरण र सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन वार्ड, क्वारेन्टिनजस्ता महत्वपूर्ण सुरक्षाका पक्षमा ध्यान दिन सरकारलाई निर्देशन दिएर महत्वपूर्ण भूमिका खेलेको छ । विकास र सुशासनका क्षेत्रमा कार्यसम्पादनको प्रभावकारिताका लागि कार्यगत समन्वय र एकताको अभाव रहेको समितिले बताएको छ । 


Views: 64